समाज

होमले श्रृजना गरेको श्रृजनागृह

समर्पण श्री

होमले श्रृजना गरेको श्रृजनागृह

मानिसहरू सपना देख्न रुचाउँछन् । किनकी सपनाले मानिसलाई आनन्दित बनाउँछ ।  तर केही मानिसहरू भने सपना देख्न मात्र हैन देखेको सपना साकार  गर्न पनि चाहन्छन् । यसको लागि दृढ संकल्प चाहिन्छ, योजना चाहिन्छ र दह्रो आत्मविश्वास चाहिन्छ ।


कुनैवेला यस्तै एउटा संकल्प गरेका थिए कवि होम परिबागले आफ्नो देशमा सृजनागृह निर्माण गर्ने । यो संकल्प गर्दा उनी बेलायतको क्यामब्रिज सहरमा थिए । उनी बेलायत बस्दा उनको संगत बेलायती साहित्यकारहरूसँग हुन्थ्यो । साहित्यक अध्ययनमा खुबै रुची राख्ने हुनाले साहित्यिक गतिबिधि र लेखनमा सक्रिय भएर लाग्थे । यसैक्रममा उनी एकपटक आफ्ना बेलायती साहित्यिक मित्रहरुसँग क्यामब्रिज सहर पुगे । त्यहाँ पुग्दा उनको मन एकाएक लोभियो । त्यहाँको वातावरणले उनलाई निकै आह्लाद बनायो । त्यहाँ एउटा होमिस्टे थियो । जहाँ स्वदेश तथा विदेशका सृजनशिल व्यक्तिहरु एउटै घरमा बस्ने गर्दथे र विभिन्न सृजनात्मक कार्यमा तल्लीन रहन्थे । त्यहाँ उनीहरु केहीदिनको छुटृी मनाउन एवं आफ्नो मनलाई भुलाउन आइपुग्थे । कवि/लेखकहरूविच साहित्य र सिर्जनाबारे बहस हुन्थ्यो । त्यो ठाउँ जहाँ सिर्जलशिल व्यक्तिहरु बसेर कला/सिर्जनामा ठुलो योगदान पु¥याउन सक्थे । त्यहाँको माहोलमा भिजेपछि त्यतिनै वेला उनले एउटा सपना देखे र प्रण गरे ‘ म नेपाल गएर सृजनागृहको निर्माण गर्नेछु ।’ त्यसलगत्तै उनी नेपाल फर्किए लगत्तै आफ्नो ध्यान सृजनागृह निर्माणको लागि खिचे । 

 

हुन त २०७२ सालको भूकम्प जानुअघिदेखि नै उनले काम सुरु गरिसकेका थिए । तर भूकम्पले गर्दा काममा ठुलो बाधा पुर्यायाे । भूकम्पले देशभरमा थुप्रै संरचनाहरू ध्वस्त बनाएको थियो ।  तरपनि उनी विचलित भएनन् । फेरी भारतले नाकाबन्दी लगायो । हरेक सामानहरूको मूल्यवृद्धी भयो । जसले गर्दा काममा निकै ढिलासुस्ती हुन गयो । तर उनको सपनाले संकल्प गरिसकेको थियो । काममा धेरै अफ्ठेराहरू आए । ‘सोचेजस्तो गर्न कहाँ पो सजिलो हुन्छ र र ?’ कुरा गर्दै जाँदा चियाको सुर्कोसँगै उनी थप्छन् ‘ यदि गर्न सक्दिन भनेर त्यति नै वेला छाडिदिएको भए आज लेखकहरूको जमघट यहाँ कसरी हुन्थ्यो र !’ 

 

उनले विदेशी कलालाई पनि प्रयोग गरे । तर नेपालीपनलाई भने मर्न दिएनन् । स्थानिय स्रोतहरूलाईपनि भरपुर प्रयोग गरे । ठुलो संघर्ष, मेहेनत र प्रयासस्वरुप उनले सृजनागृहको निर्माण गरे । जसलाई ‘द ब्रिट’ भनी औपाचारीक नामाकरण गरेका छन् । ‘द ब्रिट’ अर्थात सृजनागृह ललितपुरको गोदावरी स्थित पर्दछ । उसो त गोदावरीको पनि छुटृै विशेषता छ । त्यहाँ हरेक दिन पर्यटकहरूको आगमन हुने गर्छ । पर्यटकिय गन्तब्यको रुपमा चिनिएको गोदाबरीमा वनस्पती उद्यम र वैज्ञानिक प्रयोगशालाहरू छन् । सृजनागृहबाट केही मिनेटको दुरीमा नै गोदाबरी पुग्न सकिन्छ । 

 

आजभोली हरेक दिन स्वदेशी तथा विदेशी लेखकहरु उक्त सृजनागृह आउने गर्छन् र सृजनामा तल्लीन हुने गर्छन् । अध्ययनको लागि निकै अनुकुल वातावरण हुने हुने हुनाले अध्ययन गर्न आउनेहरूको रुची बढ्दो छ । घरमा भित्ताहरू कलाहरूले सजिएका छन् । नियमित ध्यान र योगा गर्नको लागि छुटृै कोठाको व्यवश्था गरिएको छ । चार तल्लाको यस होमस्टेमा कूल २५ जनासम्म पाहुनाहरू बस्न सक्ने क्षमता छ । हरेका कोठामा लेख्नका लागि टेबलको सुविधा रहेको छ। साथै सजिलोको लागि बेडस्वीचदेखि टेबल ल्याम्पसम्मको व्यवस्था गरिएको छ।अन्तराष्ट्रिय स्तरको शौचालय तथा किचेन राखिएको छ। स्थानिय स्रोतसाधनबाटै उत्पादन गर्ने गरी बेकरी पनि खोलिएको छ। कोठाभित्रबाटै बरण्डामा जान पनि  मिल्छ, जहाँ गएर अतिथिहरू वरीपरीको सेरोफेरो नियाल्न सक्छन् र बाहिरी वातावरणसँग वातचित गर्न सक्छन् । 

 

गोदाबरी  नगरपालिकास्थित टौखेल चोकको दायाँपटृी रहेको उक्त ‘सृजनागृह’ को उद्घाटन भने फागुन २६ गते  वरिष्ठ कवि तुलसी दिवस तथा गोदावरी नगरपालिकाकी उपमेयरद्वारा औपचारिक उद्घाटन भयो । निकै शुलभ मूल्यमा धेरै सुविधा प्राप्त गर्न सकिने यस गृह व्यापारीक लाभको लागि नभई सेवाभावले खोलिएको सञ्चालक परिबाग बताउँछन् । यहाँबाट आकाश खुलेको वेला सात वटा हिमाल देखिन सक्ने उनको ठहर छ । त्यससँगै पूर्वपट्टी ब्रजवाराही छ भने पश्चिममा सन्तानेश्वर पनि हामीले देख्न सक्छौँ । यतिमात्र नभई विभिन्न शहर र गाउँहरुको पनि अवलोकन गर्न सकिने हुनाले ज्ञान, सिर्जना र मनोरञ्जनको लागि निकै अनुकुल स्थान भएको कवि लेखकहरूको पनि भनाई छ । 

 

परिबाग यतिमै आफु सन्तुष्टी नहुने बताउँछन् । अझै नयाँपन, अझै विशेष विश्वस्तरको बनाउने उनको सपना भने संकल्पसँग दौडिरहेछ । कुराकानीको अन्तिममा उनी भन्छन् “ सपना देख्दा जति आनन्द आउँछ, त्यसलाई पुरा गर्ने हो भने कयौँ गुणा बढी आनन्द पनि मिल्छ ।”

 

होम परिबाग श्रृजनागृह

विशेष