विचार

भाग्यले हैन, नेताले ठगेको देश हो नेपाल

जहाँ राष्ट्रपति, मुख्यसचिव देखि चौकीका हवल्दारसम्म गफ चुटेरै दिन बिताइदिन्छन्

भाग्यले हैन, नेताले ठगेको देश हो नेपाल

संकेत कोइराला

 

हिउँजस्तै बकुल्लो देखेपछि एउटा कालो कागलाई खपिनसक्नु पीडा भएछ । उसले बकुल्लालाई भेटेर सुन्दर भएकोमा बधाई दिँदै अाफू कालो र कुरुप हुनुको दर्द पोखेछ । कागको कुरा सुनेर बकुल्लाले गुनासो गर्दै भनेछ ‘मयूर नदेखेसम्म त मलाई मेरो सौन्दर्यमा घमण्ड थियो । तर जब उसलाई भेटें, त्यसपछि भने मभित्रको त्यो दम्भ चकनाचूर भयो ।’ 

 

उसले चिडियाघरमा मयूरसँग कागको भेट गराइदिएछ । नौ रंगमा सजिएको मयूर आफ्नो पखेटा फिँजाएर नाच्दा संसारको सौन्दर्य पृथ्वीमा पोखिएजस्तो भान पथ्र्यो । मयूरको अद्भूत लीलाबाट तरंगित कागलाई उभित्रका सुन्दर जीवन भोगाईका अनुभव सुन्ने लोभ जाग्यो । आनन्दका कति अनुभूति होलान भनेर प्रशंसाको पुल बाँध्यो । कागको बखान सुनेर मयूर खुसी हुनु सट्टा स्तब्ध भएर बर्बर आँसु झार्दै भन्छ ‘तिमीले बाहिरबाट हेर्दा जति मलाई सुन्दर देख्छौ, मभित्र छट्पटीका थुप्रै बेदना छन् । तिमी देख्दा कालो भए पनि स्वतन्त्र छौ । म सुन्दर भएकै कारण जिन्दगीभर कैदी जीवन बाँच्न बाध्य छु । मेरो दैनिकी अरुको खटनपटनमा बित्छ । दिए खान पाउँछु , नदिए भोकै बस्नुपर्छ । अरुका लागि खुसी भएको नाटक गर्नुपर्छ । यस्तो नारकीय जीवनभन्दा तिमीले भोगेको खुल्ला संसार लाखौं गुना अब्बल छ । त्यसैले आपूmले पाएको जीवनप्रति गर्व गर । अरुसँग आपूmलाई तुलना नगर । तिमीभन्दा सुखी मैले संसारमा अरु कोही देखेको छैन ।’ मयूरको अनुभव सुनेपछि संसारको सुखी र सुन्दर प्राणी आपैंm रहेको निष्कर्ष निकालेर काग फर्कियो ।

 

संसारमा गफ जोतेर लाउन, खान पुग्ने मुलुक कुन हो ? यदि यो प्रश्न सोधियो भने नर्सरीका बच्चाले पनि एक सेकेन्ड नरोकिई उत्तर दिने छन– नेपाल । विश्वका जुनसुकै मुलुक डुले, घुमे पनि अन्ततः नेपाली त्यो काग हुन, जसले आपूmलाई सुखी र खुसी प्रमाणित गरेरै छोड्छ । हुन पनि संसारमा अरु वनस्पति, जीवजन्तु घटेका घटेकै छन् तर कागको संख्या बढ्दो छ । नेपाली यस्ता भाग्यमानी नागरिक हुन् । जसको पुर्पुरोमा श्री मात्र लेखिएको छ । राष्ट्रपति, प्रधानमन्त्रीदेखि वडा सदस्यसम्मको दैनिकीमा गफ, अर्ती, बुद्धिबाहेक केही छैन ।
 

देश चलाउने मुखियाहरु दैनिक तीनवटा सार्वजनिक कार्यक्रममा सक्रिय सहभागी हुन्छन् । मुख्यसचिव, सचिव, सहसचिवदेखि चौकीको हवल्दारसम्मलाई बैठक गर्न भ्याइनभ्याइ छ । सामाजिक सञ्जालमा देश चलाउनेहरुको भीड थामिनसक्नु छ । देशबाहिर गएका चालीस लाख नेपालीको काम नमागेको अर्ती बुद्धि दिएर देश विकासमा सघाउनु रहेको छ । फेसबुकका भित्ता भित्तामा स्वघोषित नारायणगोपाल, तारादेवी, अरुणा लामा, नीतिको पाठ सिकाउने विदुर, चाणक्य, दानवीर कर्णहरु जन्मिएका छन् । खाडीमा गए पनि घरमा डेढ लाखको आईफोन पठाएका छन् । सन्तान अंग्रेजी फरर्र बोल्ने बोर्डिङमै पढाएका छन् । नेपालमा बस्नेहरु रोजेको भट्टीमा चलेकै ब्रान्डको झोलमा रमाएका छन् ।

 

नेपालीको ज्ञान र चासो कतिसम्म बृहद छ भने डोनाल्ड ट्रम्प, भ्लादिमिर पुटिन र नरेन्द्र मोदीसम्मको चिन्ताले उनीहरु पिरोलिएका छन् । अघिल्ला अमेरिकी राष्ट्रपति बाराक ओबामाकी तरुनी छोरी र श्रीदेवीको अभावमा उनका दुई छोरीको भविष्यलाई लिएर नेपाली युवाभित्र चिन्ताको आयतन बढेको देखिन्छ । नेताहरु आर्थिक समृद्धि सूत्र लिएर माला, खादा, अविर, मायाको चिनो र अभिनन्दनमा रमाइरहेकै छन् । ठूलो मान्छे भएपछि राम्रो देखिनुपर्छ भन्ने मनोविज्ञानले होला, कपडा पसलका थानै रित्याएर सिलाइएका लुगा दिनैपिच्छे फेर्छन् । उत्ताउलिएको मनोविज्ञान र शरीरको बनोटले स्वीकृत नदिएको जबर्जस्त राम्रोबीच तालमेल नखाएको स्पष्ट देखिन्छ । निर्देशन नदिए ओहोदाको मूल्य नहुने भएकाले तेल, रेलसंगै झेल, आदेश र निर्देशन नित्य अनि दिव्य कामभित्र परिहाल्यो । राजनीतिज्ञ अब्बल ठहरिने उसको भिजनले हो । मानिसको सुन्दर कवच मुस्कान हो । अरुलाई उज्यालो छर्ने यात्रामा हिँडेको मानिसका लागि त्यही उज्यालोभित्रको सानो प्रकाश बाँच्नका लागि काफी हुन्छ । नूनको तातो लाग्नुपर्ने देशमा सुनैसुनको समाचारले मिडिया धपक्कै बलेको छ । सत्य, सेवा, सुरक्षणम्को कसम खाने पुलिसका सारथीहरु सुन तस्करीको नाइके प्रमाणित भएका छन् । यी सबै बेथितिका बाबजुद् पनि अधिकांश नेपालीले मीठै खाएका छन् । राम्रै लाएका छन् । विकसित देशका जनताका लागि एकादेशको कथा बन्ने घरजग्गा, जमिन र अलिकति अन्न नेपालीको जन्मसिद्ध अधिकारभित्र पर्ने गरेको छ । भारतभित्र महाभारत छ । 

 

जहाँ लाखौं किसान बैंकको ऋण तिर्न नसकेर मर्छन् । बाउबाट छोराछोरी असुरक्षित छन् । दाइजो प्रथा हिलोमा गाडिएको किलो भैंm यसरी भासिएको छ कि करोडौं बाँचेर मरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्व अर्थतन्त्रमा भारतलाई अब्बल बनाएपनि सामाजिक चेतनामा भारतभन्दा हामी लाख गुना माथि छौं । त्यो भूमिमा कास्मिरबाहेक अरु कुरामा भारतीयले भारतीयलाई विश्वास गर्दैन । भारतभित्र दर्जनौं देश छन् । विश्वको समृद्ध मुलुक अमेरिका जहाँ बिग्रिएको गँजडी छोरो पेस्तोल बोकेर स्कुलको कक्षा कोठामा निर्दोषमाथि गोली बर्साउँछ । हतियारको होडमा उन्मत्त भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम एक अर्कालाई ‘मोटे’ र ‘बुढो’ भनेर भद्दा मजाकमा रमाउँछन् । युरोपेली मुलुक जहाँ दुई घन्टा न्यानो घाम लाग्दा त्यहाँका बासिन्दाका लागि दशैं आएजस्तो हुन्छ । ती देशमा ५० वर्षमा बढ्ने बनस्पति हाम्रोमा पाँच वर्षमा हुर्कन्छ । नेपाल त्यो सक्कली पूmल हो, जसमा अत्तर छर्कन जरुरी छैन । खाँचो व्यवस्थापनको हो ।

 

एउटा लुगा सुकाउने डोरी पछ्याउँदै लहराएको करेलाको दानो महिनौंको भोक मेटाउन काफी छ । छतमा रोपिएका गमलाका तरकारीले परिवारलाई आत्मनिर्भर बनाएको छ । खाडीबाट अपाङ्ग शरीर लिएर आएकाले रोपेको टमाटर र काउली अर्गानिक खेतीको नमूना बन्छ । यो भन्दा समाज निर्माणको सजिलो अर्थशास्त्र कहाँ हुन्छ ? अलिकति जमिन खोस्रिने वातावरण बन्न वित्तिक्कै नेपाली सुखी हुन एक वर्ष पनि लाग्दैन । त्यसैले नेपालमा अब विकासको ढाँचामा आमूल परिवर्तन जरुरी छ । ह्याङ भएको कम्प्युटरजस्तो सोचलाई समयसापेक्ष बदल्न जरुरी छ । नागरिकले सामाजिक सुरक्षालाई महत्व दिएका छन भने राज्य सञ्चालकहरुले दृष्टिकोणमा परिवर्तन ल्याउन जरुरी छ । 

 

जमिन बाँझो राखेर खाडी धाउने एकातिर बढ्दैछन भने अर्कातिर हजार म्यादी पुलिस खुल्दा लाखौं युवा लाइनमा खडा छन् । यस्तो दृश्य देखेपछि सीपलाई व्यारेकीकरण किन नगर्ने ? छानो छाउने सिपाही, सिकर्मी हवल्दार, डकर्मी जमदार, जुत्ता टल्काउने असई, ईंटा पार्ने सई, ढलान गर्ने ईन्सपेक्टर किन नजन्माउने ? यदि यो बीउ रोपियो भने भूइँचालो गएको तीन वर्षपछि अंकको कागजी ओढ्ने, ओछ्याउनेमा रमाउनु पर्दैन । जनतालाई चाहिएको  उनीहरुको आईफोनमा रिचार्ज गर्ने उद्यम हो । माक्र्सवाद, लेनिनवाद, माओवाद, बीपीवाद नभएर मानवतावाद आजको आवश्यकता हो ।

 

अर्जेन्टिनाको मकैले भोक मेटिएकै छ । ब्राजिल र रुसको तोरीले खोकनाको ईज्जत धानेकै छ । डीडीसीको छुर्पी, चीज सोलुमा कोसेली बाँधिएर गएकै छ । इन्डियागेटमा उभिएर खिचिएका सेल्फी र इन्डियागेट चामलको भीड नेपालमा बढेकै छ । भारतीय पाउडरबाट बनाइएको डीडीडीसीको दूधले भक्तपुरको जुजु धौ चलेकोलाई अर्गानिक उत्पादन ठान्ने हो भने त त्यो स्वतन्त्रता नेपालीले पाएकै छन् । सुधार गर्नुपर्ने प्राथमिकताका विषय रेलभन्दा पहिला यी चाहिँ हुन् । एउटा चिनियाँ उक्ति छ ‘शिक्षक उड्यो भने विद्यार्थी दौडिन्छ । शिक्षक दौडियो भने विद्यार्थी हिँड्छ । शिक्षक हिँड्यो भने विद्यार्थी बस्छ । शिक्षक बस्यो भने विद्यार्थी सुत्छ । शिक्षक सुत्यो भने विद्यार्थी मर्छ ।’ हामी दूध बेच्नु अपराध हो भन्ने नेपाली समाजबाट निसृत प्राणी हौं । पानीको पनि किनबेच होला भनेर त अघिल्लो पुस्ताले सपनामा पनि सोचेको थिएन । तर चलनमै आएपछि त त्यही स्वाभाविक बन्यो । बरु नकिनिएको पानीमा विश्वास हुन छोड्यो ।

  

नेपालीलाई भाग्यले ठगेको होइन । नेताले ठगेको हो । उनीहरुलाई भाग्यसँगभन्दा पनि नेतासँग गुनासो छ । राणा, पञ्चायत, बहुदल, गणतन्त्र हुँदै मुलुक संघीयता पुगेर पनि हरियो बत्ती नबलेपछि फेरि ज्ञानेन्द्र र पारसचक्रमा बिसाउने तर्क कुतर्कले ठाउँ पाउने गरेको छ ।  यदि यस्तो हो भने पुस्तौं पुस्ताले पाएको गोताको क्षतिपूर्ति कसले भर्छ ? लुगा फाटे सिउने, मन फाटे पिउने सधैंको समाधान होइन । राष्ट्रियताका बकबास अब बन्द गरौं । यो त पान खाएर पिच्च थुक्याभन्दा पनि सस्तो भयो । घरघरमा प्रेम बढाऔं, राष्ट्रियता आपैंm  मजबुत हुन्छ । अरुको हैन, आफ्नो चिन्ता गरौं । यसो भयो भने त्यो परिवार, समाज हुँदै देशमा पैmलिन्छ । अब एकमात्र विकल्प भने आईडियाले खाईडिया गर्ने हो । अफ्रिकामा सुन छ । तर अरु देशका डन बसेर सुनको मोलतोल गरिरहेका हुन्छन् । कतै नेपालको सेतो सुन मानिने पानी अधिकार अरुको, तिर्खा हामीमा सीमित त हुने होइन ?

[email protected]

संकेत काेइराला बिचार

विशेष