प्रदेश २ सरकारकाे दाबीः मोदी भ्रमणमा मुख्यमन्त्रीले दिएको अभिव्यक्ति ठीक
जनकपुरधाम । प्रदेश नं. २ सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणका क्रममा शुक्रबार मुख्यमन्त्री लालबाबु राउतले दिएको अभिव्यक्ति ठीक रहेको दाबी गरेको छ।
प्रदेश सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष राखेको अभिव्यक्ति माथि बहस गर्नुको कुनै औचित्य नरहेकोसमेत प्रदेश सरकारले बताएको छ ।
बिहीबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै आन्तरिक मामिलामन्त्री ज्ञानेन्द्र यादवले नागरिक अभिनन्दन कार्यक्रममा मुख्यमन्त्रीले जनताको इच्छा र आकांक्षा अभिव्यक्त गरेको बताए।
‘जनताको भावना बमोजिम अभिव्यक्ति दिनु नेतृत्वको दायित्व हुन्छ। सोही दायित्व सम्झेर मुख्यमन्त्रीले लाखौं जनताका अगाडि आफ्ना कुरा राख्नु भएको हो, संविधानमा अझै त्रुटि र विभेदका कुराहरु छन् ।’
संविधानमा भएका विभेदकारी प्रावधान र प्रदेशको अधिकारका लागि आफ्नो धारणा राख्नु गलत नभएको मन्त्री यादवले बताए। उनले भने, ‘जनमतले दिएको म्यान्डेट नेतृत्वले उठाउनु स्वभाविक हो।
यसकारण मुख्यमन्त्रीको भनाइका सन्दर्भमा भइरहेको टिकाटिप्पणीको कुनै औचित्य छैन।’ गत वैशाख २८ गते मोदीको नेपाल भ्रमणका क्रममा जनकपुरमा नागरिक अभिनन्दन कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विभेदकारी संविधानविरुद्ध आफूहरु संघर्षरत रहेको बताएका थिए ।
मुख्यमन्त्रीले अन्तरिक मामिलालाई विदेशी पाहुनासामू राख्नु कूटनीतिक मर्यादा विपरित भएको भन्दै केन्द्र सरकारले असन्तुष्टि जनाएको छ । त्यसबेलादेखि मुख्यमन्त्रीको अभिव्यक्तिप्रति टिकाटिप्पणी र बहस हुँदै आएको छ ।
नरेन्द्र मोदी मुख्यमन्त्री लालबाबु राउत