गाडीहरु ग्यारेजमा थन्काएर भाेली दिनभर अान्दाेलन चर्काउने यातायात समितिहरुकाे चेतावनी

काठमाडौं । सरकारले लगाएकाे सिन्डिकेट तथा यातायात समितिहरु खारेज गर्ने लगायतको निर्णय विरुद्ध आन्दोलनमा उत्रिएका यातायात व्यवसायीहरुले शुक्रबार सार्वजनिक यातायात ठप्प बनाउने घाेषणा गरेका छन्।
शुक्रबार यातायात समितिहरुले गाडीहरु यथास्थानमा थन्काएर सरकारलाई दबाब दिन लागेकाे बताएका छन्। तर, आधाजसो व्यवसायीहरु सवारी चलाउने नै पक्षमा रहेको स्रोत बताउँछ। सिन्डिकेटको विपक्षमा रहेका यातायात व्यवसायीहरुले गाडी चलाउने निर्णय गरेका छन्। यातायात व्यवस्था विभागका एक अधिकारीका अनुसार आधाजसो व्यवसायीहरु गाडी चलाउने पक्षमा छन्।
गत साता मात्र मन्त्रिपरिषद्को बैठकले यातायात क्षेत्रको हडताललाई निषेध गरेको थियो। सरकारले व्यवसायीहरुसँग वार्ताको पहल गरे पनि वार्ता हुन सकेको छैन। अनौपचारिक रुपमा भने कुराकानी भइरहेको यातायात व्यवस्था विभागका अधिकारीहरु बताउँछन्।
रुट परमिटका लागि कम्पनी दर्ता अनिवार्य गर्दै देशभरका सडकमा रुट परमिट खुला गरेपछि सिन्डिकेट पक्षधर व्यवसायीहरु आन्दोलनमा उत्रिएका हुन्। आफूहरुको आन्दोलन जारी रहेको र शुक्रबार गाडीहरु ग्यारेजमा थन्काइने नेपाल यायायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यले बताए।
गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदी भने सार्वजनिक यातायातमा अवरोध गर्नेहरुलाई कारबाही गरिने बताउँछन्। यातायात व्यवसायीहरुले २७ गतेदेखि सार्वजनिक सवारीसाधन नचलाउने निर्णय गरेका छन्।
सिन्डिकेट यातायात समिति