अर्थ मुख्य समाचार

अर्थमन्त्रीलाई रिजालकाे प्रश्नः १५ खर्ब रुपैयाँको बजेट निर्माणका लागि स्रोत कहाँबाट जुटाउनुहुन्छ ?

'सपना पूरा गर्ने समय आएको छ, ख्याल गर्नुहोला’

अर्थमन्त्रीलाई रिजालकाे प्रश्नः १५ खर्ब रुपैयाँको बजेट निर्माणका लागि स्रोत कहाँबाट जुटाउनुहुन्छ ?

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. मिनेन्द्र रिजालले आकाशतिर हेरेर सपना देखाउनेभन्दा यथार्थको धरातलमा आधारित बजेट निर्माण गर्न अर्थमन्त्री डा. युवराज खतिवडालाई सुझाव दिएको छ।

 

विहिबारकाे प्रतिनिधिसभा बैठकमा बोल्दै रिजालले विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताबारे टिप्पणी गर्दै सपना देख्नु राम्रो भए पनि बजेट निर्माणको यथार्थता पनि ख्याल गर्न आग्रह गरेका हुन् ।

 

‘उखान र टुक्का सुनाउनलाई प्रथामिकता दिएर हुँदैन’ रिजालले कटाक्ष गर्दै भने, ‘मानिसहरुको खल्तीबाट रकम निकालेर लगानी योग्य बनाउन सुझाव दिन्छौं।’ आयात प्रतिस्थापन गर्ने कस्ता-कस्ता उद्योग खोल्ने हो भन्ने कुरामा पनि प्रस्ट हुन जरुरी रहेको सांसद रिजालले औंल्याए ।

 

पूर्वाधारमा खर्च हुनुपर्ने बजेट अन्यत्र खर्च भयो भने त्यसले सिर्जना गर्ने महँगी र पछाडि पर्ने अवस्थाको पनि अहिल्यै कल्पना गर्न समेत उनले सुझाव दिए।

 

उनले बजेटको अनुमानित हिसाब किताब प्रस्तुत गर्दै १५ खर्ब रुपैयाँको बजेट निर्माणका लागि स्रोत कहाँबाट जुटाउनुहुन्छ ? भनी अर्थमन्त्रीलाई प्रश्न गरे । ९ खर्बभन्दा बढी राजश्व नउठ्ने, १ खर्ब विदेशी अनुदान आउने र बाँकी ५ खर्बको कुनै पनि स्रोत नहुने उनले औंल्याए।

 

'२ अर्ब वैदेशिक ऋण र ३ खर्ब आन्तरिक रुपमा उठाउनुपर्ने भएकाले त्यसलाई ख्याल गर्नुपर्छ', उनले भने। साना आयोजनालाई केन्द्रबाट बजेट नछुट्याउने भनी गरिएको घोषणा उचित भएकाले यसमा कांग्रेसको समर्थन रहेको उनले बताए।

 

मुद्रास्फीति नियन्त्रणको स्थितिमा आएकाले अब विकासतर्फ अगाडि बढ्नुपर्ने उनले बताए। विगतभन्दा गरिबी घट्दै गएकाले बजेट निर्माण गर्दा यसलाई ख्याल गर्नुपर्ने रिजालको भनाइ थियो।

 

नागरिकप्रति जिम्मेवारी पूरा गर्ने कि सपना मात्र देखाउने भन्ने प्रश्न गर्दै उनले सपना देखाउन सजिलो भए पनि त्यसलाई कार्यान्वयन गर्न प्रस्ट हुनुपर्नेमा जोड दिए।

 

‘सपना देख्ने कुरामा हामी सबै साथमा छौं। सपना देखेर र देखाएरै यहाँसम्म आएका हौं', रिजालले भने, 'तर, अब त्यो सपना पूरा गर्ने समय आएको छ, ख्याल गर्नुहोला।’

अर्थमन्त्री डा. मिनेन्द्र रिजाल

विशेष