खेल

एथ्लेटिको मड्रिड युरोपा लिगको फाइनलमा, आर्सनल बाहिरियो

एथ्लेटिको मड्रिड युरोपा लिगको फाइनलमा, आर्सनल बाहिरियो

एजेन्सी । इन्ग्लिश क्लब आर्सनललाई हराउदै स्पेनिस क्लब एथ्लेटिको मड्रिड युरोपा लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । बिहिबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा आर्सनललाई १ – ० गोलले पराजित गर्दै समग्रमा २ – १ को जितसहित एथ्लेटिको फाइनलमा पुगेको हो ।

 

घरेलु मैदानमा भएको दोस्रो लेगमा एथ्लेटिकोलाई जित दिलाउन डिएगो कोष्टाले निर्णायक गोल गरे । कोष्टाले पहिलो हाफको इन्जुरी समयमा गोल गरेका थिए । उक्त गोल नै एथ्लेटिकोलाई फाइनलमा पुग्न प्रयाप्त रह्यो । यसअघि आर्सनलको मैदानमा भएको दुई टोलीबीचको पहिलो लेग खेल १ – १ गोलको बराबरीमा सकिएको थियो ।

 

युरोपा लिगको सेमिफाइनलबाट बाहिरिएसँगै प्रशिक्षक आर्सेन वेंगर उपाधि बिहिन हुँदै आर्सनलबाट बाहिरिने भएका छन् । प्रशिक्षक वेंगरले सिजनको अन्त्यसँगै आर्सनलबाट विदा लिने घोषणा गरिसकेका छन् । आर्सनलमा २२ बर्ष बिताएका वेंगरले क्लबलाई एक पटक पनि युरोपियन उपाधि दिलाउन सकेनन् ।

 

 
अब उपाधिको लागि एथ्लेटिकोले फ्रेन्च क्लब मार्सेलीसँग खेल्ने छ । मार्सेलीले अष्ट्रियाको रेडबुल साल्जवर्गलाई समग्रमा ३ – २ गोल अन्तरले हराएर फाइनलमा स्थान बनाएको हो ।

 

बिहिबार राति नै भएको सेमिफाइनलको दोस्रो लेगमा  १० खेलाडीमा सिमित साल्जवर्गसँग २ – १ ले पराजित भएपनि पहिलो लेगको जितले मार्सेली फाइनलमा पुगेको हो ।  पहिलो लेगमा मार्सेलीले ३ – ० को जित निकालेको थियो । फाइनल खेल मे १६ मा लियोनमा हुनेछ ।

युरोपा लिग एथ्लेटिको मड्रिड आर्सनल

विशेष