अपराध सुरक्षा मुख्य समाचार

३३ किलो सुनकाण्ड: १५३ पृष्ठ लामो अभियोगपत्र अदालतमा दर्ता, अभियुक्तको बयान न्यायाधीश शर्माको इजलासमा

३३ किलो सुनकाण्ड: १५३ पृष्ठ लामो अभियोगपत्र अदालतमा दर्ता, अभियुक्तको बयान न्यायाधीश शर्माको इजलासमा

जिल्ला अदालत मोरङले  आज सुनकाण्डका अभियुक्तको बयान लिँदै छ। बिहीबारदेखि जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले उनीहरुको बयान लिने स्रेस्तेदार नवराज दुलाले सेतोपाटीलाई जानकारी दिए।

 

‘सुनकाण्डका प्रतिवादी ल्याउने वित्तिकै बयान सुरु हुन्छ,’ उनले भने।

 

बुधवार जिल्ला सरकारी वकिल कार्यालय मोरङले सुन तस्करीमा संलग्न भएको भन्दै नेपाल प्रहरीका ९ अधिकारी र तस्करको समूह गरि ६३ जना विरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो।

 

तस्करीको ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणको छानबिन गर्न बनेको समितिले २०७० सालयता चुणामणी उप्रेतीको समूहले  झन्डै ३८ क्विन्टल (३७ लाख ९९ हजार ५ सय ५९ ग्राम)  सुन तस्करीमार्फत नेपाल भित्रिएको निष्कर्ष निकालेको थियो।

 

यही निष्कर्षका आधारमा जिल्ला सरकारी वकिलको कार्यालले ९ प्रहरी सहित ६३ जनाविरुद्ध अभियोगपत्र दायर गरेको हो।  उनीहरुसँग १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४१३ रुपैयाँ ९० पैसाको बिगो माग गरिएको छ।

 

जिल्ला  सरकारी वकिलको  कार्यालयले बुधबार जिल्ला अदालत मोरङमा दायर गरेको मुद्दाको अभियोगपत्रमा चुडामणि उप्रेती ‘गोरे’ को समूहले मात्र यो झण्डै ३८ क्विण्टल सुन तस्करी गरेको उल्लेख छ।

 

पक्राउ परेकाबाट बरामद् भएका कागजात र फरार अभियुक्तहरूबीच भएको आर्थिक कारोबारका आधारमा समितिले यो परिमाणको सुन तस्करी भएको निष्कर्ष निकालेको हो।

 

समितिको अनुसन्धानलाई आधार बनाएर सरकारी वकिलको कार्यालयले १५३ पृष्ठ लामो अभियोगपत्र अदालतमा दर्ता गरेको हो।

 

अभियोगपत्रमा प्रतिवादी ‘गोरे’ भन्ने चुडामणि उप्रेतीले आफैं र आपराधिक समूहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा गार्ड कार्यालयमा तत्कालीन समयमा कार्यरत प्रहरी नायब महानिरीक्षक गोविन्दप्रसाद निरौला, प्रहरी वरिष्ठ उपरीक्षक श्यामबहादुर खत्री, प्रहरी उपरीक्षक विकासराज खनाल, प्रहरी नायब उपरीक्षक सञ्जय राउत समेतलाई आर्थिक लाभ उपलब्ध गराई सुन चोरी पैठारी गरेको उल्लेख छ।

 

यी प्रहरी अधिकृतले आफ्ना सरकारी कार्यकक्ष, साधन, श्रोत, जनशक्ति र फोर्सको लजिष्टिक्स लगायत ड्राइभर र व्यक्तिगत सुरक्षा गार्डलाई आपराधिक समूहको गतिविधिमा उपयोग गर्न दिएको अभियोगपत्रमा छ।

३३ किलो सुनकाण्ड अभियोग

विशेष