प्युठानमा बस दुर्घटना, कम्तिमा ४ को मृत्यु, १७ गम्भीर घाइते
प्युठान — प्युठानको सरुमारानी गाउँपालिका–४ बड्डाँडा नजिक बस दुर्घटना हुँदा कम्तिमा चार जनाको मृत्यु भएको छ । महेन्द्रनगरबाट प्यूठानतर्फ आइरहेको महाकाली यातायात व्यबसायी समितिको ना ४ ख ८१७६ नम्बरको बस आईतबार बिहान ३ बजेतिर दुर्घटनामा परेको हो ।
बसमा सवार कम्तीमा चार जनाको मृत्यु भएको र १७ जना वढि गम्भीर घाइते भएको जिल्ला प्रहरी प्रमुख डीएसपी राजेन्द्र पोख्रेलले बताए । स्थानीयबासी, नेपाल प्रहरी, सशत्र प्रहरी वलको टोलीले उद्धार गरेको छ ।
बस सडकबाट झण्डै दुई सय मिटर तल खसेको प्रहरीले जनाएको छ । केहि घाईतेलाई उपचारको लागि बुटवल लग्ने तयारी भएको पोख्रेलले बताए।
गुडिरहेको बसमा एक्कासी बत्ती निभेपछि पल्टिँएको वसमा सवार प्यूठान नौबहिनी–८, लुप्लुङका रमेश भण्डारीले बताए । आफू सामान्य घाइते भएकाले सबैभन्दा पहिले दुर्घटनाको प्रहरीलाई जानकारी गराएको भण्डारीले बताए ।