‘सुपरम्यान’ ओलीको सुपर भाषणः ‘समृद्धि’ हैन अब ‘सुपर समृद्धि’ !
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अचेल पहिलेका राजा महेन्द्र भन्दा पनि शक्तिशाली छन् । उनको पक्षमा जनाधार छ । राज्यको शक्ति छ । उनको व्यक्तित्व र व्यवहारका कारण देश–विदेशमा बलियो प्रभाव पनि छ ।
उनले हरेक भाषणमा नयाँ कुरा के भन्लान् भनेर आम जनताहरु चासोका साथ हेर्छन्, सुन्छन् । पानीजहाज, रेल, हावाबाट बिजुली जस्ता सुविधा उनका महत्वाकांक्षी योजना हुन् । भलै त्यसका लागि आवस्यक खोज र अनुसन्धानको पहल भएको छैन ।
त्यसो त प्रधानमन्त्री बन्नुअघि र बनेपछि उनको भाषणको तौर तरिका केही फेरिएको छ । पहिलो पटक प्रधानमन्त्री पदबाट हटेपछि र दोस्रो पटक प्रधानमन्त्री बनेपछि नै उनको भाषणका कुरा फेरिए ।
पछिल्लो समय उनले झापामा गएर गरेको भाषण अहिले चर्चामा छ । भाषणमै भए पनि उनले झापालीहरुरुलाई हौस्याएर फर्किए । त्यहाँ उनले भनेको ‘सुपर झापा’को विषयलाई लिएर ब्यंग्य गर्न थालिएको छ । सुपर वस्तुहरुले भरिएको झापा सुपर जिल्ला भएको भन्दै ओलीले भाषण चर्काएपछि अब सामाजिक संजालमा ‘सुपर समृद्धि’ भन्दै ब्यंग्य गरिएको छ ।
फेसबुकमा लेख्दै एक पत्रकार किशोर दाहालले भनेका छन्, ‘समृद्धि भनेर पुग्दैन अब सुपर समृद्धि भन्नुपर्छ ।’ खासमा ओलीले समृद्धिको नारालाई आफ्नो मुद्दा बनाउन थालेको महिनौँ भयो । नयाँ शक्तिका नेता बाबुराम भट्टराईले कुनै बेला समृद्धि, विकास भन्दा धेरैले खासै चासो दिएनन् । अन्य समूहले पनि समृद्धिको नारालाई चुनावी नारा बनाए ।
अन्ततः प्रधानमन्त्री ओलीले ससमृद्धि र विकासको नारालाई वाम सरकारको मूख्य नारा बनाउँदैआएका छन् । आम जनताको जीवनस्तर उकास्ने योजना, कार्यक्रम नल्याए पनि ओलीले हरेक भाषणमा समृद्धिको कुरा भन्न छुटाएका छैनन् । झापामा पुगेर ‘सुपर’ कुरा गरेपछि त उनलाई सुझाव दिन थालिएको छ कि, अब समृद्धि भनेर मात्रै पुग्दैन ‘सुपर समृद्धि’भन्नुपर्छ !
त्यसो त, सरकार गठन भएको २ महिना बढी भइसक्दा पनि प्रधानमन्त्रीले सरकार बिस्तार गरिसकेका छैनन् । बरु पहिले झैँ भाषणमै सिमित छन् । सुरुमा उनका कुरा रोचक लागे पनि केहीले पट्यारलाग्दो आश्वासनको रुपमा पनि ब्याख्या गर्न थाले । समृद्धि भन्दा भन्दै सुपर समृद्धिको यात्रामा लागेका ओलीको भाषणशैली यस्तो लाग्दै छ कि, उनी आफूलाई ‘सुपरम्यान’ ठान्दै छन् !