दुई वर्षभित्र विद्यालय पुनर्निर्माणकाे काम सम्पन्न हुन्छ : मन्त्री पोखरेल

काठमाडौं । सरकारले दुई वर्षभित्र विद्यालय भवन पुनर्निर्माणको काम सम्पन्न गर्ने योजना अघि सारेको छ।
भूकम्पले ध्वस्त बनाएको विद्यालय भवन पुनर्निर्माणको कामले गति नलिएको भन्दै सर्वत्र आलोचना भइरहेका बेला शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले दुईवर्ष भित्र पुनर्निर्माणको काम सम्पन्न गर्ने योजना अघि सार्नु भएको हो।
सोमबार काठमाडौंस्थित दरबार हाइस्कूलको निरीक्षणपछि आयोजित कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले दुईवर्षभित्र सबै विद्यालय पुनर्निर्माणको काम सम्पन्न गर्न आफूले एकपछि अर्को विद्यालय निरीक्षणको काम सुरु गरेको पनि स्पष्ट पारे।
मन्त्री पाेखरेलले भूकम्पले ध्वस्त बनाएका विद्यालय भवन निर्माणको काममा तीव्रता दिन स्थानीय तह, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग आवश्यक समन्वय भइरहेको पनि बताए।
मन्त्री पोखरेलले विद्यालय भवनको पुनर्निर्माणको कामलाई गति दिन सुरक्षित विद्यालयको अवधारणा अघि सारिएको पनि स्मरण गराए।