खेल

च्याम्पियन्स लिग सेमिफाइनलः रियल मड्रिड र बार्यन म्युनिखबीचकाे 'महाभिड्न्त' अाज

च्याम्पियन्स लिग सेमिफाइनलः  रियल मड्रिड र बार्यन म्युनिखबीचकाे 'महाभिड्न्त' अाज

काठमाडाैं । च्याम्पियन्स लिग फुटबलको फाइनल प्रवेशका लागि रियल मड्रिड र बार्यन म्युनिख फेरि एकपटक खेल्दैछन् । च्याम्पियन्स लिगको फाइनल पुग्ने बार्यनको सपनामा पोहोरदेखि नै रियलले तगारो हालिरहेको छ ।

 

मंगलबारको खेलमा बार्यन यो तगारो उघारेर अघि बढ्न चाहन्छ । तर, घरेलु मैदान र दर्शक तथा पहिलो लेगका जितका कारण हौसिएको रियललाई रोक्न उसले फलामको च्युरा चपाएसरह कठिनाईको सामना गर्नुपर्नेछ ।

 

खेल रियलको घरेलु मैदान सेण्टिआगो बर्नबाउमा नेपाली समय अनुसार मंगलरबार राति साढे १२ बजेपछि सुरु हुनेछ । रियल मड्रिडका पूर्व प्रशिक्षक योप हाइनकेसको प्रशिक्षणमा रहेको बार्यनले यो सिजन बुन्डेसलिगा र जर्मन कपको उपाधि जितिसकेको छ ।

 

बार्यनको घरेलु मैदानमा भएको पहिलो लेगमा रियल २–१ ले विजयी भएकाले आजको खेलमा रियललाई बराबरी पनि फाइनल पुग्नका लागि पर्याप्त हुनेछ । तर पहिलो लेगमा बार्यनले रियललाई कडा टक्कर दिएकाले बार्यनले दोस्रो लेगमा कमब्याक गर्नसक्ने विश्लेषण पनि फुटबल पण्डितहरुले गरेका छन् । 

 

प्रतियोगिताको अघिल्लो संस्करणमा रियलले नै बार्यनलाई हराएर घर फर्काइदिएको थियो । च्याम्पियन्स लिगमा घरेलु मैदानमा खेलका ७ खेलमा रियलले हार्नुपरेको छैन । अझ जिनेदिन जिदानको प्रशिक्षणमा रियलले घरेलु मैदानमा च्याम्पियन्स लिगमा कुनै पनि खेल हारेको छैन ।

 

 यस्तै, च्याम्पियन्स लिगमा घरेलु मैदानमा दुई एकले हारेको टिम पछिल्ला सात खेलमा कमब्याक गर्न सकेको छैन । तर यो रियलका समर्थकलाई खुशी हुने कारण मात्र हो किनभने खेल इतिहासको निरन्तरताका लागि मात्र होइन नयाँ इतिहास बनाउन र पुराना इतिहास भत्काउनका लागि पनि खेलिन्छ ।

 

रियल र बार्यन युरोपियन फुटबल प्रतियोगितामा २६ औं पटक आमने सामने हुन लागेका हुन् । च्याम्पियन्स लिगको अघिल्लो सिजनको क्वाटरफाइनलमा रियालले बायर्नलाई समग्रमा ६–३  ले हराएको थियो । आजको खेल बार्यनका लागि गत सिजनमा ब्यहोर्नुपरेको हारेको बदला लिने अवसर पनि बन्नेछ । 

 

तर च्याम्पियन्स लिगको १२ पटकको च्याम्पियन टिम रियल मड्रिडलाई हराउनु चानचुने पक्कै हुने छैन । पहिलो लेगमा अवे खेलमा हात पारेको जितले रियललाई झनै हौस्याएको छ । रियलको हौसला वा पोहोरदेखि च्याम्पियन्स लिगमा रियलको तगारो तोड्ने बार्यनको इख के ले काम गर्ने हो त्यो हेर्न बाँकी नै छ । 

च्याम्पियन्स लिग सेमिफाइनल रियल मड्रिड बार्यन म्युनिख

विशेष