४४ स्थानमा शौचालय निर्माणका लागि ठाउँ खोज्दै महानगरपालिका
काठमाडौं । काठमाडौँ महानगरपालिका यतिबेला सार्वजनिक शौचालय निर्माणका लागि ठाउँ खोज्दैछ । महानगरपालिकाले सार्वजनिक शौचालय निर्माणका लागि प्रत्येक वडालाई खुला स्थान पहिचान गरी जानकारी दिन निर्देशन दिएको छ ।
गत वैशाख १२ गते कामपाको कार्यपालिका बैठकले उक्त निर्णय गरेको हो । ‘काठमाडौंमा शौचालयको आवश्यकता छ तर कुन कुन स्थानमा निर्माण गर्ने भन्ने यकिन नभएकाले ३२ वटै वडालाई स्थान पहिचान गर्न निर्देशन दिइएको हो ।’
महानगरपालिकाका सूचना अधिकारी वसन्त आचार्यले भने । कामपाले यसअघि ४४ स्थानमा शौचालय निर्माण गर्ने भने पनि राजधानीका अत्यन्त व्यस्त स्थानमा अझैं पनि शौचालय नबनि सकेकाले वडालाई उपयुक्त स्थान पहिचानका लागि जिम्मा दिइएको उनले बताए ।
वडाबाट सिफारिश आएपछि मात्र कामपाले लागत सहितको डिजाइन तयार गर्नेछ । यो कामपाको दुई वर्षअघिकै योजना भए पनि अब भने तीव्ररुपमा काम हुने सूचना अधिकारी आचार्यले बताए । उनका अनुसार सस्तो, सानो स्थान ओगट्ने र छिटो निर्माण हुने शौचालय निर्माण गर्ने कामपाको प्रयास हुनेछ ।