अब विदेशीलाई कडा निगरानी

काठमाडौं । विभिन्न उद्देश्यले नेपाल छिरेका विदेशी नागरिकको प्रवेश, उपस्थिति, प्रस्थानलगायत गतिविधिलाई गृह मन्त्रालयले गम्भीर निगरानी गर्ने भएको छ। विदेशी अनुगमन निर्देशिका पारित भएसँगै नेपालमा बस्ने विदेशीको गतिविधि निगरानी गर्ने र आवश्यक परे खराब आचरणका विदेशीलाई तत्काल पक्राउ गर्न गृह मन्त्रालयलाई बाटो खुलेको छ।
गृहमन्त्री रामबहादुर थापाले मन्त्रीस्तरीय निर्णयबाट ‘विदेशी नागरिक अनुगमन निर्देशिका २०७४’ स्वीकृत गरेका छन्। यससँगै नेपालमा विभिन्न उद्देश्यले आफ्ना गतिविधि सञ्चालन गर्दै आएका विदेशी नागरिकमाथि कडा निगरानी हुने भएको हो।
अध्यागमन विभागका महानिर्देशक संयोजक रहेको निर्देशिका कार्यान्वयन समितिले शंकास्पद विदेशीको अनुगमन गर्ने र त्यस्ता विदेशी नागरिकलाई तत्काल नियन्त्रणमा लिन सक्नेछ।
विभागका महादिर्नेशकले अध्यागमन अधिकृतको संयोजकत्वमा सुरक्षा निकायका अधिकारीलाई समेत सम्मिलित गराई जुनसुकै बेला जुनसुकै स्थानमा रहेका विदेशी नागरिकका गतिविधि निगरानी र शंका लागे उनीहरूलाई नियन्त्रणसमेत गर्न सक्ने प्रावधान निर्देशिकामा उल्लेख छ। याे खबर अाजकाे अन्नपूर्णपाेष्ट दैनिकमा छ ।