खेल मुख्य समाचार

चर्चा सन्दीपको व्यस्तता बा–आमाको

चर्चा सन्दीपको व्यस्तता बा–आमाको

चन्द्रनारायण र कोपिलादेवी लामिछाने अचेल दिउँसो १२ बजेसम्म पनि खाना खान पाउँदैनन् । सन्दीप लामिछानेका साथीभाइ, आफन्त भेट्न र बधाई दिन आइरहन्छन् । पत्रकारहरू सन्दीपबारे प्रतिक्रिया लिनका लागि भेट्छन् । सन्दीपका आमाबुबा चन्द्रनारायण र कोपिलादेवीलाई समय मिलाउनै मुस्किल भएको छ ।


उनीहरूलाई फुर्सद छैन, यतिवेला । रत्ननगर नगरपालिका ८ बछौलीस्थित उनको घरमा मान्छेको आउजाउ बाक्लिएको छ । सिंगो नेपालमा यतिवेला क्रिकेट खेलाडी सन्दीप लामिछानेको चर्चा छ । इन्डियन प्रिमियर लिग (आइपिएल)मा अनुबन्धित भएदेखि नै उनको चर्चा चुलिएको हो ।


दिल्ली डेयरडेभिल्सबाट खेलेका सन्दीपको चर्चासँगै अभिभावकको व्यस्तता पनि बढेको हो । युवा क्रिकेट खेलाडी लामिछानेका बुबा चन्द्रनारायण भन्छन्, ‘सन्दीप हाम्रो परिवारमा जन्मिए पनि नेपाल आमाकै सन्तान भयो ।’


छोरालाई इन्जिनियर बनाउने सपना देखेका बुबा–आमा छोराले क्रिकेट खेलेरै नेपाललाई चिनाउन सफल भएकोमा औधी खुसी छन् । ‘हामीले छोरालाई इन्जिनियर बनाउने सोच बनाएका थियौँ,’ बुबा चन्द्रनारायण खुसी व्यक्त गर्दै भन्छन्, ‘तर, छोराले खेलकूदमा चाहना देखायो । सफलता पनि पायो । अहिले इन्जिनियरभन्दा माथि पुगेको छ, छोरा ।’


सन् २००० अगस्टमा स्याङ्जामा जन्मिएका सन्दीप कक्षा ४ सम्म उतै पढेर भारत गएका थिए । चन्द्रनारायण भारतीय रेलवे स्टेसनमा जागिरे भएकाले परिवारको कान्छो छोरा सन्दीपलाई पनि उतै लिएर गए । भारतको दिल्ली पुगेपछि सन्दीपको चाहना क्रिकेटमा देखियो ।


आमा कोपिलादेवीका अनुसार टेलिभिजन हेरेकै भरमा उनले क्रिकेट खेल्न सिके । टेलिभिजन हेरेर नजिकैको चौरमा क्रिकेट ब्याट समातेका सन्दीपको सफलताले नेपालकै गरिमा बढाएको छ । नयाँ पत्रिकाबाट

सन्दीप लामिछाने प्रतिक्रिया चन्द्रनारायण लामिछाने कोपिलादेवी लामिछाने

विशेष