दाहाललार्इ द्वन्द्वका घाइतेको प्रश्न : 'नयाँ पार्टीले के गर्छ?'
काठमाडौं । मकवानपुर बगैया -८ का जयबहादुर न्याचोर युद्धका घाइते हुन्। तात्कालीन माओवादीले सञ्चालन गरेको १० वर्षे सशस्त्र संर्घषका क्रममा उनी २०६१ चैत २८ गते मकवानपुरको हेटौंडामा घाइते हुन पुगे।
माओवादीले घोषणा गरेको आमहड्ताल सफल बनाउने योजनामा लाग्दा सुरक्षाकर्मीको बमको छर्रा लागेर उनी घाइते भए। त्यसपछि उनी प्रक्राउ परे। सुरक्षाकर्मीले चितवनस्थित भरतपुरस्थित मेडिकल कलेजमा ल्याएर उनको उपचार गराएको थियो।
त्यस घटनामा उनका दुवै हात गुमे, दुवै आँखा गुमे। अहिले उनी सहयोगीको सहारामा हिंड्ने, डुल्ने गर्नुपर्छ। शनिबार नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडा पनि छोरीको सहारामा पुगेका थिए।
नेकपा अध्यक्ष पुष्पकमल दाहालसँगको भेटघाटका लागि पेरिसडाँडा पुगेका न्याचोरले आफूजस्तै युद्ध-घाइतेहरूसँगै बसेर आप्mना पीडा सुनाए, ‘अध्यक्षज्यू, हामीले जीवन कसरी निर्वाह गर्ने ? ’
उमेरले उनी अहिले ४१ वर्ष भए। काठमाडौं भीमसेन गोलामा उनी श्रीमती, चार छोरीहरूसहित भाडाको कोठामा बसेका छन्। दाहालसँगको भेटमा आफूले राखेका गुनासो सुनाउँदै उनले अन्नपूर्णसँग भने, ‘नक्कली घाइतेहरूले विभिन्न विश्वविद्यालय र स्कुलमा आप्mना छोराछोरी पढाउन छात्रवृत्ति पाएका छन्। मेरा पनि चार छोरी छन्, कहींकतै छात्रवृत्ति पाएको छैन। खर्च जुटाउन नसकेर पढाइ छुटाउनु परेको छ। तर हामीजस्तो वास्तविक घाइतेहरूको बेहाल छ, यसमा पार्टीले के सोचेको छ ? ’
दाहालले विगतमा घाइते, अपांग तथा बेपत्ता र सहिद परिवारका सदस्यलाई प्रमाणपत्र दिने योजना सुनाएका थिए। न्याचोरले दाहालका अगाडि त्यही प्रसंग उठाए, ‘तपाईंले बेपत्ता, सहिद परिवार र घाइते अपांगलाई विशिष्ट प्रकारको प्रमाणपत्रको व्यवस्था गरी जीवन निर्वाहको बाटो बनाइदिने बताउनुभएको थियो, त्यो योजना कहाँ पुग्यो ? ’
जयबहादुर तात्कालीन माओवादी युद्धका त्यस्ता पात्र हुन्, जसलाई घाइते अवस्थामा पक्राउ परेपछि पानी माग्दा सुरक्षाकर्मीले पिसाब खुवाएका थिए। अहिले उनलाई राज्यले जीवन निर्वाह भत्ता भनेर ६२ सय र उनका सहयोगी लाई थप ६२ सय गरी १२ हजार ४ सय रूपैयाँ उपलब्ध गराउँदै आएको छ। तर उनको परिवार त्यो पैसाले जीवन निर्वाह गर्ने अवस्थामा छैन।
अभावै-अभावको जिन्दगी उनको परिवारले काठमाडौंको महगीसँग अहिले साटिरहेको छ। फुटपाथको व्यापार समेत उनको परिवारले बाँच्नकै लागि गरिरहेको छ। तर अहिले उनलाई त्यसको पनि चिन्ता थपिएको छ। ‘महागनरपालिकाले फुटपाथ हटाउने भन्दैछ, त्यो भयो भने हाम्रो झन् बेहाल हुन्छ,’ अध्यक्ष दाहालसँग उनले भने, ‘फुटपाथ पसल पनि हट्यो भने हाम्रो गुजारा चल्दैन।’
उनी अहिले राजनीति फटाही गर्नेहरूका लागि मात्र भएको ठान्छन्। ‘म आजीत नै भइसकें, कति धाउनु ? ’ उनले भने,-‘सरकार फेरिएपिच्छे हामीले आप्mना समस्याबारेमा ज्ञापनपत्र बुझाउँदै आएका छौं, सबैले तपाईंहरूको मागमा हामी संवेदनशील छौं भन्नुहुन्छ। तर केही हुँदैन, आश्वासन मात्र हामीले पाउँछौं।’
उनी मात्रै होइन, अन्य घाइतेहरूको अवस्था पनि उस्तै छ। शनिबार झण्डै ६ दर्जन युद्ध-घाइते तथा अपांगहरू नेकपा अध्यक्ष दाहाललाई भेट्न पेरिसडाँडा पुगेका थिए। दाहाल युद्धको नेतृत्व गरेको तत्कालीन नेकपा (माओवादी)का अध्यक्ष समेत हुन्।
घाइते-अपांगका प्रतिनिधिहरूले पूर्वप्रधानमन्त्री समेत रहेका दाहालसँग पार्टीले आफूहरूलाई युद्धमा उपयोग गरेको र सत्तामा पुगेपछि मिल्काइदिएको गुनासो पोखेका थिए। अन्नपूर्णपाेष्ट दैनिकबाट ।
मकवानपुर द्वन्द्वका घाइते