अर्थ बैंकिङ मुख्य समाचार

अमेरिकी डलरको भाउ पुनः महँगिएर डलरको १०९ रुपैयाँ

अमेरिकी डलरको भाउ पुनः महँगिएर डलरको १०९ रुपैयाँ

काठमाडौं  । अमेरिकी डलरको भाउ पुनः महँगिएर एक सय नौ रुपैयाँ नाघेको छ । बुधबार स्वदेशी बजारमा एक अमेरिकी डलर १०९.२२ रुपैयाँमा बिक्री भएको छ । राष्ट्र बैंकले बुधबारका लागि डलरको खरिद दर १०८.६२ रुपैयाँ र बिक्री दर १०९.२२ रुपैयाँ तोकेको छ । यो भाउ १६ महिनायताकै महँगो हो ।

 

२०७३ माघ १६ गते एक अमेरिकी डलर किन्न १०९.२३ रुपैयाँ खर्च गर्नुपथ्र्यो । त्यसपछि विस्तारै घटेर एक सय दुई रुपैयाँसम्ममा आएको थियो । अन्तर्राष्ट्रिय बजारमा डलरप्रति आकर्षण बढेकाले यसको भाउ पुनः उकालो लागेको विज्ञहरुको भनाइ छ ।

 

भारतीय बजारमा अमेरिकी डलरको माग बढेकाले नेपालमा पनि डलरको भाउ महँगिएको नेपाल राष्ट्र बैंकको भनाइ छ । भारतीय रुपैयाँसँग नेपाली रुपैयाँको विनिमय दर स्थिर छ । त्यसो हुँदा भारतमा डलर महँगिदा यता पनि महँगिने र सस्तिँदा सस्तिने गर्छ ।

 

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थ र सुनमा आएको अस्थिरताका कारण लगानीकर्ताले अन्य क्षेत्र रोज्दा डलर महँगिएको एक विज्ञले बताए । ‘विश्व बजारमा सुन र तेलको भाउ अस्थिर भएका कारण डलरमा लगानी बढ्दा भाउ उकालो लागेको हो,’ उनले भने, ‘अमेरिकी सेयर बजारप्रति संसारभरका लगानीकर्ताको आकर्षण बढेको बढ्यै छ, यसले डलरलाई बलियो बनाउन सहयोग गरेको छ ।’

 

भारतीय सञ्चार माध्यमहरुले त्यहाँ विदेशी मुद्राको सञ्चिती घटेका कारण डलर महँगिएको बताएका छन् । भारतीय अखबार टाइम्स अफ इन्डियाको अनलाइन संस्करणका अनुसार पछिल्लो तीन सातामा भारतमा विदेशी मुद्रा सञ्चिती सात अर्ब डलरभन्दा बढीले घटेको छ । यसको अलावा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यवृद्धिलाई डलर महँगिनुको कारण मानिएको छ।

 

भारतमा पनि डलर १६ महिनायताकै सबैभन्दा महँगो बनेको छ ।डलर महँगिदा नेपाली उपभोक्ताले आयातित वस्तु तथा सेवामा मूल्य वृद्धिको सामना गर्नु परे पनि निकासीकर्तालाई भने फाइदा हुनेछ । त्यसैगरी, पर्यटकसँग विदेशी मुद्रामा सेवाको मूल्य लिने पर्यटन व्यवसायी पनि यसबाट लाभान्वित हुनेछन् । विदेशबाट आउने रेमिट्यान्स डलरमै आउने हुँदा विदेशमा काम गर्नेको परिवारले साबिकको तुलनामा बढी पैसा पाउने छन् ।निकासीकर्ताले पनि डलरमै भुक्तानी हुँदा फाइदा लिन सक्ने भए पनि कच्चा पदार्थ आयात गर्दा डलरमै भुक्तानी गर्नुपर्ने भएकाले भने जस्तो नाफा लिन सक्दैनन्।

 

डलर महँगिदा तेस्रो मुलुकबाट आयात हुने सामानको मूल्य बढ्नेछ । न्यून आय भएका नेपालीका लागि अब भारतबाहेक सबै मुलुकबाट आयात हुने सामानको भाउ उच्च दरले बढ्नेछ । भारतबाटै आयात हुने वस्तुको मूल्य पनि अकासिनेछ । डलर महँगिदा नेपालीले खुसी मान्नुपर्ने एउटैमात्र विषय रेमिट्यान्स आप्रवाहमात्रै हो ।डलर महँगिदा सरकारमाथि वित्तीय दायित्व थपिन्छ । विदेशी ऋणको साँवा–ब्याज भुक्तानी गर्दा महँगो डलरनै प्रयोग हुने हुँदा यसले सरकारको वित्तीय दायित्व बढाउँछ ।

 

राष्ट्र बैंक अमेरिकी डलर

विशेष