अर्थ कर्पोरेट मुख्य समाचार

ठूला व्यापारीको रजाइँ भयो, स्टकका सामानमा मूल्यवृद्धि : खुद्रा व्यापार संघ

ठूला व्यापारीको रजाइँ भयो, स्टकका सामानमा मूल्यवृद्धि : खुद्रा व्यापार संघ

आर्थिक वर्ष २०७५/७६ को बजेट भाषणलगत्तै कोटेश्वर निवासी चन्दा पौडेल फ्रिज खरिद गर्न न्युरोड पुगिन् । व्यवसायीले भन्सार बढेको जनाउँदै बजारभाउ भन्दा थप ५ प्रतिशत बढी रकम असुल्न खोजे ।

 

‘बजेट भाषणको केही दिनपछि मूल्य बढ्नु स्वाभाविक हुन्छ,’ उनले भनिन्, ‘तर, भाषणसँगै बढी मूल्य तिर्न बाध्य भएँ ।’

 

पौडेलजस्तै इलेक्ट्रोनिक उपभोक्ता मूल्य वृद्धिको मारमा परिसकेका छन् । अत्यावश्यक खाद्य वस्तुमा पनि व्यवसायीले मूल्य बढाएका छन् । जानकारका अनुसार बजेट भाषणलगत्तै मूल्य बढ्दैन । बजेट भाषण हुने दिनमा भन्सार नाकाहरू बन्द हुन्छन् । जसले गर्दा सामान भित्रिन पाउँदैनन् ।

 

बजेटको भोलिपल्ट सामान भित्रिए पनि उपत्यका आइपुग्न दुई दिन लाग्छ । सामानहरू भन्सारमै थन्किए पनि केही व्यवसायीले मूल्य बढाएका हुन् । खुद्रा व्यापार संघका अनुसार होलसेल (ठूला) व्यवसायीले मनोमानी रूपमा मूल्य बढाएका हुन् ।

 

‘भाषणलगत्तै होलसेलमा तेलको मूल्य लिटरमा ५/६ रुपैयाँ बढेको छ । चामल, तेल, दाल, चिनी लगायतका अत्यावश्यक वस्तुमा पनि सोहीअनुसार मूल्य बढाएका छन्,’ संघका अध्यक्ष पवित्र बज्राचार्यले भने, ‘तत्काल मूल्य बढ्न नपर्ने हो । तर, ठूला व्यापारीको चलखेल भयो । मूल्यवृद्धि तत्काल रोक्न जरुरी छ ।’

 

वीरगन्ज भन्सार विभाग प्रमुख सेवन्तक पोखरेलले पनि खाद्यान्नमा मूल्यवृद्धि कालोबजारी भएको दाबी गरे । ‘चामल, दाल, तेल लगायत अत्यावश्यक वस्तुको भाउ बढ्नुपर्ने कुनै कारण छैन । अन्य सामानका हकमा सम्पूर्ण जाँचपासपश्चात् १८/१९ गतेमात्रै बजारमा उपलब्ध हुन्छ,’ उनले भने, ‘खाद्यान्नलगायत अत्यावश्यकमा मूल्य बढ्नु भनेको कालोबजारी हो ।’

 

अध्यक्ष बज्राचार्यका अनुसार दुई दिनअघि चिनीको होलसेल मूल्य ६० रुपैयाँ थियो । बुधबार खुद्रा व्यापारीले ६२ मा खरिद गरे । बिहीबार प्रतिकिलो ६६ रुपैयाँ पुगेको संघको दाबी छ ।

यी बाहेक अन्य खाद्यन्नमा पनि मूल्यवृद्धिको जानकारी पाएको उनले बताए । ‘सयौं ट्रकहरू रक्सौल नाकामै रोकिएका छन्,’ अध्यक्ष बज्राचार्यले भने, ‘होलसेल व्यापारीले पहिला नै आयात भइसकेका सामानहरूमा मूल्य बढाएका छन्,’ अध्यक्ष बज्रचार्यले भने, ‘यसलाई नियन्त्रण गर्न जरुरी छ ।’ होलसेल व्यापारीको छाता संगठन नेपाल चामल, तेल, दाल उद्योग संघले भने मूल्य अभिवृद्धि कर फिर्ताको नीतिले उपभोक्ताहरू मारमा परेको विज्ञप्ति नै जारी गरेका छन् । कान्तिपुर दैनिकबाट ।

मूल्य वृद्धि बजेट भाषण

विशेष