देश

विज्ञान पढ्नेले ११ र १२ कक्षामा गणित पढ्नु नपर्ने

विज्ञान पढ्नेले ११ र १२ कक्षामा गणित पढ्नु नपर्ने

काठमाडौं  । कक्षा ११ र १२ मा भर्ना हुने विज्ञानका विद्यार्थीले गणित विषय नपढे पनि हुने भएको छ। पाठ्यक्रम विकास केन्द्रले तयार गरेको विद्यालय तहको पाठ्क्रमको प्रारूपअनुसार ११ र १२ कक्षामा गणित विषय पढ्नैपर्ने विगतको प्रावधान हटाएको हो।

 

शिक्षामन्त्री अध्यक्ष रहने पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को बैठकले गत जेठ १८ गते यो पाठ्यक्रम पारित गरिसकेको छ। विज्ञहरूले भने गणित विषयको महत्व नै नबुझी हचुवाका भरमा पाठ्क्रम बनाइएको भन्दै सच्याउन सरकारलाई आग्रह गरेका छन्।

 

पाठ्क्रमको संरचना अनुसार कक्षा एघारमा जीव विज्ञान (बायोलोजी) र गणितलाई एकै समूहमा राखिएको छ। कुनै विद्यार्थीले जीव विज्ञान पढ्छु भन्यो भने उसले गणित पढ्न पाउँदैन। जीव विज्ञान पढेर गणित पढ्न नपाएको विद्यार्थीले उच्च शिक्षामा एमबीबीएस, बनस्पति शास्त्र (बोटानी) तथा भूगर्भ (जिओलोजी) विषयको मात्र अध्ययन गर्नुपर्छ।

 

यी विषयमा अनुत्तीर्ण भए वा पढ्न नपाए उसले इन्जिनियरिङ, वन विज्ञान, अर्थशास्त्र, गणित, व्यवस्थापनलगायत विषयमा भर्ना हुन पाउँदैन, जब कि यी विषयमा भर्ना हुने सबै विद्यार्थी जीव विज्ञान समूहबाट नै आउँछन्।

 

त्रिभुवन विश्वविद्यालय गणित केन्द्रीय विभागका प्रमुख प्राडा केदारनाथ उप्रेतीले भने, ‘हरेक विद्यार्थीको म्याथमेटिक्स राम्रो भयो भने मात्र उसमा रचनात्मक र तार्किक क्षमता बढ्छ। विकसित मुलुक मानिने सिंगापुर, दक्षिण कोरियालगायतका मुलुकले पनि गणितलाई उच्च प्राथमिकता दिएका छन्।’

 

पाठ्यक्रमको प्रारूप निर्माणका क्रममा कक्षा ११ र १२ मा अनिवार्य रूपमा एक सय पूर्णांकको प्रायोगिक गणित (एप्लाइड म्याथ) विषय राखिएको थियो। ‘तर प्रारूप पारित गर्ने समयमा रातारात हटाइएछ,’ उप्रेतीले भने।



के पर्छ असर ?       

अहिले त्रिविसहित अन्य विश्वविद्यालयले स्नातक तहमा भर्ना हुन आउने विद्यार्थीलाई विषयअनुसार ११ र १२ मा १ सय वा ५० पूर्णांकको गणित विषय पढ्नैपर्ने नियम बनाएका छन्।

 

नेपाल गणित समाजका केन्द्रीय सदस्य तथा गणित केन्द्रीय विभागका उपप्राध्यापक जीवन काफ्लेका अनुसार त्रिभुवन विश्वविद्यालयको कृषि तथा वन विज्ञान, कम्प्युटर विज्ञानजस्ता विषयमा प्रवेश पाउन कक्षा ११ र १२ मा कम्तीमा क्रमशः ५० र १ सय पूर्णांकको गणित विषय पढेको हुनुपर्छ।

शिक्षामन्त्री पाठ्यक्रम विकास केन्द्र गणित विषय

विशेष