विशेष अदालतले दियाे 'गुन्डा नाइके' पर्शुराम र श्रीमती अञ्जुसिंह बस्नेतलार्इ सफाइ
काठमाडौं । विशेष अदालतले गुन्डा नाइके पर्शुराम बस्नेत र श्रीमती अञ्जुसिंह बस्नेतलाई सम्पत्ति शुद्धीकरण मुद्दामा सफाइ दिएको छ। विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, न्यायाधीद्वय रत्नबहादुर वागचन्द र नारायणप्रसाद पोखरेलको इजलाशले उनीहरुलाई सफाइ दिने फैसला सुनाएको हो।
अर्थ मन्त्रालय मतहत रहेको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले २०७० जेठ ५ गते बस्नेतसहित ५ जना गुन्डा नाइके विरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर गरेको थियो। उनीहरुले करोडौं रकम अवैध स्रोतबाट आर्जन गरेको विभागको दाबी थियो।
विभागले बस्नेतसँग ११ करोड बराबरको सम्पत्ति रहेको दावी गरेको थियो। बस्नेतले श्रीमतीसँगै सहयोगी मुकेश बस्नेतको नाममा गुन्डागर्दीबाट आर्जन गरेको सम्पत्तिले मोरङमा ४२ रोपनी जग्गा, तीन वटा गाडी, एडजोन एडभर्टाइजिङ, पिआर हार्डवेयर, बगलामुखी बिल्डर्स, गजलक्ष्मी ट्रेड, मेरो ट्राभल्स, वेलकम पार्टी प्यालेस र टेकेन्द्र निर्माण सेवा लगायतमा लगानी गरेको विभागको आरोप पत्रमा दाबी गरिएको थियो।
तर, विशेष अदालतले उनको सम्पत्ति शुद्धीकरण ऐन आउनुअघि आर्जन गरेको भन्दै सफाइ दिने फैसला सुनाएको हो।