सरकारको एक कदमले सूचना प्रविधिका विद्यार्थी आन्दोलित
काठमाडौं । सरकारले केन्द्रिय संगठन संरचना र दरबन्दी तेरिज हेरफेर गर्दा कम्प्युटर अधिकृत पदमा व्यापक कटौती गरी कम्प्युटर ईन्जिनियर पद थप गरेसंँगै कम्प्युटर विज्ञान तथा सुचना प्रविधि विषय अध्ययन गरेका विद्यार्थीहरुको अवसर काटिएको भन्दै उनीहरु आन्दोलित भएका छन् ।
मन्त्रिपरिषदले गत वैशाख ४ मा १२ वटा मन्त्रालय अन्तरगतका ३४ वटा विभाग तथा विभाग स्तरका निकायहरुको संगठन संरचना र दरबन्दी तेरिज स्विकृत गरेको थियो ।
नयाँं स्विकृत संगठन संरचनाअनुसार १९ वटा विभागहरुमा २९ वटा कम्प्युटर अधिकृतको दरबन्दी काटिएको र त्यसको सट्टामा २१ वटा कम्प्युटर ईन्जिनियरको दरबन्दी थप गरिएको पाईएपछि सरकारले आफूहरुको अवसर कटाई पुनः कम्प्युटर ईन्जिनियरहरुको एकाधिकार हुने गरी संरचना निर्माण गरेको सरोकारवालाहरुले आरोप लगाएका छन् ।
यस विषयमा त्रिभुवन विश्वविद्यालयबाट कम्प्युटर विज्ञान तथा सूचना प्रविधि विषयमा स्नातकोत्तर गरेका पूर्वविद्यार्थी तथा पूर्वविद्यार्थीहरुको संगठनका अध्यक्ष सुशान्त पौडेलले भने, “सरकारले स्थानीय निकायहरुमा सूचना प्रविधि अधिकृत करारमा राख्ने समयमा यस प्रकारको विषय उठेको र सो समयमा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयबाट समाधानसमेत गरिईसकेकाले यो विषय सरकारको जानकारीमा नै नरहेको भन्न नमिल्ने तर लापरवाहीका कारण सोही त्रुटि पुनः दोहोरिएको हो कि भन्ने आशंका रहेकोले आफूहरुले सरकारको ध्यानाकर्षण गराउने प्रयास गरिरहेका छौं ।’
कम्प्युटर अधिकृत पदमा पहिलेका कम्प्युटर अपरेटरहरुबाट स्वतः बढुवा भएका कर्मचारीहरुको बाहुल्यता छ नि भन्ने प्रश्नमा उनले सो विषय सरकारले व्यवस्थित गर्नुपर्नेमा पद नै हटाउदा समाधान हुन्छ त ? भनि प्रतिप्रश्न गरे । उनले भने “कम्प्युटर अपरेटरहरुबाट बढुवा भएका अधिकृतहरुको व्यवस्थापनमा त सरकारले अझ बढी गम्भीर भएर लाग्नुपर्ने हो । अर्को कुरा उनीहरुको बाहुल्य छ भनेर एक जना योग्य व्यक्तिको अवसरको सम्भावना समाप्त गर्ने त ? ठीक छ त्यतातिर पनि नजांउँ, सरकारले कम्प्युटर ईन्जिनियर पदमा कम्प्युटर साईन्स पढेको व्याक्तिलाई मान्यता दिए पुगिहाल्यो त, लोकसेवा आयोगबाट छनौट हुने त फेरि पनि उत्कृष्ट नै त हो । समान पाठ्यक्रम र समान क्षमता भएका व्यक्तिहरुबीच शब्दले विभेद गरेर अवसर नै नपाउने अवस्था सिर्जना गर्नु भएन भन्ने हाम्रो भनाइ हो ।
संसारभर कम्प्युटर ईन्जिनियरिङ, सफ्टवेयर ईन्जिनियरिङ, कम्प्युटर साईन्स जस्ता विषयहरु समान नै छन् । नेपालमा मात्र संकाय प्रणाली बनाएर पढ्न पाउने अवसरमा विभेद गर्ने र काउन्सिल बनाएर रोजगारको अवसरमा विभेद गर्ने गरिएको छ । यो परिपाटीको अन्त्य हुनु जरुरी छ। ”
नेपालमा त्रिभुवन विश्वविद्यालयलगायतका विश्वविद्यालयहरुबाट कम्प्युटर बिज्ञान तथा सूचना प्रविधि विषयमा बर्सेनि झण्डै २ हजारभन्दा बढी विद्यार्थी स्नातक एवं झण्डै २०० भन्दा बढी विद्यार्थी स्नातकोत्तर तहमा उत्तीर्ण हुने गरेका छन् । त्रिभुवन विश्वविद्यालयको कम्प्युटर बिज्ञान तथा सुचना प्रविधी केन्द्रिय विभागबाट बार्षिक २ जना विद्यार्थीले विद्याबारिधि उपाधिका लागि अध्ययनसमेत गर्ने गरेका छन् । यस प्रक्रियाबाट उत्पादित दक्ष जनसक्ति नेपाल सरकारका विभिन्न निकाय लगायत विश्वव्यापी रुपमा माईक्रोसफ्ट एवं एप्पलजस्ता टेकजाईन्ट कम्पनीहरुमा समेत कार्यरत रहेका छन् ।