विचार

ल्वाङ खाँदै मोदीले फुटाइदिए ओलीको ‘राष्ट्रवादी ढ्वाङ’

मोदीको भ्रमण तालिका, टिकट काउन्टरको बस छुट्ने समयजस्तै !

ल्वाङ खाँदै मोदीले फुटाइदिए ओलीको ‘राष्ट्रवादी ढ्वाङ’

जतिबेला भारतले नेपालमाथि नाकाबन्दी लगाएको थियो त्यसबेला नाकाबन्दीको सबैभन्दा बढी विरोध गर्ने मुख्य पात्र थिए, केपी ओली । आफ्नो देशमाथि छिमेकी मुलुकले गरेको त्यस किसिमको ‘अपराध’ प्रधानमन्त्रीकै कुर्सीमा बसेर विरोध गरेका थिए ओलीले । ओलीले देशका लागि लिएको त्यही अडानका कारण आम जनताको बीचमा आफ्नो छवि संग्लो बनाएका थिए । 

 

दोस्रो पटक प्रधानमन्त्री बन्नुभन्दा अघि नै भारतीय विदेशमन्त्री सुष्मा स्वराजलाई नेपाल भ्रमणको निम्तो दिएर सोल्टी होटलमा जब भेट गरे । र त्यसभन्दा अघि नै ओलीको थाइल्याण्ड भ्रमणपछि ओलीलाई शंकाको दृष्टिले हेर्न थालियो ।

 

यसपटक भारतीय समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएपछि त ओलीको ‘राष्ट्रवाद’ साँच्चिकै बदनाम बन्यो । आम जनताले समेत थाहा पाउने गरी ओलीले आफ्नो ‘राष्ट्रवादी ढ्वाङ’ आफैँ फुटाए ।


त्यसो त ओलीले प्रधानमन्त्री बनेलगत्तै गरेको भारत भ्रमण पनि उपलब्धिमुलक र बाचा गरेअनुरुपको थिएन । भारतसँग उठाउनै पर्ने केही जटिल र अत्यावस्यक मुद्दा थिए । ओली ती सबै विषयमा बोल्न समेत सकेनन् । ‘नेपाल–भारत सम्बन्धमा नयाँ आयाम थपियो’भन्दै ओली फर्किए । लिखितम रुपमा कुनै काम भएन ।

 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणले त राष्ट्रिय लज्जाको विषय नै बन्यो । प्रधानमन्त्री, परराष्ट्रमन्त्री, मुख्यमन्त्री, प्रदेश प्रमुख लगायतले आफ्नै गरिमा बचाउन सकेनन् ।

 

मोदी नेपाल भ्रमणमा आउने अघिल्लो दिनसम्म नेपालको परराष्ट्र मन्त्रालयले कुनै आधिकारिक भ्रमण तालिका सार्वजनिक गर्न सकेको थिएन । अघिल्लो दिन एउटा विज्ञप्ति निकाल्यो, जहाँ लेखिएको थियो, ‘जनकपुर, काठमाडौं, मुस्ताङ फेरि काठमाडौं र भारत फिर्ता’ । परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको तालिका बसपार्कमा टिकट काउन्टरले जारी गर्ने बस छुट्ने समय जत्ति पनि थिएन । यति सम्म कि त्यहाँ मोदीको भ्रमण समय समेत उल्लेख गरिएन ।

 

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भन्दैथिए, मोदीको जनकपुर भ्रमण सांस्कृतिक हो । काठमाडौं भ्रमण राजकीय हो । उहाँको सांस्कृतिक भ्रमणले नेपालको पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउनेछ । पर्यटनमन्त्रीको त्यो अभिव्यक्ति सांच्चिकै दरिद्र थियो ।

 

मोदीले जनकपुरमा अभिनन्दनको क्रममा धार्मिक नारा नै लगाइदिए । मुख्यमन्त्री लालबावु राउतले ओली नेतृत्वको सरकारलाई मोदीकै अघि गाली गरे । झाडु लिएर फोहोरु सफा गरेको अभिनय गरे ।

 

मोदीले आफ्ना सेनाहरु आफू अवतरण गर्नुअघि नै नेपाल पठाए । हाम्रा प्रधानमन्त्री ओली निरिह बनेर हेरिरहे । मोदीको दादागिरीका अघि ओलीको अनुहार साँच्चिकै टिठलाग्दो थियो । हिजो नाकाबन्दीको विरुद्ध हुंकार गर्ने तिनै ओली आज मोदीको अघि निरिह बनिरहे । मोदी आफ्नो प्रभाव नेपालमा छ भनेर विश्वभर हल्ला पिट्न चाहन्थे । जो सफल भयो उनका लागि । आफैँले भ्रमण तय गरेर आफैँ समय तालिका सार्वजनिक गरेर, कहाँ अवतरण गर्ने ठाउँ समेत आफैँ तय गरेर मोदीले नेपाललाई एक राज्य जस्तै व्यवहार गरेर ओलीलाई थप कमजोर सावित गरिदिए । मस्त मुद्रामा मन्द गतीमा ल्वाङ चपाए झैँ ओलीलाई प्रशंसा पनि गरे, व्यवहारमा आफ्ना सेनालाई कुटनीतिक मर्यादाविपरित नेपाल छिराएर ओलीलाई ङिच्च पारिदिए । चाहेर पनि ओलीले आफ्नो अडान लिन सकेनन् ।
 

कुटनीतिमा कुम ठोक्ने वा कुस्ती खेल्ने कुरा आउँदैन । ओलीको नाकाबन्दी विरोध त्यस्तै किसिमको थियो । र अहिले पनि उनी त्यस्तै गरुन् भन्न खोजिएको हैन । हाम्रा प्रधानमन्त्रीले त भारतीय समकक्षीसँग कुटनीतिक रुपमा ‘डील’गरेर आफ्ना समस्या सल्टाउनुपर्ने पो हो ।

 

यता नाकाबन्दी एक अपराध थियो भन्दै केही दलले भन्दा समेत ओली सरकारले पक्राउ गर्दै थुनियो । फलस्वरुप जनता विरोधमा उत्रिरहँदा मोदीलाई राष्ट्रिययसभागृहभित्र थुनेर कर्मचारीहरुका बीच नागरिक अभिनन्दन गरियो । 

 

संसदमा प्रतिपक्षी दलका नेता गगन थापाले प्रश्न गरिरहँदा ओली घाइते शर्प जस्तै देखिए । उखान टुक्काको भुलभुलैयामा हँसाएर प्रसंग मोडिदिने ओली थापाले भने झैँ यसपटक साँच्चिकै शब्द खोज्दै थिए । केही शब्द लुकाउन चाहन्थे ।

 

जसरी फिल्मको अन्तमा नाटकीय डिजाइनको पर्दा खुल्छ ओलीको ‘राष्ट्रवादी’ फण्डा मोदीले नै फटाइदिए । ओली उनका अघि हाँसेर हात मिलाए । तर दुई देशका प्रमुखहरु हाँसेर हात मिलाउँदैमा कुटनीतिक सम्बन्ध सुध्रिएको हुन्छ त ? नेपाल–भारतका कुटनीतिक मामिला बारे सल्टाउनै पर्ने जटिल र अत्यावस्यक मुद्दा छन् । नेपालको तर्फबाट अहिलेसम्म त्यो पहल कसैले गरेकै छैन । हाम्रा प्रधानमन्त्रीको काम त दिल्लीमा राजदूत पठाउने भन्दा अरु भएकै छैन ।

बिचार केपी अाेली माेदी भ्रमण

विशेष