यात्रुकाे छुटेको रुपैयाँ लिएर फरार ट्याक्सी चालक पक्राउ, प्रहरीले ६ लाख मात्र फिर्ता गरायाे
काठमाडौं । बाराकाे जितपुर सिमरा उपमहानगरपालिका-१४ का ६७ वर्षे नारायणप्रसाद पाठककाे ट्याक्सीबाट हराएको ७ लाख ५५ हजार रुपैयाँ मध्य ६ लाख महानगरीय प्रहरी परिसर काठमाडौंले फिर्ता गराएकाे छ ।
यात्रुले बिर्सिएको ७ लाख ५५ हजार रुपैयाँ लिएर फरार भएका ट्याक्सी चालकलाई सोमबार महानगरीय प्रहरीले सीसीटीभीको फुटेजबाट पत्ता लगाएर उक्त रकम फिर्ता गरकाे हाे ।
नवलपरासीको कावासोती घर भइ काठमाडौं हाडिगाउँ बस्ने बा१ज ३६६५ नम्बरको ट्याक्सी चालक २९ वर्षे अशोक थापालाई प्रहरीले ६ लाख रुपैयाँसहित नियन्त्रणमा लिएको हो ।
चालक थापाले गत २६ गते पाठकले कमलादी चोकमा झर्दा रूपैयाँ ट्याक्सीमै बिर्सिएपछि चालकले लिएर फरार भएका थिए । उक्त रकम टोखा नगरपालिका-३ स्थित वर्षा गुरुङको कोठामा राखेको अवस्थामा थापासहित बरामद गरेको जनाएको छ ।
हराएको बाँकी एक लाख ५५ हजार रुपैयाँ भने भेटिएको छैन । पाठकले ७ लाख ५५ हजार रुपैयाँ पसलका लागि भनेर सिमराको बैंकबाट झिकी ल्याएका थिए । पक्राउ परेका चालक थापा केही सार्वजनिक मुद्दामा कमलपोखरीमै थुनामा छन् ।
ट्याक्सी चालक पक्राउ