विचार समाज

बहसः यसकारण बढ्दै छ बलात्कार, बलात्कारीलाई मृत्युदण्ड दिने कि नदिने ?

मन्जु मिश्र

बहसः यसकारण बढ्दै छ बलात्कार, बलात्कारीलाई मृत्युदण्ड दिने कि नदिने ?

सैन्य आक्रमण भएका बेला संसारमा धेरै बलात्कारका घटना घट्छन् । शक्तिशाली देश वा राज्यका सैनिकहरुले कमजोर राज्यलाई परास्त गर्न महिला तथा बालबालिकालाई बलात्कार गर्छन् । यथास्थान छाडेर भागेका शरणर्थीहरु सबैभन्दा धेरै बलात्कारको शिकार भएको विश्व इतिहास छ ।

 

अहिले पनि बलात्कारका बग्रेल्ती घटना सुनिन्छन्, त्यो पनि परिचितहरुबाटै । आफ्नै घरपरिवारका सदस्य, नेता र हाकिम अनि आवारा बेरोजगारहरु, तछाडमछाड गर्दै बलात्कार गरिरहेका छन् । कारबाही गर्ने कानुन छ, तै पनि बलात्कार कम भएको छैन । केही यस्ता देशहरु छन जहाँ बलात्कारीलाई फाँसी दिँदा पनि बलात्कारका घटनामा कमी आएको छैन ।

 

साउदी अरब जस्ता देशहरुमा बलात्कारीको सार्वजनिक स्थलमै टाउको काटिन्छ । ब्रिटेन जस्तो देशमा जन्मकैद भुक्तान गर्नुपर्छ । भारतमा भर्खर १२ वर्ष मुनिका बालिकालाई बलात्कार गर्नेलाई फाँसी दिने कानुन पारित भएको छ । हाम्रो देशमा बलात्कार गर्नेलाई मूल सजायको ८ वर्षमा अवस्था हेरेर पाँच–पाँच वर्ष थप्दै लैजाने कानुनि प्रावधान छ । नेपालमा पनि बलात्कार संस्कृतीको रुपमा विकास भइरहेको छ । डर लाग्छ ! यो कतै भोलिको पिँढीमा हस्तान्तरण हुँदै जाने पो होकी !

 

सन् २०१६ मा ‘नेपाल डेमोग्रफीक एण्ड हेल्थ सर्भे’ ले निकालेको आंकडामा १५ देखि ४९ वर्षका महिलाहरुमा कम्तिमा सात प्रतिशतले यौन हिंसा अनुभव गरेका छन् भन्ने देखिएको छ । गएको आर्थिक वर्षमा काठमाडौं उपत्याकामा मात्र ६७ बलात्कारका उजुरी परे । विभिन्न अध्यन अनुसार नेपालमा हुने गरेका बलात्कारको अत्यन्त न्युन प्रतिशतमात्र प्रहरीमा पुग्ने गर्छ । हरेक महिना कमसेकम ७८ महिला र बालिका बलात्कृत हुने गरेको भन्ने लेख ‘माइ रिपब्लिका’ पत्रिकामा थियो । प्रहरीमा पुगेका कतिपय उजुरी अदालतमा नपुगेका डरलाग्दा उदाहरण ‘दरबारमार्ग काण्ड’ ले पनि प्रमाणीत गरेको छ । नेपालमा कति बलात्कार हुने गरेका छन्, कति रिर्पोट हुन्छन् र कतिले न्याय पाउँछन भन्ने कुराको यकिन तथ्यांक आइसकेको छैन । यस विषयमा कुनै अध्यन अनुसन्धान नहुनु अर्को दुखद् पक्ष हो । सरकारको पनि यसमा ध्यान गएको छैन । महिला तथा बालबालिका अन्तरगत मन्त्रालय, महिला विभाग वा कुनै पनि राजनीतिक दलका महिला संगठनहरु यस अध्यनमा अग्रसर देखिएका छैनन् ।

 

साना साना नानीहरुमाथि हुने बिभत्स बलात्कारको तथ्यांक झनै बढिरहेको छ, अझै त्यसमा ‘ग्याङ रेप’ का घटना बढिरहेका छन् । यसमा पनि छुट्टै कानुन ल्याउनैपर्ने देखिन्छ । फौजदारी कानुनको एउटा सिद्धान्त के हो भने, सजायले केवल अपराधीको अन्त्य गर्न सक्छ, अपराधको अनत्य हुदैन । यसको अर्थ के हो भने कुनै पनि अपराधीलाई मृत्युदण्ड दियो भने केवल त्यस अपराधीको अन्त्य हुने हो, अपराधको होईन । तर आधुनिक कल्याणकारी राज्यले त्यस्तो विधि अपनाउनुपर्छ जसले अपराध पनि अन्त्य गरोस् । यसमा कानुनलाई मात्र समाजशास्त्रीय मान्यताले सघाउन सक्छ । समाज नै त्यो मुख्य कारक हो जसले अपराध गर्न उक्साइरहेको हुन्छ । आर्थिक, सामाजिक र सांस्कृतिक कारणहरु नै अपराधी बनाउने मुल कारण हुन् । यसमा मनोवादलाई जोड्ने हो भने मानसिकता पनि थपिन्छ । बलात्कार गर्न सबैभन्दा ठूलो भुमिका मानसिकता नै हो । दरीद्र र अपराधीक मानसिकता बाट नै घट्छ बलात्कारको घटना ।

 

अब कुरा गरौँ हाम्रो देशमा बलात्कारीलाई मृत्युदण्ड दिनुपर्छ भन्ने सन्र्दभमा । भारतको कश्मीरमा एक सानी नानीमाथी भएको अपहरण, बलात्कार र हत्यापछि भारत सरकार बाध्य भयो बलात्कारीलाई फाँसी दिने कानुन निर्माण गर्न । यो भन्दा पनि बिभत्स बलात्कारका समाचार हामीले नेपालमा सुनेका छौँ तर बलात्कारीलाई अपराध अनुसारको सजाय दिलाएको कुनै पनि उदाहरण छैन । त्यसमा सबैभन्दा ठूलो बाधक हाम्रो देशको संविधान नै हो । नेपालको संविधानको मौलिक हक यति बलियो छ जसले जस्तासुकै अपराधीलाई पनि सम्मान पूर्वक बाँच्न हौसला प्रदान गर्छ । संविधानले भन्छ, कुनै पनि व्यक्तिलाई ज्यानै जाने गरी कुनै पनि सजाय तोकीने छैन । यस्तो अहम विषय संविधानमै सुरक्षित गरिएपछि हामी यहाँ कसरी बलात्कारीलाई मृतयुदण्ड माग गर्नसक्छौँ । संविधान संसोधन नगरी यो विषयमा प्रवेश गर्नु कतै पनि उचित छैन । ती सबै महिला, महिलाका निम्ति काम गर्ने महिला र संघ संस्थाहरुले यस विषयमा संगठित हुन जरुरी छ । बिचार बिर्मश गर्न जरुरी छ । यदी नेपालमा पनि बलात्कारीलाई कडा भन्दा कडा सजाय दिलाउनु छ भने । किनभने कार्यविधि कानुनको प्रमुख उद्देश्य सजायको परिणाम देखेर अपराध गर्नबाट रोक्नु पनि हो ।

 

बलात्कारका घटना घट्नुमा पूर्वीय चिन्तन अर्को प्रमुख कारण हो । ‘महिलाहरु आफैँ बलात्कृत हुन चाहन्छन्’ भन्ने उखानको रुपमा प्रयोग भएको छ पूर्वीय दर्शनमा । यही दर्शनले स्त्रीलाई सम्मान र पूजा गर्नुपर्छ भनेर मनुस्मृतीमा लेख्न सक्छ र यही समाजमा बलात्कार गर्नुपर्छ किनभने स्त्रीहरु बलात्कृत हुन चाहन्छन् भन्ने मान्यतालाई अदालतमा समेत उचालेका उदाहरण छन् । ती बहस कर्ताहरुलाई मेरो प्रश्न के ललीतपुरकी पाँच वर्षकी बालीका बलात्कार होस् भन्ने चाहन्थिन् ?
 

बलात्कार केवल व्यक्ति विरुद्ध अपराध होईन यो त समाज विरुद्धको अपराध हो, र यसको दायरा विश्वभर फैलँदै गएको छ । बलात्कार बिस्तारै संस्कृतिको रुपमा विकास भइरहेको छ । समाजशास्त्रका केही पुस्तक अध्यन गर्दा पपुवा न्युगीनीमा कुनै कुनै समुदायमा महिलालाई सजाय दिनुपर्दा सार्वजनिक स्थलमा ‘ग्याङ रेप’ गर्ने प्रचलन छ । यस्तै कुसंस्कृतिको विकास कालान्तरमा नहोला भन्न नसकिने अवस्था छ ।

 

यहाँ एउटा भिड छ, जो भारतमा भएका बलात्कारका घटनाका लागि फेसबुकमा दुख देखाउने । अर्को भिड छ, महिलाहरुलाई जथाभावी कमेण्ट गर्ने, यो भिडले सम्मानित राष्ट्रपतीलाई पनि अछुतो राखेन । अर्को भिड छ गोविन्द केसी कहिले अनसनमा बस्छन् र माइतीघर मण्डलामा सर्मथन गर्न जाउँला भनेर पर्खिरहने । तर कसैले पनि दिनहुँ नेपालमा भइरहेका बलात्कार, सामुहीक बलात्कार र यौन हिंसाका लागि मृत्युदण्ड वा यस्तै पर्याप्त सजाय हुनुपर्छ भनेर आवाज उठाउन सकेको छैन ।
 
 
नेपालमा परिवर्तनको आवस्यकता छ, बलात्कृत होइन, बलात्कारीको शिर निहुरिनुपर्छ । प्रहरीले बलात्कारका घटनालाई घरघरबाट ल्याएर अदालतमा पुर्याउनु पर्छ । परिवारले अपराधीलाई सजाय नदिलाउन्जेल हरेश खान हुँदैन । समाजले त्यस्ता दुश्कर्म गर्नेलाई बहिस्कार गर्नुपर्छ । बालबालिकाहरुको संरक्षण गर्नु सबैको दायित्व हुनुपर्छ । अदालतले बलात्कारीलाई शंकाको सुविधा दिनु हुँदैन । अन्यथा बलात्कार बढिरहन्छ, हामी मुकदर्शक मात्रै हुन्छौँ । समाज पतनउन्मुख हुन्छ । समाज केवल दरीद्र मानसिकता बोकेका पुरुषको मात्र हुन्छ । र सबै भन्दा महत्वपूर्ण कुरा बलात्कारीलाई मृत्युदण्ड दिनुपर्छ भन्ने आन्दोलनको स्थापना गर्न सकारात्मक पुरुषहरुको समेत साथ जरुरी छ ।
 

 

बिचार सजाय मन्जु मिश्र बलात्कार घटना समाज

विशेष