अपराध सुरक्षा मुख्य समाचार

गोरेलाई भरपर्दो सुरक्षा दिन अदालतको आदेश

गोरेलाई भरपर्दो सुरक्षा दिन अदालतको आदेश

सनम शाक्य हत्या र साढे ३३ किलो सुन तस्करीमा प्रहरीले मुख्य अभियुक्त बनाएको गोरे भनेर चिनिने चूडामणि उप्रेतीलाई भरपर्दो सुरक्षा दिन अदालतले आदेश दिएको छ । जिल्ला अदालत मोरङमा बयानका क्रममा गोरेले आफूलाई हिरासतमै खतरा भएको बताएका थिए ।

 

उनलाई बयानका लागि बुधबार मोरङ अदालत लगिएको थियो । उनले आफू असुरक्षित रहेको बताएपछि अदालतले मानवअधिकारवादीको समेत निगरानीमा भरपर्दो सुरक्षा प्रदान गर्न मोरङ प्रहरीलाई आदेश दिएको हो । उनी मंगलबार काठमाडौंबाट पक्राउ परेका थिए ।

 

अदालतका निमित्त स्रेस्तेदार केदारप्रसाद गौतमका अनुसार गोरेले ६ नम्बर इजलासमा न्यायाधीश नारायण शर्मासमक्ष आफ्नो जिउज्यान असुरक्षित रहेकाले मानवअधिकारवादीसमेतको निगरानीमा सुरक्षा प्रदान गर्न माग गर्दै निवेदन दिएका थिए । अदालतमा बयान दिन उपस्थित गराइएका गोरेलाई पहिला एक सय ५३ पेजको अभियोग पढेर सुनाइएको थियो । त्यसपछि प्रमाणका रूपमा प्राप्त भिडियो देखाइएको थियो ।

 

त्रिभुवन विमानस्थल हुँदै तस्करहरूले ल्याएको साढे ३३ किलो सुन हराएपछि उनले आफ्नै समूहका सनम शाक्यको हत्या गरेका थिए । सुन पत्ता लगाउन यातना दिँदा उर्लाबारी–७ का शाक्यको मृत्यु भएको थियो । उनको शव १८ फागुनमा भेटिएको थियो ।

 

सुन हराएपछि शाक्यसहित सानु बन र प्रेमलाल चौधरीको पनि ज्यान गयो । बन र चौधरीले आत्महत्या गरेको प्रहरी रिपोर्टमा उल्लेख छ । गोरे भने फरार थिए । अनि सनम शाक्यको ज्यान गएको र आफू पनि असुरक्षित रहेको गोरेले अदालतमा बताएका छन् ।

चूडामणि उप्रेती गोरे जिल्ला अदालत मोरङ सुरक्षा ३३ किलो सुनकाण्ड

विशेष