शुद्धिकरणमा ‘कस्टडी’ अभाव, गोरे एसएसपी खत्री र गुरुङलाई राख्नै समस्या
काठमाडौ । तस्करीको ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणका अभियुक्त चुडामणी उप्रेती गोरेसहितका ३ जनालाई थप अनुसन्धानका लागि काठमाडौं ल्याइएको छ। मोरङ कारागारबाट गोरेसहित एसएसपी श्याम खत्री, भुजुङ गुरुङको सम्पत्ति छानविन गर्न काठमाडौं ल्याइएको सम्पत्ति शुद्धीकरण विभागले जनाएको छ।
गोरसहित खत्री, गुरुङमाथि आजबाट अनुसन्धान सुरू गरिने सम्पत्ति शुद्धीकरण विभागका सूचना अधिकारी विनोद लामिछानेले जानकारी दिए। अनुसन्धानपछि कुन कारागार राख्ने भन्ने अझै तय भएको छैन। लामिछानेले भने, ‘विभागको आफ्नै ‘कस्टडी’ छैन, सुरक्षा निकायहरूसँग समन्वय गरेर कतै राखिन्छ।’
३३ किलो सुन र सनमहत्याको छानविन गर्न बनेको समितिले उनीहरूको सम्पत्ति छानविन गर्न सुझाव दिएपछि सम्पत्ती शुद्धीकरण विभागले उनीहरूलाई काठमाडौं झिकाएको हो। समितिका सदस्य एसएसपी बसन्त लामाका अनुसार गोरे, गुरुङ्ग र एसएसपी खत्रीको सम्पत्ति छानविन गर्न प्रतिवेदनमा सुझाव दिइएको थियो। उनीहरूको सम्पत्ति छानविन छिटो गर्न समितिले सुझाव दिएपछि उनीहरुको सम्पत्ति शुद्धीकरण विभागले छानविन अघि बढाएको उनले जानकारी दिए ।