अर्थ मुख्य समाचार

१७ अर्बको सुन तस्करीमा प्रहरीको भाग दुई करोड २० लाख

१७ अर्बको सुन तस्करीमा प्रहरीको भाग दुई करोड २० लाख

काठमाडौं । मुलुकको एक मात्रै अन्तर्राष्ट्रिय विमानस्थलबाट एउटै गिरोहले पाँच वर्षभित्र तीन हजार ७९९ किलोभन्दा बढी सुन तस्करी गरेको रहस्योद्घाटन भएको छ। 

 

३३ किलो सुन गायब र सनम शाक्य हत्याप्रकरणको छानबिन गर्न गठित समितिले विमानस्थलबाट हुने सुन तस्करीको जालोबारे सोधखोज गर्दा पाँच वर्षमा १७ अर्ब एक करोड ८० लाख ७१ हजार ४३१ रुपैयाँको सुन अवैध रूपमा ओसारपसार भएको हो। 

 

प्राप्त जानकारीअनुसार सरकारी वकिल हार्यालयले जिल्ला अदालत मोरङलाई बुझाएको अभियोगपत्रमा सुनका मलिक गोरे मनिने चूडामणि उप्रेती र उनका सहयोगीले पाँच वर्षमा ४२१ पटक सुन तस्करी गरेको उल्लेख छ। 

 

आरोपपत्रअनुसार पाँच वार्षमा तीन हजार ७९९ किलो ५९ ग्राम सुन (नेपाली मूल्यअनुसार १७ अर्ब एक करोड ८० लाख ७१ हजार ४३१ रुपैयाँ) तस्करीका लागि त्रिभुवन विमानस्थल प्रयोग भएको छ। 


गोरेको नेतृत्वमा प्रहरीका पूर्वडीआईजी गोविन्द निरौला, एसएसपी श्याम खत्री, एसपी विकास खनाल, डीएसपी सञ्जय राउत, प्रहरी जवान विष्णुबहादुर खड्का, होटल व्यवसायी भुजुङ गुरुङ, टेकराज मल्ल, मोहन काफ्ले, मोहम्मद उस्तम मियाँ, लाक्पा शेर्पा, छिरिङ वाङ्गेल घले, कपिलराज पुरी लगायत ६० जनाले तस्करी सफल बनाएका थिए। 

 

गोरेले सुन पास गराउन प्रहरी अधिकारीहरुलाई दुई करोड २० लाख ७७ हजार बाँडेको तथ्य फेलापरेको छ। गोरेले हिसाब गरेको रेकर्ड फाईलमा हाल थुनामा रहेका पूर्व डीआइजी निरौलालाई १७ लाख, एसएसपी खत्रीलाई एक करोड १२ लाख ९२ हजार, एसपी खनाललाई पाँच लाख, डिएसपी राउतलाई १५ लाख, जवान खड्कालाई १९ लाख र अन्य प्रहरी कर्मचारीलाई ६४ लाख ७० हजार बाँडेको उल्लेख छ । याे खबर अाजकाे अन्नपूर्ण पोस्टमा छ ।
 

३३ किलो सुन प्रकरण प्रहरीको भाग दुई करोड २० लाख

विशेष