राजसंस्था फर्काउन दोस्रो चरणको अभियान थाल्ने तयारी
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ ४ गते एक कार्यक्रममा बोल्दै पूर्वराजा ज्ञानेन्द्र शाहलाई दर्शनका नाममा मठमन्दिर धाएर तमासा नदेखाउन चेतावनी दिए । धेरैले सोचे –केपी ओलीको कडा प्रहार जोमाथि पनि हुन सक्छ । तर कुरा यस्तो थिएन ।
पछिल्लो समय पूर्वराजा जहाँजहाँ पुगेका छन्, उनको पक्षमा हजारौं मानिसहरुको घुइँचो बढ्दै गएको छ । यो लहरलाई वर्तमान शासकको असन्तुष्टिका रुपमा र पूर्वराजाप्रतिकै सहानुभूतिका रुपमा जनताले लिन थालेको हो कि भन्ने शंका उत्पन्न भइसकेको छ ।
राजनीतिक विश्लेषक प्राध्यापक सुरेन्द्र केसी भन्छन्, ‘पूर्वराजा लोकप्रिय हुन थालेको हो कि जस्तो देखिन्छ । राष्ट्रपतिको भ्रमणमा चरोमुसो कोही हुँदैन । पूर्वराजाको पक्षमा हजारौं सहभागी हुन थालेका छन् । त्यही देखेर केपी ओलीले बोलेका हुन् कि भन्ने लाग्छ ।’
यसबीच हालसालै पूर्वराजा ज्ञानेन्द्र शाहले पूर्वपञ्चहरुको समूहलाई नै भेट दिएको चर्चा बजारमा छ । राजा र धर्मको नाममा राजनीति गरेर मोजमस्तीमा मात्रै समय गुजारेका कमल थापालाई समेत पूर्वराजाले ‘एक्सक्यूज’ गरिदिएका छन् । थापाले राजसंस्था र हिन्दुत्वको मुद्धा इमानका साथ उठाउने वचन पूर्वराजालाई दिएको बुझिएको छ ।
स्रोतका अनुसार पूर्वराजा शाहले मुलुकले ११ औं गणतन्त्र दिवसको मनाउनु भन्दा ठीक केही दिनअगाडि लोकेन्द्रबहादुर चन्द, प्रकाशचन्द्र लोहनी, पशुपतिशमशेर राणालाई संयुक्त रुपमा भेट दिएका थिए ।
पूर्वराजा स्वयंले प्रत्यक्षमा केही नगर्ने तर राजनीतिक मोर्चा बलियो बनाएर मूभमेन्टअगाडि बढाउने नीति लिएका छन् । कमल थापाले धोका नै दिएको भए पनि राजसंस्थाको मामिला बलियोगरी उठाउन सक्ने अर्को उपुयुक्त पात्र पूर्वराजाले भेटेका छ्रैनन् । अन्तर्राष्ट्रिय लबिङका लागि सहयोगी संस्था विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रियलाई पनि उनले परिचालन गरेका छन् । महासंघकी महासचिव अस्मिता भण्डारीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई वैशाख २८ गते जनकपुरमा भेटेकी थिइन् ।
सो भेटमा नेपाललाई हिन्दुराष्ट्र बनाउन सहयोग गर्नुपर्यो भन्दै मोदीसँग भण्डारीले कुरा गरेको उनैले खुलासा गरेकी थिइन् । अन्तर्राष्ट्रिय लविङका लागि पूर्वराजाले यतातिरबाट कुरा अगाडि बढाएका छन् भने युवा परिचालनका लागि शिव सेना नेपाललाई अगाडि सार्ने तयारी थालेका छन् ।
नेपालमा शिव सेना पनि तीन खाले छन् । राजसंस्था र हिन्दुत्वको मुद्दा बोक्ने भनेको अनिल बस्नेत बाबा नेतृत्वको शिव सेनाले हो । यो राजनीतिक दल पनि हो । पूर्वयुवराज पारससँग बढी निकट मानिएको शिव सेनाका अध्यक्ष नै युवा, त्यसमाथि सो पार्टीमा अधिकांश युवा रहेकोले त्यसतर्फको जिम्मेवारी यहि पार्टीले पाउने चर्चा छ ।
हिन्दुत्व र राजसंस्था पुनस्र्थापनाको अभियानले दोस्रो संविधानसभा निर्वाचनसम्म राम्रै संकेत देखाएको थियो । पछिल्ला निर्वाचनहरुमा यो मुद्दा बोकेर हिँडनेहरु पराजित भए । यसो हुनुमा मुद्दा बोक्नेहरुको लोभलालच बढी जिम्मेवार भयो भन्ने पूर्वराजाको कोर टिमको बुझाई छ ।
यो मुद्दा बोकेर हिँड्नहरु अहिले पनि इमानका साथ लागि पर्ने हो भने जनताले फेरि एक पटक पत्याउने सम्भावना देखेर ‘हिन्दुत्व र राजसंस्था ’ पुनस्र्थापनाको अभियान दोस्रो चरणमा प्रवेश हुने निश्चत जस्तै भएको चर्चा छ ।