अपराध सुरक्षा देश

विदेशीलाई ४२ थान बहुमुल्य मूर्ति बेच्ने तीन जना पक्राउ

विदेशीलाई ४२ थान बहुमुल्य मूर्ति बेच्ने तीन जना पक्राउ

काठमाडौँं । पुरातात्विक महत्वका विभिन्न धातुका मूर्तिलगायत बहुमूल्य वस्तुसहित तीन जनालाई प्रहरीले पक्राउ गरेकाे छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले काठमाडौँका विभिन्न क्यूरियो पसलबाट बहुमूल्य धातुका मूर्ति विदेशी नागरिकलाई बेच्दै गर्दा शुक्रबार तीनजना पक्राउ परेका हुन् ।

 

उनीहरुले ती मूर्ति चोरेका हुन् वा अरुबाट किनेका हुन् भन्ने अनुसन्धान भैरहेको ब्यूरोका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक पुस्कर कार्कीले बताए । क्यूरियो आर्ट दरबारमार्गका सञ्चालक दीपकरत्न शाक्य, क्यूरियो कर्सर्न दरबारमार्गका सञ्चालक सुगतरत्न शाक्य र देवाज आर्ट दरबारमार्गका सञ्चालक शिशिर शाक्यलाई आइतबार प्रहरीले सार्वजनिक गरेको हो ।

 

पक्राउ परेकासँग ब्यूरोले बुद्ध र अन्य मूर्ति २४ थान, विभिन्न धातुबाट बनेका प्रतीमाका पाता १८ थान र पुराना प्वाल पारेका सिक्का १०१ थान बरामद गरेको छ । ब्यूरोले पत्रकार सम्मेलन गरी पुरातत्व विभागमा दर्ता नगरी आफूखुशी मनपरी रकममा मूर्ति बेचेको विशेष सूचनाका आधारमा पक्राउ गरिएको जानकारी दिएको छ ।

 

सिआइबी प्रमुख कार्कीले १२ र १३ औँ शताब्दीको मूर्ति भन्दै करोडौँ रुपैयाँमा बेचेको थाहा पाएपछि उनीहरुलाई नियन्त्रणमा लिइएको जानकारी दिए । जति धेरै पुरानो भयो त्यति नै धेरै मूल्य लिने गरेको प्रहरीले जनाएको छ ।

 

पक्राउ परेका व्यक्तिले ७० वर्षअघिदेखि मूर्ति अमेरिकाको रुविन्स म्यूजियमसम्म बिक्रीवितरण गर्दै आएको अनुसन्धानमा खुलेको कार्कीले बताए । नेपालबाट पुरातात्विक मूर्ति खरिद गरी विदेश लैजाने गिरोहको समेत अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।

 

यसैगरी महानगरीय प्रहरी प्रभाग नागढुंगाले चार किलो तौलको पुरानो बुद्धको मूर्तिसहित एक जनालाई पक्राउ गरेको छ । प्रभागको टोलीले आइतबार बा ६० प ३९०६ नं को स्कुटर चेकजाँच गर्दा झोलामा लुकाएर ल्याएको बुद्धको मूर्तिसहित २४ वर्षीय सञ्जय बानियाँलाई पक्राउ गरेको होे ।

पक्राउ मूर्ति बेच्ने

विशेष