च्याम्पियन्स लिग : रोमासँग हारे पनि लिभरपुल पुग्यो फाइनल
काठमाडाैं । इन्ग्लिश क्लब लिभरपुल च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा इटालियन क्लब रोमासँग ४ – २ गोलले पराजित भएपनि समग्रमा ७ – ६ को जित निकाल्दै लिभरपुल उपाधि नजिक पुगेको हो ।
रोमाको घरेलु मैदानमा भएको दोस्रो लेगमा सुरुवाती अग्रता लिएपनि लिभरपुल पराजित भएको थियो । तर, लिभरपुललाई घरेलु मैदानमा भएको पहिलो लेगमा निकालेको फराकिलो जित नै फाइनलमा पुग्न प्रयाप्त रह्यो । लिभरपुलले पहिलो लेगमा रोमालाई ५ – २ गोल अन्तरले हराएको थियो ।
घरेलु मैदानमा रोमालाई जित दिलाउन राड्जा निंगोलनले दुई गोल गर्दा इडेन डेज्कोले एक गोल गरे । रोमाले एक गोल आत्मघाती उपहार पाएको थियो । लिभरपुलका जेम्स मिल्नरले आत्मघाती गोल गर्दा साडियो माने र जर्जि्नियो विज्नाल्डमले एक एक गोल फर्काए ।
रोमस्थित ओलम्पिक स्टेडियममा मानेले खेलको नवौं मिनेटमा गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको १५ औं मिनेटमा लिभरपुलका मिल्नरले आत्मघाती गोल गर्दा खेल १ – १ को बराबरीमा पुग्यो । खेलको २५ औं मिनेटमा विज्नाल्डमले गोल गर्दै पहिलो हाफमा लिभरपुललाई २ – १ को अग्रता दिलाए ।
दोस्रो हाफमा भने रोमा खेलमा फर्कियो । खेलको ५२ औं मिनेटमा डेज्कोले गोल गर्दै खेल २ – २ को बराबरीमा ल्याए । खेलको ८६ औं मिनेटमा निंगोलनले गोल गर्दै रोमालाई ३ – २ को अग्रता दिलाए । त्यसपछि खेलको इन्जुरी समयमा निंगोलनले पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गर्दै रोमालाई ४ – २ को जित दिलाए । तर, पहिलो लेगमा फराकिलो हार बेहोरेको रोमालाई फाइनलमा पुग्न यो जित पर्याप्त रहेन ।
रोमालाई समग्रमा हराएसँगै लिभरपुल ११ बर्षपछि च्याम्पियन्स लिगको फाइनलमा पुगेको हो । लिभरपुलले पछिल्लो समय सन् २००७ को सिजनमा फाइनल खेलेको थियो । फाइनलमा लिभरपुल इटालियन क्लब इन्टर मिलानसँग पराजित भएको थियो ।
अब लिभरपुलले फाइनलमा साबिकको विजेता रियल मड्रिडसँग खेल्ने छ । स्पेनिस जाइन्ट रियल जर्मन क्लब वायर्न म्युनिखलाई हराउदै फाइनलमा पुगिसकेको छ । लिभरपुल र रियलबिचको फाइनल खेल मे २६ मा युक्रेनको किभमा हुनेछ ।
यो फाइनललाई सन् १९८१ को फाइनलसँग समेत तुलना गर्न थालिएको छ । उक्त सिजन लिभरपुलले फाइनलमा रियललाई १ – ० ले हराएर उपाधि उचालेको थियो । रियलले अहिलेसम्म १२ पटक च्याम्पियन्स लिगको उपाधि जितेको छ भने लिभरपुलले ५ पटक जितेको छ ।
च्याम्पियन्स लिग लिभरपुल