मनोरञ्जन मुख्य समाचार

दिल्ली पुगेर सुपरस्टार राजेश हमालले भनेः राजदूतको प्रस्ताव आयो भने हुन्न भन्न सक्दिनँ

दिल्ली पुगेर  सुपरस्टार राजेश हमालले भनेः राजदूतको प्रस्ताव आयो भने हुन्न भन्न सक्दिनँ

नेपाली सिने क्षेत्रका सुपरस्टार राजेश हमाल र कालकार दिनेश डिसि प्रधानमन्त्री केपी ओलीको भारत भ्रमण टोली सदस्य बनेर यसपटक नयाँ दिल्ली पुगे । प्रधानमन्त्रीको भारत भ्रमण टोलीमा कलाकारलाई समावेश गरिएको यो संभवतः पहिलो पटक हो।

 

 दिल्लीमा प्रधानमन्त्री ओलीसँगै हमाल र डिसिले भारतीय कलाकारको एउटा टोलीसँग भेटघाट गरेर फिल्म क्षेत्रमा हुनसक्ने साझेदारीबारे छलफल गरे । सुपरस्टार हमाल अधिकांश समय नेपाली प्रतिनिधिमण्डलका सदस्यका लागि आइकन बनिरहे । उनी जता पुग्थे, उनीसँग सेल्फी लिने लाइल लागि हाल्थ्यो।

 

दिल्लीको होटल ताजमा बसेका हमाल बाँकी समय भने कफी लाउन्जमै भेटिन्थे, ओलीको भ्रमण अवधीभर भारतीय पत्रपत्रिका सबैभन्दा बढी पढ्ने पनि सायद उनी नै होलान् । 

 

प्रधानमन्त्री आलीले आफुसँगै दिल्ली ल्याएपछि हमाललाई कतै भारतका लागि राजदूत नै बनाउन लागिएको त होइन भन्ने चर्चा चल्यो नेपाली प्रतिनिधिमण्डलका सदस्यबीच। त्यसपछि केही मिडियकर्मीसँग हमालले कुराकानीका क्रममा राजदुतकाे प्रस्ताव अाए हुन्न भन्न सक्दिनँ भन्दै जवाफ दिए । 

 

शनिबार प्रधानमन्त्री ओली र भारतीय समकक्षी नरेन्द्र मोदीको संयुक्त पत्रकार सम्मेलनपछि केही सञ्चारकर्मीकाे राजदूत बन्ने प्रस्ताव आइहाल्यो भने चाहीँ के गर्नुहुन्छ? भन्ने प्रश्नका क्रममा यस्ताे भनेका हुन् । 

 

उनले सञ्चारकर्मीसँग भने, 'पिताजीको लिगेसी पनि आफ्नो ठाउँमा छ। तर मलाई राजदूत बन्न त्यस्तो कुनै झिनो प्रस्ताव पनि आएको छैन। प्रधानमन्त्रीज्यूले मसँग त्यो कोणबाट कहिल्यै कुरा गर्नु भएको छैन। तर मेरो भित्री इच्छा सोध्नुहुन्छ भने त्यो पाटो अंगाल्नै मन छैन चाहीँ भन्दिनँ। प्रत्यक्ष नभए पनि अप्रत्यक्ष, हिङ नभएपनि हिङ बाँधेको टालो हुँ म। केही कुटनीति स्वभाविक रुपमा बुझेको पनि छु। राष्ट्रको आवश्यकता अनुसार कुटनीतिक भूमिका निर्वाह गर्नसक्छु।'
 

विशेष