फुड स्वास्थ्य

अब बजारबाट मैदा र यसबाट बनेका चीजवस्तु किन्दा हाेसीयार !

अब बजारबाट मैदा र यसबाट बनेका चीजवस्तु किन्दा हाेसीयार !

हामी मैदाबाट बनेका खानेकुरा अत्यधिक प्रयोग गर्छौं । तर, यसले स्वास्थ्यमा पार्ने प्रभावबारे त्यति धेरै सोचेको पाइँदैन । स्वास्थ्यलाई मात्र केन्द्रमा राखेर मैदाको प्रयोग गर्दा थुप्रै स्वास्थ्य समस्या निम्तिन जान्छ । किनभने, गहुँको बाहिरी भाग फालेर भित्री भागबाट मैदा तयार पारिएको हुन्छ । जसले गर्दा यसले कुनै पनि आवश्यक भिटामिन प्रदान गर्दैन । गहुँबाट फाइबर, न्युट्रिसन, क्यालोरीलगायतका तत्व पाइने भए पनि मैदाबाट भने त्यस्तो कुनै तत्व प्राप्त हुँदैन । यस्ता छन् मैदाका असर :


केमिकलको असर
मैदामा प्रयोग गरिने केमिकलले शरीरमा हुने क्याल्सियमलाई नष्ट गर्छ । जबकि क्याल्सियमले हाडलाई बलियो बनाउने काम गर्छ । यसले बालबालिकाको वृत्ति विकासमा पनि असर पु-याइरहेको हुन्छ । मैदाको बढी प्रयोगले सानो उमेरमै हाड खिइने, हातखुट्टा दुख्नेलगायतका समस्यादेखा पर्छ ।


क्यालोरीको असर
मैदामा पाइने क्यालोरीले रगतमा चिनीको मात्रा बढाउँछ । जसकारण सानै उमेरमा डाइबेटिजको खतरा हुन्छ । यसमा भिटामिन र फाइबरको मात्रा पनि नहुने भएकाले पच्न गाह्रो पर्छ । फाइबरले खाना पचाउने र दिसा सफा पार्ने काम गर्छ । त्यसैले मैदाले दिसामा समस्या हुने, कब्जियत, पेट दुख्ने, बमिटलगायतका समस्या निम्तिन्छ ।


रोगसँग लड्ने क्षमता कम हुन्छ
यसले प्रतिरक्षा प्रणालीलाई पनि नष्ट गर्ने काम गर्छ । यसमा कुनै पौष्टिक तत्व नहुने भएकाले बालबालिकामा अझ बढी समस्या निम्त्याउँछ । यसले बालबालिकाको ध्यान केन्द्रित गर्ने क्षमतामा पनि ह्रास ल्याउँछ । जसले गर्दा पढेको नसम्झिने, पढाइमा ध्यान नदिने, बढी रिसाउने, रिसाउनेजस्ता समस्या हुन्छ ।


मैदाका प्रडक्ट

मैदाबाट जंकफुडहरू बनाइन्छन् । बजारमा पाइने प्याकेजिङ गरिएका अधिकांश खाद्यपदार्थ मैदाबाट बनेका हुन्छन्, जस्तै– चाउचाउ, बिस्कुट, कुरमुरे आदि ।नेपालीले खाजाको रूपमा पनि मैदाबाट बनेका खाद्यपदार्थको अत्यधिक प्रयोग गरेको पाइन्छ । सबैभन्दा बढी प्रयोग गर्ने चाउमिन, मःम, समोसा, पिज्जा, केक, नमकिन नै मैदाबाट बनेका हुन्छन् ।


बच्चालाई के खुवाउने ?
अभिभावकले बच्चाका लागि खाजाका रूपमा जंकफुडको अत्यधिक प्रयोग गरेको पाइन्छ । त्यसैले धेरैलाई लाग्न सक्छ कि मैदाबाट बनेको खाद्यपदार्थ नखाने भए केचाहिँ प्रयोग गर्ने त । तर, विकल्प भने थुप्रै छन् । जस्तो कि गहुँको रोटी, चना, चिउरा, उसिनेको अन्डा, खिर, फ्राई राइस, फलफूल, दूध, दही, हरियो सागपात, मौसमी फलफूल, बदाम, माछा आदि खुवाउन सकिन्छ ।

स्वास्थ्य मैदा गहुँ

विशेष