स्वास्थ्य ताजा खबर

मनिपालमा फेरि आन्दोलन, आकस्मिकबाहेकका सेवा ठप्प

मनिपालमा फेरि आन्दोलन, आकस्मिकबाहेकका सेवा ठप्प

पोखरा । मनिपाल शिक्षण अस्पतालमा मंगलबारदेखि आकस्मिकबाहेकका सबै सेवा अवरुद्ध भएको छ । व्यवस्थापनले ५ कर्मचारीलाई विनाकारण जागिरबाट निकालेको भन्दै आन्दोलित नन टिचिङ स्टाफको आन्दोलनले सेवा प्रभावित बनेको हो ।


साबिकका एमाले र माओवादी केन्द्र तथा कांग्रेसनिकट कर्मचारी युनियनले पत्रकार सम्मेलनमार्फत अवकाश दिइएकाको पुनर्बहाली नभएसम्म आन्दोलन नरोकिने जनाएको छ । 

 

अस्पतालको फार्मेसीमा कार्यरत रमेश बोहोरा, टेकबहादुर विक, नीलकण्ठ भट्टराई, लेखा शाखामा कार्यरत मन्जु विक र अल्पना ठाकुरलाई फार्मेसीमा हिनामिना गरेको भन्दै जागिरबाट निकालेको थियो ।


 उनीहरूले आफ्नै नाममा रहेको एनआरटी सर्जिकल्स कम्पनीमार्फत औषधि तथा सर्जिकलका सामान उपलब्ध गराउँदै आएको अस्पतालको भनाइ छ । अस्पतालका अनुसार ती सामग्री अन्यत्रभन्दा बढी मूल्य लिएको छानबिनका क्रममा पाइएपछि उनीहरूलाई निकालिएको हो ।


 प्रशासन प्रमुख भानु भारद्वाजले आफूले काम गर्ने संस्थालाई नै घाटा हुने गरी बढी मूल्यमा औषधि आपूर्ति गरेकाले कारबाही गरेको बताए । ‘विभिन्न गुनासा आएपछि छानबिन समिति गठन गरियो,’ उनले भने, ‘दोषी देखिएपछि बाध्य भएर हटाउनुपरेको हो ।’

कर्मचारी मनिपाल शिक्षण अस्पताल सेवा अवरुद्ध

विशेष