मुख्य समाचार

जनतालार्इ गृहमन्त्री बादलकाे अपिलः गुण्डाराज अन्त्यका लागि मलार्इ सहयोग गर्नुहोस्

जनतालार्इ गृहमन्त्री बादलकाे अपिलः गुण्डाराज अन्त्यका लागि मलार्इ सहयोग गर्नुहोस्

काठमाडाैं । गृहमन्त्री रामबहादुर थापा बादलले देशमा सुशासन, अमनचयन र जनताको सेवा सुविधाका लागि एकाधिकारवादी प्रणाली समाप्त गर्नु आवश्यक भएको बताएका छन् । 

 

प्रेस सेन्टर नेपाल कास्कीद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा गृहमन्त्री थापाले देशमा यातायात, कृषि, उद्योगलगायतका धेरै क्षेत्रमा एकाधिकार मुठ्ठीमा लिएर बस्ने गरिएको बताए ।

 

एकाधिकारले हाम्रो आर्थिक समृद्धि रोकेको बताउँदै उनले देशको विकासका लागि सबै किसिमका एकाधिकार अन्त्य गर्नुपर्ने आवश्यकता औँल्याए। 

 

देशव्यापी रुपमा गुण्डाराज अन्त्यका लागि सरकार लाग्ने र यसका लागि सबैको सहयोग आवश्यक रहेको उनको भनाइ थियो। देशको पछौटेपनका कारण युवा जनशक्ति देश बाहिर रहेको र तिनलाई स्वदेश फिर्ता गर्न समृद्धि आवश्यक भएको मन्त्री थापाले बताए ।

 

राष्ट्रको समृद्धिका लागि राजनीतिक स्थायित्व आवश्यक भएका कारण वामपन्थी शक्ति एक बन्न लागेको बताउँदै उनले शक्तिशाली कम्युनिष्ट पार्टी बनाउन पार्टी एकताको प्रक्रिया अन्तिम चरणमा पुगिसकेको बताए । 

 

“पार्टी एकताका लागि वैचारिक, राजनीतिक एवं सांगठनिक आधार तयार भइसकेको छ”, उनले भने, “एकताको मिति छिट्टै घोषणा हुनेछ, एकतासँगै देश विकास र समृद्धिको बाटोमा अघि बढ्नेछ।”

 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका सम्बन्धमा पत्रकारले राखेको जिज्ञासामा मन्त्री थापाले माओवादी मन्त्रीलाई ठाउँ नदिएको भन्ने विषय निराधार भएको बताए । 

 

भ्रमणका क्रममा राष्ट्रिय स्वाभिमान र गौरवमा आँच आउने किसिमले केही व्यक्तिले सार्वजनिक अभिव्यक्ति दिएको भन्ने कुरा आएको बताउँदै उनले त्यस्ता अभिव्यक्ति दिने व्यक्ति स्वयम् जिम्मेवार रहेको र त्यसमा सरकार जिम्मेवार नभएको बताए। प्रहरी सेवामा रोकिएका तल्लो तहका बढुवा प्रक्रिया शुरु भइसकेको र त्यो अघि बढ्ने मन्त्री थापाको भनाइ थियो।

रासस
 

गृहमन्त्री बादल

विशेष