गौहत्यामा तीनजनालाई मुद्दा दर्ता

वालिङ, स्याङ्जा । स्याङ्जाको चापाकोट नगरपालिका–२ चिर्केथुम्कामा गाई काट्ने तीनजनालाई प्रहरीले पक्राउ गरी मंगलबार मुद्दा दर्ता गरेको छ ।
वडा प्रहरी कार्यालय, वालिङका अनुसार चापाकोट नगरपालिका–३ का ४३ वर्षीय लालबहादुर नेपाली, ५० वर्षीय मंगलबहादुर नेपाली र ३६ वर्षीय अनिलकुमार नेपालीलाई पक्राउ गरी मुद्दा दर्ता गरिएको हो ।
स्थानीयले दिएको सूचनाका आधारमा गाई काट्दै गरेको अवस्थामा मासुसहित तीनजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकालाई मंगलबार जिल्ला अदालतबाट छ दिनको म्याद थप गरी अनुसन्धान शुरु गरिएको छ ।
प्रहरीका अनुसार मुलुकी ऐन—२०२० को गौवध महल अनुसार १२ वर्षसम्म जेल सजाय हुनसक्ने कानूनी प्रावधान रहेको छ । रासस
स्याङ्जा प्रहरी गाई काट्ने मुद्दा दर्ता