खेल

​कर्णाली प्रिमियर लिगको उपाधि त्रिभुवन आर्मीलार्इ

​कर्णाली प्रिमियर लिगको उपाधि त्रिभुवन आर्मीलार्इ

सुर्खेत । कर्णाली प्रिमियर लिगको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । शनिबार सुर्खेतको रंगशाला मैदानमा सम्पन्न भएको फाइनल खेलमा रुपन्देही–११ लाई ३७ रनले पराजित गर्दै आर्मीले उपाधि हात पारेको हो । 

 

त्रिभुवन आर्मी क्लबले उपाधिसहित ३ लाख रुपैयाँ तथा उपविजेता रुपन्देही–११ ले १ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे । प्रतियोगिताको उत्कृष्ट खेलाडी रुपन्देही–११ का सन्दिप सुनार घोषित हुँदै रु.२५ हजार नगद पुरस्कार प्राप्त गरे । 


टस हारेर ब्याटिङ गरेको त्रिभुवन आर्मी क्लबले ७ विकेट गुमाएर १३२ रनको योगफल तयार गरेको थियो । आर्मीका लागि ओपनर सागर पुनले ३९ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै सर्वाधिक ३८ रनको योगदान दिए । 

 

त्यस्तै बिनोद भण्डारीले २८ तथा राजेश पुलामीले २२ रन बनाए । रुपन्देहीका बलर बिकास श्रेष्ठले ४ ओभरमा २१ रन खर्चेर ३ विकेट हात पारे । त्यस्तै बसिर अहमद, बिक्रम भुसाल र सन्दिप सुनारले समान १–१ विकेट लिए ।


१३३ रनको लक्ष्य पछ्याउने क्रममा रुपन्देहीले १७.५ ओभरमा ९५ रनमै सम्पूर्ण विकेट गुमाउन पुग्यो । आर्मीका बलर बिक्रम सोबले ३ विकेट तथा हरि कृष्ण झा र सुशन भारीले समान २–२ विकेट हात पारे ।

 

रुपन्देहीको लागि निश्चल चौधरीले सर्वाधिक २६ रन, सन्दिप सुनारले २४ रन, शक्ति गौचनले १७ रन तथा सौरभ खनालले १६ रनको योगदान दिए ।
त्यस्तै आर्मीका सागर पुन उत्कृष्ट ब्याट्सम्यान तथा रुपन्देहीका कृष्ण कार्की उत्कृष्ट बलर घोषित भए ।

 

दुवैले जनही १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे ।  फाइनल खेलको प्लेयर अफ द म्याच बिक्रम सोब चुनिए । गएको जेठ ३ गते देखि सुरु भएको प्रतियोगितामा १० क्लबहरुको सहभागिता रहेको थियो । 

कर्णाली प्रिमियर लिग त्रिभुवन आर्मी उपाधि

विशेष