देश

नयाँ बसपार्कबाट समिति र संघका काउन्टर हटाउन र कम्पनी राख्न सरकारकाे निर्देशन

नयाँ बसपार्कबाट समिति र संघका काउन्टर हटाउन र कम्पनी राख्न सरकारकाे निर्देशन

काठमाडौँ । सरकारले राजधानीको गोंगबुमा रहेकाे नयाँ बसपार्कमा रहेका सबै यातायात समिति र संघका काउन्टर हटाउने निर्णय गरेको छ। 

 

यातायात व्यवस्था विभागका अनुसार समिति र संघका सबै काउन्टर र त्यहाँ राखिएका बोर्ड हटाएर विभिन्न यातायात कम्पनीहरुका बोर्ड राख्न निर्देशन दिएकाे हाे । 

 

अत्यावश्यक सेवा ऐन २०१४ अनुसार नयाँ बसपार्कबाट समिति र संघका बोर्ड हटाउने सरकारले कसरत थालेकाे हाे । विभिन्न समिति र सं‌घको नाममा नयाँ बसपार्कबाट यात्रा गर्ने यात्रुले दैनिक ठगिनु परेको र टिकटमा हुने दलाली र बिचौलियाका कारण यात्रुले समस्या बेहोर्नुपरेकाे भन्दै सरकारले यस्तो कदम चलाएकाे यातायात व्यवस्था विभागका प्रवक्ता तुलसी अर्यालले बताए  ।


'मन्त्रालयको निर्णयानुसार विभागले बसपार्क व्यवस्थापन हेरिरहेको ल्होत्से बहुउद्देश्यीय प्रालिलाई समिति र संघका सबै बोर्ड खाली गर्न निर्देशन दिइसकेका छौँ', अर्यालले भने, 'खाली गरिएका काउन्टरमा विभिन्न कम्पनीहरुका बोर्ड राख्न पनि भनिसकेका छौँ ।'

 

गाडी ग्यारेजमा थन्काएर सरकारकाे नियमलाई असहयोग गर्ने २६ वटा माइक्रोको रुट इजाजत पनि खारेज गरिएको छ । न्त्रालयको निर्णयपछि विभागले नयाँ बसपार्कमा अब कम्पनीहरुका मात्रै बोर्ड राख्न पनि ल्होत्से प्रालिलाई निर्देशन दिएको छ । अर्यालले ल्होत्सेले काउन्टर हटाउन सुरक्षा मागेपछि त्यहाँस्थित प्रहरीलाई आवश्यक सुरक्षा प्रबन्ध गर्न पनि भनिसकिएको जानकारी दिए । 
 

यातायात व्यवस्था विभाग नयाँ बसपार्क गोंगबु यातायात कम्पनी

विशेष