मुख्य समाचार स्वास्थ्य

शिक्षा र स्वास्थ्यमा झन्डै दुई खर्ब बजेट

शिक्षा र स्वास्थ्यमा झन्डै दुई खर्ब बजेट

काठमाडौं  । शिक्षा एवं स्वास्थ्य क्षेत्रमा सरकारले झन्डै दुई खर्ब बजेट विनियोजन गरेको छ । शिक्षा र स्वास्थ्य क्षेत्रलाई सरकारले ‘समाजवाद यात्रातर्फको प्रस्थानबिन्दु हुने’ भनेको छ ।अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७५-७६ को बजेट प्रस्तुत गर्दै शिक्षामा एक खर्ब ३४ अर्ब र स्वास्थ्य क्षेत्रमा स्वास्थ्य क्षेत्रमा ५६ अर्ब ४१ करोड ९७ लाख बजेट विनियोजन गरिएको जानकारी दिए ।

 

दुई वर्षभित्र साक्षर नेपाल घोषणा गर्ने र स्वास्थ्यसेवालाई सर्वसुलभ एवं गुणस्तरीय बनाउनेलगायत लोकप्रिय कार्यक्रम अघि सारिएको छ । शिक्षा सेवा शुल्क र स्वास्थ्य सेवा कर खारेज गरिएको छ । त्यस्तै, मदिरा, चुरोेट, सुर्तीजन्य पदार्थजस्ता स्वास्थ्यका लागि हानिकारक वस्तुमा अन्तःशुल्क वृद्धि गरिएको छ ।

 

२० प्रतिशत शिक्षामा लगानी गर्ने प्रतिबद्धता व्यक्त गरे पनि बजेटमार्फत शिक्षामा गरिएको लगानी हेर्दा आफू धेरै आशावादी नभएको शिक्षाविद् प्राडा. विद्यानाथ कोइरालाले बताए ।

 

सरकारले प्रदेश र स्थानीय तहको सहकार्यमा आगामी दुई वर्षभित्रमा साक्षर नेपाल घोषणा गरिने जनाएको छ । ‘बालबालिकालाई विद्यालय ल्याऔं, टिकाऔं र सिकाऔं’ अभियान सञ्चालन गर्ने भएको छ । शिक्षामा पहुँच सुनिश्चित गर्न आगामी वर्ष नै विद्यालय जाने उमेरका सबै बालबालिकालाई विद्यालयमा भर्ना गराइने भएको छ । माध्यमिक तहसम्मको शिक्षालाई क्रमशः निःशुल्क र अनिवार्य गराइनेछ । विकास सूचकांकमा पछि परेका सामुदायिक विद्यालयमा पाँच कक्षासम्म अध्ययनरत सबै विद्यार्थीलाई स्थानीय उत्पादनमा आधारित दिवा खाजा उपलब्ध गराइनेछ ।

शिक्षा एवं स्वास्थ्य बजेट विनियोजन

विशेष