अन्तरवार्ता इतिहास र अनुभूति भिडियो कभर स्टोरी

नेपालका खस हिन्दु होइनन्, खसहरु आर्य पनि होइनन् (भिडियो)

नेपालका खस हिन्दु होइनन्, खसहरु आर्य पनि होइनन् (भिडियो)

इतिहास र अनुभूति स्तम्भमा यसपटक प्रा.डा. सुरेन्द्र केसीले मस्टो देवता, नेपालका शासक, आदिवासी जनजाति आदिबारे इतिहास राख्नु भएको छ । उहाँले अन्तर्वार्तामा प्रस्तुत गर्नुभएको सार निम्नबमोजिम छः 

‘मस्टो भनेको भूमिको आमा हो । पृथ्वी हो, जमिन हो । जमिन र चराचर मानव जगतको श्रृष्टिकर्ता हो । खसहरुको इष्टदेवता हो मस्टो । हिन्दुहरुले मन्दिरका भगवान मान्छन् । खस जातिले चाहिँ मस्टो देवता पुज्छन् । 

 

खसहरुको उद्गम प्राचीन युफ्रेट्स अर्थात आजभोलिको इराक तिर जान्छ । मेसोपोटामियाबाट उत्पत्ति भएको मानव जाति युराल पर्वत हुँदै अफगानस्तिान आइपुग्छ ।   त्यो क्रममा एक मान्छेको एक शाखा गंगाको तटतिर आइपुग्छ । अर्को शाखा चाहिँ त्यता नओर्ली कछाडैकछाड काश्मिर तिर उक्लिन्छ । त्यहाँ खस्गीर भन्ने पर्वत छ । त्यहाँ बस्नेहरु पछि खस भए । त्यो बेला मानिसहरु यायाबर हुन्थे ।  

 

मस्टो देवतालाई यहि पर्वतमा परिकल्पना गरेको हुनुपर्छ । खस्गीरबाट पनि पहाडको कछाडैकछाड कुमाउगढवाल आइपुगे । त्यहाँ उनीहरुले चार सय वर्ष शासन गरे । इसाको छैठौ शताब्जीमा सिञ्जा वा कर्णाली आइपुग्छ । यहिँ मस्टोको पुजाको विधि, शाखा प्रशाखा उत्पति भयो । नयाँ परम्पराले स्थान लियो । 


इसाको आरम्भिक शताब्दीमा खस जातिले कुमाउगढवालमा शासन गरेको देखिन्छ । के कारणले एक शाखा मात्रै नेपालतिर आयो भन्न सकिदैन । 


मैले एक प्रशंगमा पढेको थिएँ कि महाभारतमा त्यही क्षेत्रका खसहरुले युधिष्ठिरको पक्षमा लडेका थिए । खसहरुलाई लडाकु जाति पनि भन्ने गरिन्छ । 

 

समग्र र समष्ठिमा बुझ्ने र ब्याख्या गर्ने चलन  छैन । कतिपयले काल्पिनिक रुपमा पनि इतिहासका कुरा गर्छन् । यसकारण धेरै पुराना कुराहरु थाहा नभएका अवस्था पनि छन् । 

 

खस भनेको युरालमा आएको मानव शाखा खैबर भञ्ज्याङबाट तल नझरिकन कछाडैकछाड काश्मिरको भूूगोल हुँदै कुमाउगढवालतिर आइपुग्यो त्यो खस भयो । त्यो नभइ खैबर भञ्ज्याङबाट तल ओर्लेर गंगाको मैदानमा विकसित भयो त्यो आर्य भयो । योसँग सरोकार नै नराखी यता आउनेहरु चाहिँ खस भए । 

 

वैदिक सनातन धर्मसँग जोड्दै नजोडिएका जाति हुन् खसहरु । खस भनेको बलियो बांगो हुन्छ । नाक धेरै चुच्चो पनि हुँदैन । आर्य भनेको चाहिँ अग्लो, लामो चुच्चो नाक भएकाहरु हुन्छन् । भारतका आर्यहरु र नेपालका खसमा मेल छैन । यि फरक हुन् । भारतका आर्यहरु युरोपकासँग मिल्छन् । नेपालका खस र भारतका आर्य फरक हुन् भन्ने छ । तर नेपालको संविधानमा खस र आर्यलाई एकै ठाउँमा लेखे । खसआर्य भन्ने गरिन्छ अहिले । 
खसभित्र पनि फरक फरक उपसमूह छ । 

 

खसहरु हिन्दु होइनन् । खसहरु प्रकृतिपुजक हुन् । धामीझाँक्रीमा आधारित हुन्छन् खसहरु । खसहरु क्रमशः हिन्दु भए । ‘ओम् मणि पद्य्मो हुम्’ भन्ने मन्त्र खसहरुको हो । झट्ट सुन्दा यो बुद्धधर्म मान्नेहरुको जस्तो लाग्छ । तर होइन । शिवालयहरुमा यो मन्त्र लेखिनु चाहिँ शासकहरुले देखाएको सहिष्णुता हो । पछि शासकहरु नै हिन्दु हुन थाले । जसका कारण खसहरुले मस्टो मान्न छाडे । 

 

जंगबहादुरले पश्चिमका मानिसहरुलाई आफूहरुलाई खस नभन्नु भन्ने उर्दी जारी गरे । खसहरु सबैलाई क्षेत्री बनाइयो । जंगबहादुरको शासनपछि नै खसहरु हिन्दु हुन थाले । मस्टो मासियो । 

 

अधिकांश खसहरुलाई आफ्नो उद्गम र पहिचान बिर्सिसकेका छन् । अहिले खसहरुले आफू गैरवैदिक, गैरहिन्दु हौं भन्ने स्वीकार गर्दै गर्दैनन् । अब हिन्दु धर्मबाट फर्किने अवस्था छैन । नेपालमा आर्य भन्ने जाति नै छैन । तर खसहरुलाई ‘खसआर्य’ मानिएकोछ । 

 

आदिवासी जनजातिको हालत पनि त्यस्तै छ । नेपालका आदिवासीजनजाति को हुन्, उद्गम के हो ? भन्ने उनीहरुलाई पनि बुझायो भने त आङकाजी शेर्पाले फतवा जारी गरिदिन्छन् । बोल्न हुने अवस्था पनि छैन । 

 


नेपालका शाह वंश भारतको राजस्थानबाट चितौडगढ भन्ने ठाउँमा आए । त्यसपछि नेपाल प्रवेश गरे । शाहहरुको पनि आठ वटा शाखा नेपालमा देखिन्छन् । जाजरकोट, रुकुम, गल्कोट, गोर्खा, लमजुङ आदि क्षेत्रमा शाहहरु छन् । 

 

खाँन्चा खान र मिचा खान भन्नेबाट उनीहरु मुसलमान हुन् भन्ने पनि गरिन्छ । मगर भाषामा खाँन्चा र मिचा भनेको जेठाकान्छा हो । उनीहरु मुसलमान हुन् भन्ने सक्ने अवस्था छैन । 

 

नेपालमा चार वटा सभ्यताहरु समानान्तर रुपमा हुर्केका छन् । काठमाडौं उपत्यकामा किरात सभ्यता हुर्कियो । जनकपुरतिर विदेह सभ्यता, कपिलवस्तुमा शाक्य सभ्यता, सुदूरपश्चिममा खस सभ्यता यि तीन सभ्यताबाट आजको नेपाली सभ्यता विकसित भयो । 

 

११ औं शताब्दीमा सिम्रौनगढमा एक शासन जन्मियो । दिल्लीको शासकको आक्रमणबाट नष्ट गरियो । नेपालमा किराँतको शासनलाई लिच्छवीहरुले ध्वस्त पारे । दशौं शताब्दीसम्म शासन गरे । अनि मल्ल शासन सुरु भयो । 
पहिलो जातिका रुपमा किराँत मान्ने हो भने त्यो भन्दा अगाडि गोपाल र अहिर पनि थिए । 

 

नेपालका खसहरु आदिवासी हुन् कि होइनन् ? यो रोचक छ । जसको आफ्नो क्षेत्र छ, जो वर्ण व्यवस्थाबाट पर छ, जो राजकीय संलग्नताबाट पर हुन्छ भने आदिवासी हुन्छ भन्नेहरु छन् । यसलाई आधार मान्ने हो भने नेपालमा खसहरु आदिवासी हुन् । आदिवासी जनजाति महासंघको प्रस्तावनाअनुसार त खसहरु आदिवासी नै हुन् । 

 

पृष्ठभूमि हेर्दा लिच्छवीहरु हिन्दु हुन् । नेवारमा पनि आधाभन्दा बढी हिन्दु नै होलान् । वर्णव्यवस्था नमान्ने आदिवासी हुन्छन् भन्ने मान्यतालाई आधार बनाउने हो भने नेवार जाति आदिवासी होइनन् । किनभने उनीहरुमा वर्णव्यवस्था छ । यो कुरा भन्न पनि नमिल्ने अवस्था छ । ’


(प्रा.डा. केसीको भिडियो अन्तर्वार्तामा आधारित)

इतिहास र अनुभुति सुरेन्द्र केसी मस्टो

विशेष