बुढेसकाल आमाबुबाकाे बेवास्ता गर्नेलाई नगरपालिकाले सेवासुविधा नदिने
बाजुरा । बडीमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवालले आफ्ना आमाबुबा नपाल्ने र बुढेसकाल हुँदा बेवास्ता गर्ने नागरिकलाई नगरपालिकाबाट दिइने सेवा सुविधा रोक्ने बताएका छन्।
बडीमालिकाको नियमित कार्यक्रम महिलासँग उपप्रमुख कार्यक्रमको सुरुवात गर्दै बडुवालले छाउपडी, लैङ्गिक हिंसा र मदिरा सेवन गरी समाज बिगार्ने क्रियाकलाप गर्नेलाई नगरपालिकाको जन्मदर्ता, सिफारिसलगायत सुविधाबाट वञ्चित गर्ने बताए।
जातीय विभेद, महिला माथि हुने लैङ्गिक हिसां न्युनीकरण गर्नका लागि पुरोहित र धामीझाँक्रीको महत्वपूर्ण भूमिका रहेको उनले बताए। नगर उपप्रमुख कविता विष्टले महिलालाई समान रुपले व्यवहार गर्दै सभ्य समाज निर्माण गर्न आग्रह गरिन्।
कार्यक्रमले नगरपालिकाभित्र रहेका महिलालाई उद्यमशील बनाउने, महिला सशक्तिकरण र सवलीकरणका कार्यक्रमलाई प्राथमिकता प्रदान गर्ने, महिला हिंसा र लैङ्गिक असमानतालाई निरुत्साहित गर्ने, पहुँच स्थापना, समता÷समानता÷समविकास, सहकार्यत्मक वातावरण निर्माण गर्ने कार्यक्रमको उद्देश्य रहेको नगर उपप्रमुख विष्टले जानकारी दिइन्।
महिलासँग उपप्रमुख कार्यक्रममा सहभागी धामीझाँक्री र पुरोहितलाई छाउपडी प्रथा, लैङ्गिक हिंसा र बाल विवाहमा गर्ने गराउनेलाई कानुनी प्रावधान र सजायका बारेमा सहजीकरण गरिएको बताइएको छ।
लैङ्गिक हिंसा तथा छाउपडी गोठमुक्त अभियान सम्बन्धी एक दिने अन्तर्क्रिया कार्यक्रममा सातबुँदे प्रतिबद्धतापत्र जारी गरिएको छ।
प्रमुख पदम बडुवाल आमाबुबाकाे बेवास्ता सेवा सुविधामा रोक