बिन्ती छ, एकपटक राजाका छोरा र नेताका छोरालाई भेटेरै महशुस गरिदिनूस्
अनिल बस्नेत, अध्यक्ष, शिव सेना नेपाल
युवराजधिराज पारस वीरविक्रम शाहको सवारीलाई ट्राफिक प्रहरीले जेठ २८ गते —गतिमा सवारी चलाएको भनिएको छ । यो घटना हरेक दृष्टिले नियोजित र नाटकीय लाग्छ । नियोजित र नाटकीय त्यसै भनिएको होइन ।
काठमाडौं र ललितपुरका सडकबारे कसलाई थाहा छैन होला र ? हजारौं मानिसहरु दैनिक जावलाखेल — हरिहरभवन — कुपण्डोल क्षेत्रका सडकमा सवारीको कति चाप हुन्छ भन्ने । युवराजधिराज पारस वीर विक्रम शाहले सवारी तीव्र गतिमा चलाएको र नियम मिचेको भनेर जुन खबरहरु बाहिरियो, त्यो कतिसम्म साँचो होला भन्ने यो क्षेत्रमा सवारी चलाउने हरेक नागरिकले महशुस गर्न सक्छन् । अर्थात यी क्षेत्रमा तीव्र गतिमा सवारी चलाउन सम्भव नै छैन । सवारी चाप बढी हुने यी क्षेत्रमा तीव्र गतिमा सवारी चलाएको आरोप त्यसै पनि हास्यास्पद लाग्छ ।
सत्य विषय जनताले थाहा पाउनु पर्र्छ । सत्यलाई तोडमोड गरेर प्रस्तुत गर्नु भने हुँदैन । कसैलाई मन नपरेकै आधारमा पारस शाह गलत र मन परेकै आधारमा बेइमानी गर्नेहरु ठिक भनिनु हुँदैन । सत्य सधै एकै हुन्छ । नयाँ पुस्ताका भाईहरुले कसरी सडकमा मोटरसाइकलहरु हुईक्याउँछन् भन्ने सबैले महशुस गरेका छन् । उनीको तेजका अगाडि मै हुँ भन्नेहरु पनि पछि पर्छन् । तर ट्र«ाफिक प्रहरीले उनीहरुको गति तीव्र भयो भनेर कारबाही गरेको त थाहा छैन । तीव्र गतिको जाँच गर्ने यन्त्र ट्र«ाफिक प्रहरीको कार्यालयको शोभा मात्रै बनेको छ । सडकमा प्रयोग हुन सकेको छैन । कसैलाई तह लगाउनु पर्यो भने यो विषय अगाडि ल्याइन्छ ।
जडिबुटीमा बुधबार एक महिलाको अनाहकमा ज्यान गयो । ट्रिपरको ठक्करबाट उनले ज्यान गुमाइन् । त्यस्ता घटना दिनहुँ हुन्छन् । उपत्यकाको भएर त्यो बिषयले अलिकति मिडियामा कभरेज पायो । दूरदराजका माहिला मारिएको भए, कुकुर हो कि मान्छे हो पत्तो हुने थिएन । यस्तो दर्दनाक घटनामा ट्र«ाफिक प्रहरीको यन्त्रले कहिले काम गरेन । तर चौतर्फी आक्रमणको सिकार भएको राजसंस्थाका सदस्य मठमन्दिरको दर्शन गर्दा पनि नेपालका प्रधानमन्त्रीकालागि तमासा बनिदिन्छ ।
हामी राष्ट्रिय एकताका लागि राजसंस्थाको अपरिहार्यता देख्छौं । कसैले अधिनायकवादलाई आदर्श मान्छन् । कसैले मुखमा समाजवादको कुरा गरेर व्यवहारमा नातावाददेखि बदनाम हुने सबै खाले वादलाई मान्यता दिन्छन् । ती सबै कथित वाद स्वीकार्य हुँदा राजसंस्थाको आस्था मुलुकमा आलोचित भएको छ । आखिर किन त ? यसको जवाफ आजसम्म कसैले दिएको छैन । केही तत्वले भन्ने गर्छन् कि सामन्तवादको अवशेष हो — राजसंस्था । आज हामी जनताका नेताबाट होइन, नेताका छोरा, बुहारी, भाइ, भतिजा, प्रेमिकाबाट शासित छौ । के यो सामन्तवाद होइन ?
फेरि प्रशंग युवराज पारसकै । पारसलाई अरुले पूर्वयुवराज पारस भन्ने गर्छन् । तर हामी युवाराज नै भन्छौं । युवराज पारसलाई सामान्य नागरिक सरह व्यवहार गरेको, गल्ति गरेपछि जरिवाना तिराएको भनेर प्रचार गरिएको छ । ठीक छ, गल्ति गर्नेले सजाय पाओस् । सामान्य नागरिक सरह नै युवराज पारसको स्टाटस हो भने उहाँले तिरेको पाँच सयको जरिवाना किन पत्रिकाको हेडलाइन बन्छ ? दिनहुँ सयौं सवारी चालकले जरिवाना तिर्छन्, उनीहरुको समाचार किन बन्दैन ? यसको जवाफ पनि छ ।
जवाफ यो कि युवराज पारस विशिष्ट व्यक्तित्व हुनुहुन्छ । यो व्यवहारले प्रमाणित गरेको कुरा हो । कुनै दावी होइन । अब फेरि प्रश्न उब्जिन्छ, विशिष्ट व्यक्ति उहाँ हो भन्ने कुरा त सरकारी अधिकारीहरुले पत्रिकामा दिएको अन्तर्वार्ताले पुष्टि गर्छ, अब विशिष्ट व्यक्ति हो भने उहाँलाई राज्यले किन सुरक्षा दिँदैन ? किन ५ सय जरिवाना तिराउने अवस्थामा राज्य आफै पुर्याउँछ ? यो विषय नै अहिलेसम्मको मननयोग्य कुरा पनि हो । यसकारण हामीले धेरै पहिलेदेखि भन्दै आएका छौं कि देशमा गलत भइरहेको छ ।
महाराजधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव जहाँ जहाँ पुग्नु हुन्छ, जनताको जयजयकारले राष्ट्रघाती तत्वहरुको मुटुमा ढ्यांग्रो ठोकिसकेको छ । राजसंस्थाले लोकप्रियता पाइरहेको छ । यो देखेर देशको नदीनाला बेचेर आफ्नो कुर्सी जोगाउने उद्यत तत्वहरु रिसाउनुलाई कुन अर्थमा गलत भनौं ? यो कुरा मैले बुझ्न सकेको छैन । राजसंस्थाको विषयमा अब जनताले आफ्नो मत दिन थालिसकेका छन् । यो सुरुवातलाई कतै न कतैबाट रोक्न वा निस्तेज पार्ने प्रयासको एक उदाहरण नै कथित जेठ २८ गतेको घटना हो ।
यो घटनाको अर्को एक पाटो पनि छ । जुन धेरै नेपाली दाजुभाई दिदीबहिनीहरुले बुझि नसक्नु भएको हुनुपर्छ । योगी नरहरिनाथको ज्ञान हालको प्रशिक्षणमा हामीले पाँच दिनसम्म लियौं । त्यो ज्ञानको स्रोत गुरु गोरखनाथ हुनुहुन्छ । त्यसमा युवराजधिराज पारस शाह पनि हुनुहुन्थ्यो । म आफै पनि थिएँ । अरु विशिष्ट व्यक्तिहरु पनि हुनु हुन्थ्यो । त्यो प्रशिक्षणपछि राजसंस्थाविरुद्ध आक्रमण सुरु भयो । त्यो प्रशिक्षणमा नवयुराज पनि आउनुभयो । त्यो विषय सार्वजनिक भइसकेकै हो । त्यसपछि कै नियोजित आक्रमणको सिलसिलामा हालको घटना भएको हो ।
अब युवराज पारसका बारेमा केही कुरा भन्छु । यो दूनियाँमा सबैभन्दा सरल कोही छ भने त्यो युवराज पारस नै हो । पारससँग हरकोही नेपालले कुनै दिन भेट्नु भयो भने गएर कुराकानी गर्नु होला । सेल्फी लिनु होला । त्यसपछि मलाई आएर भन्नु होला, राजाको छोरा सरल रहेछन कि हिजो सिएसी चप्पल लगाउने नेताका छोराहरु सरल छन् ? आज कुन नेताका छोराछोरीले जनतासँग कुरा गर्न चाहन्छन् ? एकपटक ठूला नेताका छोराछोरीको छेउ एक सर्वसाधारण नेपाली पुग्दा उसले के महशुस गर्छ ? र एक आम नेपालीले युवराज पारस छेउ पुग्दा कस्तो व्यवहार पाउँछ ? त्यो हरकोही नेपालीले तुलना गरेर मलाई भनोस् । यदि पारसमा शाही रवाफ भेट्यो भने मलाइ भन्नु होला । जनता भन्दा पनि सरल जीवन र सोच भएको व्यक्तिमाथि नचाहिदो लाञ्छाना अहिले लगाइएको छ । यो सत्य होइन । असत्य कुरालाई कम्तिमा असत्य नै भनियोस् । म यति चाहन्छु ।
(अध्यक्ष बस्नेतसँग भएको कुराकानीमा आधारित)