गाउँपालिका उपाध्यक्षले नै भारतीय लुटेरासँग मिलेर प्रहरी कार्यालय तोडफोड गरेपछि........
पर्सा । जिराभवानी गाउँपालिकाका उपाध्यक्ष उषा चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । चौधरीकै निर्देशनमा आइतबार इलाका प्रहरी कार्यालय सेढवामा स्थानीयबासी र प्रहरीबीच झडप भएको पाइएपछि पक्राउ गरि जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याइएको प्रहरीले जनाएको छ ।
नेपाल आएर जाँडरक्सी खाई एउटै मोटरसाइकलमा भारत जान लागेका चार जनालाई पक्राउ गर्ने क्रममा उनीहरुले प्रहरी हवल्दार बीरबहादुर गुरुङलार्ई भारततर्फ लगेका थिए ।
अपहरणको शैलीमा प्रहरी हवलदारलाई भारत लैजादै गरेका बेला उनीहरुलाई एसएसबीको टोलीले पक्राउ गरी नेपाल प्रहरीलाई बुझाएको थियो ।
पक्राउपर्ने भारतीयमा बिहार बेतिया जिल्लाको भंगाहा थाना अन्तर्गत पर्ने शिसवा निवासी बजरंगी गौरो, रामप्रवेश गौरो, विष्णुभर गौरो र दिनदयाल महतो रहेको प्रहरीले जनाएको छ ।
तिनै भारतीयलाई छुटाउन स्थानीयबासीले आइतबार प्रहरी कार्यालय घेराउ गर्दा प्रहरीसँग झडप भएको थियो । उनीहरुलाई इलाका प्रहरी कार्यालय सेढवामा ल्याएपछि स्थानीयबासीले प्रहरीले फसाउन खोजेको भन्दै प्रहरीविरुद्ध राति आठ बजेदेखि नाराबाजी गरेका थिए ।
उनीहरुले बा २ ब ५७०५ तथा ना १४ प ४५७७ नम्बरको सरकारी मोटरसाइकल जलाएका छन् । स्थानीयबासीले तोडफोड र आगजनी गरेपछि प्रहरीले १२ राउण्ड हवाई फायर गर्नुपरेको प्रहरी नायब उपरिक्षक राजन लिम्बुले जानकारी दिए ।