राष्ट्रियसभा सदस्यको पदावधिका लागि असार ४ गते गोलाप्रथा गरिने
काठमाडौं । राष्ट्रियसभाका सदस्यको पदावधि असार ४ गते गोलाप्रथाबाट निर्धारण गरिने भएकाे छ। संविधाअनुसार राष्ट्रियसभाका एक तिहाइ सदस्यको पदावधि २ वर्ष अर्को एक तिहाइको ४ वर्ष र बाँकी एक तिहाइको ६ वर्ष रहने व्यवस्था गरिएकाे छ ।
आइतबार राष्ट्रियसभा नियमावली पारित भएसँगै संघीय संसद सचिवालयले दलहरुको परामर्शमा असार ४ गते गोलाप्रथाबाट सदस्यहरुको पदावधि २, ४ र ६ वर्ष निर्धारण गर्न लागेको हो । राष्ट्रियसभामा प्रत्येक प्रदेशबाट आठ जना र राष्ट्रपतिबाट मनोनित तीन जना गरी ५९ जना सदस्य छन्।
दलित र अल्पसंख्यक अपांग कोटा बाहेक प्रत्येक प्रदेशबाट निर्वाचित राष्ट्रियसभाका सदस्य जो जुन क्लस्टरबाट निर्वाचित भएका हुन् उनीहरुकै बीचमा मात्र गोलाप्रथा गरिने नियमावलीमा व्यवस्था गरिएको छ । राष्ट्रपतिबाट मनोनीति तीनजनाको छुट्टै गोला प्रथाबाट पदावधि निर्धारण गरिनेछ।
गोलमा २, ४ र ६ वर्ष लेखेर नेपाली भाषाको वर्णानुक्रमअनुसार सदस्यहरुलाई गोला तान्न लगाइनेछ। जसअनुसार दुई जनाको पदावधि २ वर्ष, अर्को दुई जनाको ४ वर्ष र दुईजनाको ६ वर्ष हुनेछ।
नियमावलीअनुसार दलित र अल्पसंख्यक सदस्यबीच गोला प्रथा गराउँदा २, ४, ६ र शून्य वर्ष लेखिएको गोला राखिनेछ । शून्य वर्ष गोला तान्ने एकजनाले दोस्रोपटक फेरि ४ वा ६ वर्ष लेखिएको गोलामध्ये एक झिक्नेछ।
गोला प्रथाबाट खाली हुन आएको स्थानमा त्यसै क्ल्स्टरबाट पुनः निर्वाचन गरिनेछ। राष्ट्रियसभा निर्वाचनमा नगरपालकाका मेयर र उपमेयर गाउँपालिकाका प्रमुख र उपप्रमुख तथा प्रदेशसभाका सदस्यहरुले भोट हाल्नेछन्। स्थानीय तहका पदाधिकारीको मतभार ४८ र प्रदेशसभा सदस्यको मतभार ७८ हुनेछ ।
गोलाप्रथा राष्ट्रियसभा सदस्य पदावधि