कभर स्टोरी भिडियो

बम भनेको कुनै हतियार होइन, चुनावको बेला पड्कायौं (भिडियो)

बम भनेको कुनै हतियार होइन, चुनावको बेला पड्कायौं (भिडियो)

कृष्ण धमला, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका पोलिटब्यूरो सदस्य हुनुहुन्छ । यो पार्टीले प्रहार गरिरहेको बम, चन्दा प्रकरण, नेपाल बन्दका कार्यक्रम आदिबारे नेपालआजले नेता धमलासँग कुराकानी गरेको छ । कुराकानीका क्रममा धमलाले भन्नु भएको छ कि बम भनेको कुनै हतियार नै होइन । तर चुनावको बेला पड्किएका बमहरु आफ्नै पार्टीले पड्काएको हो । उहाँले अन्तर्वार्ताका क्रममा व्यक्त गर्नुभएको धारणाको मूल सार निम्नानुसार छन्: 


‘हाम्रो पार्टी भूमिगत होइन, छैन । नेकपाको आठौं महाधिवेसनपछि हामीले भूमिगत भन्ने शब्द प्रयोग नगर्ने नीति लिएका छौं । हामी अर्धभूमिगत पनि होइनौं । खुला छौं, जनताको बीचमा छौं । भूमिगत भन्ने शब्द प्रयोग गर्दा राज्यले बढी दमन गर्ने भएकोले त्यो शब्द नै नराखेका हौं । 

 

हामीले १० वर्षे जनयुद्ध गरेका पनि हौं । तर त्यो बेला मानिसहरु जंगलमा बसेका छन् माओवादीहरु भन्ने गर्थे । जनताको बीचमा भ्रम छर्न जंगलमा भन्ने गर्थे । 


हाम्रा महासचिव पनि जनताकै बीचमा हुनुहुन्छ । अरु पार्टी र हामीमा अलिकति फरक छ । हामी यो सत्ता पल्ट्याएर जनगणतन्त्र र वैज्ञानिक समाजवादी स्थापित गर्न चाहन्छौं । हामीविरुद्ध राज्यले युद्धको ऐलान गरेजस्तो गरेको छ । खुला रुपमा आउन हामीलाई राज्यले गरिरहेको छ । 


हामीलाई बम हान्ने गरेको आरोप लगाउनु नै बेकार हो । किनभने बम भनेको हतियार नै होइन । हतियारको वर्गमै पर्दैन । खासमा अहिले पड्कीरहेका बमहरु जनताको स्वाभाविक प्रतिरोध हो । उत्पिडनविरुद्धको प्रतिक्रिया हो –बम । यी सांकेतिक हुन्, जनताले पड्काएका हुन् । 


अहिले प्रतिक्रियावादी वा विरोधीहरुले अर्को ढंगले व्याख्या गर्ने र जनतामा भ्रम छर्ने काम भइरहेका छन् । तर जनताले चाहे भने जस्तो सुकै शक्तिशाली सत्ता पनि पल्टाइदिन्छन् । जनताविरुद्ध काम हुन्छ भने स्वभाविक रुपमा आक्रोश पोख्छ । 


चुनावका दौरान जति पनि बम पड्किए, त्यो श्रृंखलाको नेतृत्व हामीले नै गरेको हो । यो प्रतिक्रियावादी सत्ताले परिवर्तन स्वीकार गर्दैन । 


हाम्रो पार्टी भनेको क्रान्तिकारी पार्टी हो । जनताको आवाज बोक्ने दल हो । झुठा मुद्धा लगाउने, जेलमा सडाउने, दमन गर्ने काम राज्यले गरिरहेको छ । तर हामीले जनताका आवाज बोकेका मात्रै हौं । १० वर्षे जनयुद्धमा हामीले जे खोजेका थियौं, त्यो कुरा अहिलेसम्म पूरा भएन । प्रचण्ड–बाबुरामले जस्तो धोका दिन सकेका छैनौं । संसदीय व्यवस्था अस्वीकार गरेर जनयुद्ध गरियो, अहिले त्यही व्यवस्थामा प्रचण्ड बाबुराम गए । 


शान्ति सम्झौताको भावना र मर्म पनि लागू गरिएन । प्रचण्ड–बाबुरामलाई किनेर समस्या समाधान हुँदैन भनेका थियौं । धोका र गद्दारीविरुद्ध हामीले संघर्ष गरिरहेका छौं । हामी त वैकल्पिक शक्ति हौं । दूनियाँका बलिया तानाशाह त ढलेका छन् भने यो सत्ता केही होइन । 

 

हामीले संसदवादविरुद्ध लडेका थियौं । 

 

हाम्रा महासचिवले विदेशी जासुसलाई कहिले भेट्नु भएको छैन । विदेशी शक्तिलाई भेट्नु भएको होला तर जासुसलाई कहिले पनि भेट्नु भएको छैन । 
शिक्षामा व्यापारिकरण भइरहेको छ । हामीले शिक्षामा भइरहेको व्यापारिकरण भइरहेको छ । हाम्रा महासचिवलाई बद्नाम गर्ने काम पनि भइरहेको छ । महासचिवका छोरा मेडिकल कलेजमा पढ्ने अनि जनताका  छोराछोरी पढ्ने संस्थामा बन्द गर्ने काम हाम्रो पार्टीले गर्यो भनेर भ्रम फैल्याइएको छ । त्यो सत्य होइन । भ्रम छर्ने प्रयास हो । 


देशमा राष्ट्रघात, जनघात,नवऔपनिवेशीकरण भइरहेको छ, सीमा मिचिएको छ, भारतीय साम्राज्यवादी शक्तिविरुद्ध हामीले जनतालाई जागरुक बनाउन बन्दको आह्वान गरेका हौं । 


अरुण तेस्रो सस्तो परियोजना भारतलाई दिइयो । अपर कर्णाली भारतलाई दिइयो । हाम्रो सार्वभौमसत्ता, अखण्डतामा आँचआउने काम भएपछि हामी बन्दको आह्वान गर्छौं । 


हामी अन्तर्राष्ट्रियवादमा विश्वास गर्छौं । जसका कारण विदेशी भूमिमा बसेर पनि हामी नेपालमा आन्दोलन गर्न सक्छौं । भारतलाई हामी साम्राज्यवादी भन्ने गरेका छौं । यो पार्टीको घोषित नीति हो । भारतले गोवा खायो, कश्मिर खायो, सिक्किम खायो । भूटानलाई खान लागेको छ । छिमेकीमाथि पनि असमान सन्धिसम्झौता लादेको छ । नेपालको कालापानीमा भारतको सेना छ । बंगलादेश, पाकिस्तान, श्रीलंकासबैतिर उसको उत्पिडन देखिन्छ । यसकारण उसलाई साम्राज्यवादी शक्ति भनेका हौं ।  


अहिले त हामी कतै लुकेका छैनौं । जनताको बीचमा छौं । हाम्रा महासचिव पनि भारतमा लुक्नु भएको छैन ।’

(नेता धमलासँग गरिएको कुराकानीको दोस्रो भाग चाँडै प्रकाशन हुनेछ ।– सम्पादक)

विप्लव नेत्रविक्रम चन्द कृष्ण धमला

विशेष