विचार खेल

कस्ले मार्ला वर्ल्डकप को बाजी ? 

हरिराम रिमाल

कस्ले मार्ला वर्ल्डकप को बाजी ? 

विश्व फुटबलको महासंग्राम वर्ल्ड कपको पूर्वसन्ध्यामा विभिन्न अडकलबाजीहरू भइरहेका छन् । केही दिनअगाडि एक अखबारले विभिन्न तथ्यहरूको हवाला दिँदै वर्ल्ड कप ब्राजिलले जित्ने अडकलबाजी गरेको थियो ।

 

 वर्ल्ड कपका विभिन्न खाले अडकलबाजीहरू भएपनि यसैले जित्छ भनेर भन्न चाहिँ सकिँदैन । मूलतः वर्ल्ड कपको अडकलबाजी छनोट चरणका खेलहरूलाई आधार बनाएर र राष्ट्रिय टिममा समावेश भएका तथा विभिन्न प्रतिष्ठित क्लबहरूबाट व्यावसायिक फुटबल खेलिरहेका खेलाडीहरूको पछिल्लो वर्षको प्रदर्शनलाई आधार बनाएर अनुमानहरू लगाइने गरिन्छ ।

 

त्यसो त अर्जेन्टिना, ब्राजिल, जर्मनी, स्पेनजस्ता टिमहरूलाई वर्ल्डकपमा छनोट चरणका समयदेखि नै वल्र्ड कपको दाबेदार राष्ट्रको रूपमा हेरिने गरिन्छ । यस आलेखमा मूलतः दाबेदार राष्ट्रहरू तथा अरू पनि केही  नयाँ वर्ल्ड कपका दाबेदार राष्ट्रहरूको टिमको बारेमा चर्चा गर्ने प्रयत्न गर्नेछु । 

 


अर्जेन्टिना
स्तम्भकारले पछिल्लो पटक अर्जेन्टिनाको जर्सी बिक्री गर्दै आएका पसलेका अनुसार यसपालीको वल्र्डकपमा काठमाडौंमा अर्जेन्टिनाको जर्सीको धेरै बिकेका छन् । तुलनात्मक रूपमा नेपालमा अर्जेन्टिनाका फ्यानहरू धेरै भएको विभिन्न आधारहरूबाट देखिन्छन् । सन् १९८६ मा नेपाल टेलिभिजनले मेक्सिको वर्ल्ड कप  खेलको क्वाटरफाइनल खेलको प्रत्यक्ष प्रसारण गरेपछि विश्व फुटबलको केन्द्रमा अर्जेन्टिनाका म्याराडोना थिए ।

 

सन् १९८२ मा फकल्यान्ड टापुमा अर्जेन्टिना र बेलायतको बीचमा भएको युद्धमा बेलायतले अर्जेन्टिनालाई पराजित गरेको थियो । त्यसपश्चात् मेक्सिकोे वर्ल्ड कपमा अर्जेन्टिनाले बेलायतलाई पराजित गर्दा म्याराडोनाले मैदानमा भनेका थिए, ‘आज युद्ध हामीले जितेका छौँ । किनभने यहाँ वीर गोर्खालीहरू मैदानमा छैनन् ।’ 

 

म्याराडोनाको आसय सन् १९८२ को फकल्यान्ड युद्ध बेलायतीहरूसँग नभई गोर्खाली सेनाका कारण हारेको भन्ने थियो । म्याराडोनाजस्ता प्रसिद्ध खेलाडीले वर्ल्ड कपमा गोर्खालीहरूको वीरताको प्रशंसा गरेको र नेपालमा टेलिभिजनबाट वर्ल्ड कप  हेरिएको वर्ष अर्जेन्टिनाले नै वर्ल्ड कप जितेका कारणले नेपालमा अर्जेन्टिनाको फ्यान धेरै भएको अनुमान गर्न सकिन्छ । त्यसैगरी नेपालमा व्यावसायिक टेलिभिजनहरूको तीव्र विकास, इन्टरनेटको विकासलगायतले वल्र्डकपलाई नेपालीहरूको पनि सहज पहुँचमा ल्याइदिएको छ ।

 

 संयोगको कुरा सन् २०१८ को वर्ल्ड कपमा पनि अर्जेन्टिनाकै मेस्सी विश्व फुटबलको केन्द्रमा छन् ।  अर्जेन्टिनी राष्ट्रिय टिम र विश्वभरी छरिएर रहेका अर्जेन्टिनी टिमका समर्थकहरू पनि वर्ल्ड कप  जित्ने पूरा भरोसा मेस्सीमा मात्रै केन्द्रित भएको विश्लेषण गरिरहेका छन् । त्यसो त अर्जेन्टिनी टिम पछिल्लो पटक वर्ल्ड कप  छनोटको चरणको खेलमा संर्घषरत्  थियो ।

थुप्रै खेलाडीहरूं हेरफेर भएका छन् । मेस्सीले वर्ल्ड कपबाहेकका आफ्नो व्यावसायिक करिअरमा सबै किसिमका प्रतियोगिता जितिसकेका छन् । पछिल्लो वल्र्डकपमा अर्जेन्टिनाले आफ्नो परम्परागत रणनीतिलाई बदलेको छ । त्यसैले पनि अर्जेन्टिना वर्ल्ड कपको प्रमुख दाबेदार  मध्येको एक हो । 

 


ब्राजिल
आफ्नै घरेलु मैदानमा भएको पछिल्लो वल्र्डकपको नेइमारबिनाको सेमिफाइनलमा जर्मनीसँगको ७–१  को लज्जास्पद हारपछि ब्राजिलले एउटा मात्र स्ट्राइकरमा केन्द्रित हुने आफ्नो खेल शैलीमा व्यापक परिमार्जन गरेको छ । जसको कारण नेइमार स्तरकै अरू प्रतिभाशाली युवा खेलाडीहरू कोटिन्हो, फेनान्डिनो, फ्रेडजस्ता ब्राजिलको राष्ट्रिय टिममा अटाएका छन् । त्यसकारण ब्राजिलले ल्याटिन अमेरिकाको वर्ल्ड कपको अत्यन्तै कठिन प्रतिस्पर्धालाई सहज रूपमा पार गरेको छ ।

 

नेपालमा ब्राजिलका फ्यानहरू बढ्नुको कारण मूलतः पछिल्ला विश्वकपहरूमा ब्राजिलले गरेको प्रदर्शन खेल नै मुख्य आकर्षण हो । ०४६ सालको राजनीतिक परिवर्तन पछाडि नेपालमा सबैभन्दा धेरै विकसित भएको क्षेत्र सूचना प्रविधि नै हो । सूचना प्रविधिको विकासक्रमको उत्कर्षका आसपासमा भएका वर्ल्ड कपहरू मूलतः सन् १९९४ मा ब्राजिलले वल्र्डकप उचाल्यो । सन् १९९८ मा फाइनलमा पुग्यो । सन् २००२ मा ब्राजिलले पुनः वर्ल्ड कपको उपाधि उचाल्यो । यस अवधिमा ब्राजिलले रोमारियो, रोनाल्डो, रोनाहाल्डिनो, रिभाल्डोजस्ता विश्व फुटबलका हस्तीहरूलाई उत्पादन गरेको छ । 

 

त्यसैगरी ब्राजिलको हालको राष्ट्रिय टिम डिफेन्समा थिएगो सिल्भा, मार्सेलोजस्ता अनुभवी खेलाडीहरू र गोलकिपर एलिसन वेकरको कारण रक्षापंक्ति पनि उस्तै बलियो भएको छ । त्यसकारण यस वल्र्डकपको प्रमुख दाबेदार राष्ट्र मध्येको एक ब्राजिल पनि हो । 

 


जर्मनी
८ पटकसम्म फाइनल खेल खेलेको जर्मनीले चार पटक  मात्रै वल्र्डकपको उपाधि उचालेको छ । जर्मनीको राष्ट्रिय टिमका अधिकांश खेलाडी जर्मनी नेसनल लिग बुन्डेसलिगामा खेल्ने गर्छन् । अर्थात् पछिल्लो पटक घोषणा भएको राष्ट्रिय टिममा छनोट भएका अधिकांश खेलाडी जर्मन नेसनल लिगकै परेका छन् ।

 

हालका प्रशिक्षक ‘जोचिम लो’ ले पनि राष्ट्रिय टिमको छनोट गर्दा नेसनल लिगमा खेलिरहेका खेलाडीहरूमा बढी केन्द्रित भएजस्तो देखिन्छ । अझ जर्मनी नेसनल लिगको सदाबहार क्लब ब्रायर्नम्युनिखका आधाजसो खेलाडी जर्मनको राष्ट्रिय टिममा परेका छन् ।

 

उसो त फुटबलको पपुलारिटी ‘टिम गेम’ कै कारण भएको हो भन्ने दाबी गरिन्छ । त्यो ‘टिम गेम’ को नमुना जर्मनीको राष्ट्रिय टिममा देख्न सकिन्छ । अरू राष्ट्रहरूको राष्ट्रिय टिममा धेरैवटा क्लबहरूबाट खेलेका स्टार खेलाडीहरू जम्मा हुने र केही महिनाको  प्रशिक्षण अवधिले मात्रै उनीहरूको तालमेललाई मिलाउन सक्दैन ।

 

त्यसकारण क्लब फुटबलमा अत्यन्तै सफल मानिएका मेस्सीजस्ता स्टारहरूपनि वल्र्डकपमा एक्लै खेलेको जस्तो देखिन्छ । जुन समस्याबाट जर्मन राष्ट्रिय टिम मुक्त छ । उनीहरूले वर्षौंदेखि एउटै क्लबबाट राष्ट्रिय टिमको पनि सँगै प्रशिक्षण गरिरहेका हुन्छन् । प्रशिक्षक लो हरपल युवा खेलाडीमा केन्द्रित हुन खोजिरहेका हुन्छन् । त्यसकारण अन्तर्राष्ट्रिय फुटबलमा ठूला स्टारहरू नभएपनि जर्मनी यो वल्र्डकपको प्रमुख दाबेदार मध्येको एक हो । 

 


स्पेन
अक्सर फुटबलमा ठूला र नाम चलिएका राष्ट्रहरू हावी भएपनि सन् २०१० को वर्ल्ड कपमा फुटबल खेलको नमुना पस्कँदै स्पेन वल्र्ड च्याम्पिएन भयो । वर्ल्ड कपको इतिहासलाई अध्ययन गर्दा राम्रा फुटबल खेल्ने राष्ट्रहरू नेदरल्यान्ड, हंगेरी, तत्कालीन सोभियत संघ, फाइनलमा पुगेर पनि उपाधि उचाल्न सकेका थिएनन् ।

 

तर, स्पेनले आफ्नो उत्कृष्ट फुटबलको नमुना पेस गर्दै वल्र्डकप उचालेको थियो । सन् २०१० को वर्ल्ड कप उचाल्दाका अधिकांश खेलाडीहरू अहिलेपनि राष्ट्रिय टिममा अटाएका छन् । नेपालमा स्पेन समर्थकहरू सन् २०१० को उपाधि उचाल्ने अवधिसम्म स्पेनले पस्किएको खेलबाट ह्वात्तै बढेको अनुमान गर्न सकिन्छ । 

 

स्पेनको नेसनल फुटबल लिग ‘ला लिगा’ मा संसारकै उत्कृष्ट खेलाडीहरू खेल्ने गर्छन् । रियल मड्रिड, बार्सिलोनाजस्ता क्लबहरूबाट फुटबलमा आफ्नो करिअर बनाउने थुप्रै युवा खेलाडीहरू हुन्छन् । जसले गर्दा स्पेनको कोचलाई यो   वर्ल्ड कपको राष्ट्रिय टिम बनाउन निकै सकस परेको थियो ।

 

स्पेनले सन् २०१० पछि वल्र्डकपमा आफ्नो छुट्टै खेल्ने शैलीलाई स्थापित गरेको छ । स्पेनको राष्ट्रिय टिममा अटाएका खेलाडीहरूले वर्ल्ड कपको दाबेदार राष्ट्रहरू अर्जेन्टिना, ब्राजिल, जर्मनीजस्ता टिमहरूको रणनीतिलाई सहज रूपमा बुझ्ने त्यसविरुद्ध आफ्नो रणनीतिक खेल पस्कने सामथ्र्य राख्छन् । त्यसकारण स्पेन यो वल्र्डकपको पुनः एकपटक दाबेदार टिमको रूपमा रहेको छ । 


बेल्जियम
युरोपका प्रतिष्ठित क्लबहरूबाट खेल्ने प्रतिभाशाली फुटबलरहरू समावेश भएर पनि बेल्जियमले थुप्रै वर्ल्ड कपहरूमा आफूलाई छनोट गर्न सकेन । न त युरो कपमा नै उत्कृष्ट लयमा देखियो । तर, पछिल्ला वल्र्डकपहरूमा बेल्जियमले आफूलाई युरोपका कठिन प्रतिस्पर्धाहरूबाट वर्ल्ड कपमा सहज छनोट मात्रै गरेको छैन ।

 

हालको बेल्जियम टिम वल्र्डकपमा जुनसुकै दाबेदार राष्ट्रहरूलाई पराजित गर्न सक्षम पनि छ । बेल्जियमको राष्ट्रिय टिममा अटाएका हाजाड, कम्पनी, केभिन ब्राइन, फिलानी, लुकाकुजस्ता क्लब फुटबलमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरूले बेल्जियमलाई वल्र्डकपको उपाधि दिलाए भने अनौठो हुने छैन । नेपालमा बेल्जियमको खासै फ्यानहरू देखिँदैनन् । तरपनि क्लब फुटबलमा उच्च प्रदर्शन गरेका खेलाडीहरूका कारण बेल्जियमले फ्यानहरू बढाउँदै लगेको भने छ । 

 

युरोपमा सामन्तवादको तीव्र विघटनसँगै सामन्तवादमा स्थापित भएका धेरै विलासी खेलहरूबाट फुटबल खेलले आफूलाई आम जनताको खेलको रूपमा स्थापित गर्न सक्ने भयो । दोस्रो विश्वयुद्धभन्दा अघि युरोपियन साम्राज्य फैलिएका ल्याटिन अमेरिकाका अधिकांश राज्यहरू, एसियाका अधिकांश राष्ट्रहरू र अफ्रिकाका अधिकांश राष्ट्रहरूमा फुटबल तीव्र रूपमा विकसित भएर आयो ।

यसलाई संगठित र व्यवस्थित गर्न १९ औँ शताब्दीको पूर्वाधमा युरोपका केही राष्ट्रहरूले अन्तर्राष्ट्रिय फुटबल संघको स्थापना गरे । सन् १९३० बाट अन्तर्राष्ट्रिय फुटबल संघ फिफाले वल्र्डकपको सुरुवात गरे । फुटबल पण्डितहरूले फुटबललाई यति पपुलर हुनुमा आम जनताको पहुँचमा र सामूहिक खेल भएको बताएका छन् ।

 

२१ औँ वर्ल्ड कपसम्म आइपुग्दा फुटबलमा भएका कमी कमजोरीहरूमा प्रविधिको प्रयोग पनि अध्यधिक मात्रामा बढेको छ । अन्तर्राष्ट्रिय फुटबल संघ फिफाले सन् २०२२ को कतार वर्ल्ड कपमा हाल विद्यमान ३२ राष्ट्रहरूको सहभागितालाई बढाएर ४८ राष्ट्र पु¥याउनुपर्ने छलफल चलाइरहेको छ । यस २१ औँ वल्र्डकपमा स्टार खेलाडीहरूले सुसज्जित राष्ट्रहरू इटली, नेदरल्यान्ड, चिली, अमेरिकाजस्ता राष्ट्रहरूको खेल हामीले हेर्न पाउने छैनौँ ।

 

यसले फुटबल विकासको अत्यधिक प्रतिस्पर्धालाई संकेत गरेको छ । त्यसैले माथि अनुमान गरिएको भन्दा अलग राष्ट्र फ्रान्स, पोर्चुगल, स्विट्जरल्यान्ड, पोल्यान्ड, मेक्सिको, पेरुजस्ता राष्ट्रहरू पनि वर्ल्ड कपका उत्तिकै दाबेदारहरू हुन् । २१ औँ वर्ल्ड कपसम्म आइपुग्दा जम्मा ८ वटा राष्ट्रहरूले मात्र उपाधि उचालेका छन् । हामी आसा गरौँ, यी ८ भन्दा फरक राष्ट्रहरूले यो वर्ल्ड कपको उपाधि उचालून् । 

 

वल्र्ड कप

विशेष