खेल मुख्य समाचार

विश्वकप २०१८ : खेलाडी भन्दा खेलाडीका फ्यानबीच प्रतिस्पर्धा

विश्वकप २०१८ :  खेलाडी भन्दा खेलाडीका फ्यानबीच प्रतिस्पर्धा

काठमाडौं । विश्वकप फुटबल शुरु हुने दिन नजिंकिदै गर्दा यसको चर्चा परिचर्चा हुनु सामान्य हो । समाचारहरुको प्रवाह पनि ह्वात्तै बढ्नु तथा मन पर्ने टोलीको जर्सी खरिद गर्ने तथा लगाउने कार्यले विश्वकपको सरगर्मी बढ्ने गरेको छ ।

 

यस्तो माहोल हुनु र फुटबल खेल आफैंमा लोकप्रिय हुनुले यस खेलको फ्यान बढ्नु मात्र नभइ नयाँ पुस्ताका युवाहरु पनि यो खेलप्रति विशेष लगाव देखाउने गर्छन् ।

 

मन पर्ने टोलीको झण्डा बोक्नु, जर्सी लगाउनु, फेसबुक तथा ट्वीटर जस्ता सामाजिक संजालमा गुणगान गाउनु जस्ता कर्मबाट सबै भन्दा ठुलो फ्यान को भन्ने अनौपचारिक प्रतिस्पर्धा नै हुने गरेको छ ।

 

तथापी यी फ्यानहरुले समर्थनको लागि गर्न सक्ने अधिकतम बिन्दुभन्दा धेरै माथि उठेर आफुलाई मन पर्ने टोलीको लागि पैसाको तथा दुखको मतलब नगरी विश्वको हरेक कुना पुगेर समर्थन गर्न भ्याउने समर्थक पनि विश्वमा छन् ।

 

यस्ता समर्थकलाई विश्व फुटबलले ‘सुपरफ्यान’ को दर्जा दिएका छन् । यस्ता केहि सुपरफ्यानको बारेमा यहाँ चर्चा गरिएको छ ।


अर्मिन होलेन्स्टाइनर

जर्मनी नागरिक अर्मिन जर्मन राष्ट्रिय फुटबल मान्साफ्ट (टोली) को खेल हेर्न जुनसुकै हद पार गर्न तयार हुन्छन् । रसियामा जुन १४ देखि सुरु हुने विश्वकप हेर्न जुन ११ मा सडकमार्ग मार्फत् हिडिसकेका छन् ।

 

जहाजबाट यात्रा गरेर एकै दिनमा पुग्न सकिने भएपनि उनले सडकमार्ग मार्फत् रसिया जाने निधो गरेका हुन् । उनले यसै गरि पछिल्लो पटक ब्राजीलमा आयोजना भएको विश्वकप र फ्रान्समा आयोजना भएको यूरो कपमा पनि यसै गरि सडक मार्फत् नै यात्रा गरेका थिए ।

 

यसरी सडकमार्ग मात्र यात्रा गर्दा उनको ‘बफालो’ नामको अफरोड गाडीले १२ हजार किलोमिटर यात्रा गर्ने भएको छ । सन् १९९६ मा भएको यूरोपियन च्यापियनसिप देखि उनले जर्मनको  हरेक खेलमा उपस्थीती जनाउन थालेका हुन् ।

 

५८ वर्षीय अर्मिनले यति लामो यात्रा एक्लै गर्नु परेको छैन । कहिले साथीहरु, कहिले श्रीमतीले पनि यात्राको केहि समय साथ दिने गरेका छन् । अर्मिनलाई प्रसिद्ध फुटबल फ्यानको दर्जा नै दिइएको छ । उनले अन्तर्राष्ट्रिय फुटबलमा नाम कमाएका थुप्रै खेलाडिहरुसँग भेट्ने अवसर पनि पाएका छन् ।


आन्द्रेइ बोबोस्की

७८ वर्षीय यी फुटबल फ्यानले दर्शकको रुपमा आफ्नो ११ औं विश्वकपको हेर्ने तयारी गरिसकेका छन् । सन् १९७८ देखि लगातार हरेक विश्वकप सहभागि भएका बोबोस्कीले पोल्याण्ड सहभागि नभएको विश्वकप समेत हेरेका छन् ।

 

बिचमा केही समय खराब खेलेको पोल्याण्डको लागि यो पटक अवस्था राम्रो भएको उनि बताउँदै भन्छन्, ‘वास्तवमा मैले पोल्याण्ड र रसियाले विश्वकपको फाइनल खेलेको सपना देखेको छु । ’

 

पोल्याण्डमा उनलाई ‘किंग अफ पोलिस फ्यान’ को रुपले चिनिने उनलाई बोबो उपनाम दिइएको छ ।

 

बोबोस्कीले हालसम्म विश्वकपको १३५ खेल हेरिसकेका छन् । पछिल्ला खेलहरुमा भेटिएका अन्य फ्यानहरुले यो पटक बोबोस्कीलाई रसियाको काजान शहरमा ‘रोयल वेलकम’ गर्ने कार्यक्रम पनि रहेको छ ।

 

पूर्व निमार्ण व्यवसायी उनि आफ्नो भ्रमणको योजना बुन्ने तरिका बताउँदै भन्छन्, ‘पहिला म इन्टरनेटबाट कुन रुट प्रयोग गरी जाने हेर्छु, अनि बस्नको लागि होटल र स्टेडियम कसरी जाने निक्र्यौल गर्छु ।’

 

प्रतियोगिताको क्रममा के लगाउने पनि उनल तयार पारिसकेका छन् । दिनको समयमा माथि टि–सर्ट लगाउने जसमा यस प्रतियोगिताको लोगो छापिएको तथा हालसम्म उनले हेरेको वल्डकर्पको सुची अंकित हुनेछ र पछाडिपट्टी कतारमा आयोजना हुने २०२२ को विश्वकप मा प्रश्न चिन्ह अंकित हुनेछ ।

 

खेल हुने दिन उनले पोल्याण्डको रंग रातो अनि सेतो भएको रिगल कोट र यसको पछाडिपट्टी टुप्पी भएको सेतो चिल अंकित हुनेछ ।

 

कोट भित्र सेतो टेल–कोट, रातो सर्ट, रातो बो टाई तथा रातो ट्राउसर हुनेछ । त्यसैगरी शिरमा स्कार्फ, विभिन्न प्रतियोगितामा प्राप्त भएको ब्याज तथा किंग अफ पोलिस फ्यान लेखिएको नरम सुनौलो क्राउन हुनेछ ।


क्लीफ्टन ब्रुमान्ड

दशौं विश्वकप हेर्ने क्रममा रहेका यी अमेरिकी फ्यानले यो विश्वकपको १३ खेल हेर्ने योजना बनाएका छन् । ६० वर्षिय यिनले यो विश्वकपको समाप्तीसँगै १५० खेल हेर्ने व्यक्तिगत किर्तिमान राख्नेछन् ।

 

सन् १९८२ देखि विश्वकप हेर्न थालेका यिनले अमेरिका यो संस्करणमा छनौट हुन असमर्थ भएपनि विश्वकप हेर्ने रहर छोड्न सकेनन् ।


विश्वकपको टिकट पहिलै लिनुभन्दा अन्तिम समयमा लिन रुचाउने यिनी खेल सुरु भएपछि टिकटको मोल घट्ने बताउँटन् ।

 

अनेक बाधा अड्चन सहेर पनि अमेरिकाको झण्डा बोक्दै खेल हेर्नमा परम आनन्द हुने उनले बताएका छन् ।


एड्वार आयला

पेरुका यि युवा सुपरफ्यान पेरुको छनौट खेल देखि हरेक खेलमा स्टेडियममै उपस्थित भइ खेल हेरिरहेका छन् । २० वटा छनौट खेल हेरिसकेका उनले पेरुले ३५ वर्षपछि खेल्न लागेको विश्वकपको लागि अति उत्साहित भएको बताउँछन् ।

 

विश्वका विभिन्न शहर भएको खेलहरु पछ्याउँदै अब रसियानै गइ सकेको आयला यसरी खेल पेरुको खेल पछ्यानुको कारण खोल्दै भन्छन्, ‘खेलमा हार जित भइ हाल्छ । तर खेल अगाडि राष्ट्रिय गान गाउँदा गौरव महसुस हुन्छ ।’ पेरुका अन्य फ्यानहरुसँग बसेर खेल हेर्न मजा लाग्ने कारणले पनि उनि सकेसम्म पेरुको खेल नछुटाइ हेर्ने पक्षमा छन् ।


अब्दुल्लाही मोहमद

फुटबलका सुपरफ्यान मात्र होइनन् अब्दुल्लाही, मिठो गफ पनि गर्छन् । क्यानडामा बस्ने उनि पार्ट टाइम डिजे, फुटबल कोच, ट्याक्सी डा«इभर तथा उत्साही फुटबल प्रशंसक पनि हुन् । उनलाई धेरैले माया गरेर ‘क्याप्टेन अब्दुल’ पनि भन्ने गरेका छन् ।

 

फुटबलका खाँटी प्रशंसक उनले विभिन्न देशको झण्डा अंकित कपडाहरु क्यानडाको एडमन्टन शहरको ठाउँ ठाउँमा बाँढ्ने गरेका छन् ।

 

फुटबल खेलेर तथा सिकाएर हुर्केका उनि भन्छन् , ‘पृथ्वीकै सबैभन्दा सुन्दर खेल हो फुटबल । यो खेललाई अरुले जित्नै सक्दैन ।’ यो खेलको माध्यमबाट समुदायलाई एकजुट गराउन सकिने उनको विश्वास रहेको छ ।

 

यो विश्वकप कसले जित्छ भन्ने प्रश्नमा उनले ब्राजील भन्ने उत्तर दिएका छन् । कडा मिहिनेतको कारण पनि ब्राजीलले नै विश्वकप जित्ने उनको कथन छ ।

 


एडुवार्ड लेतिपोभ

यी रसियाली सुपरफ्यान रसियाको फुटबल र हक्की टिमलाई निरन्तर सपोर्ट गर्ने फ्यान क्लबको प्रमुख हुन् । उनि र उनको समुहले यो विश्वकपमा रसियाको समर्थनमा ७ हजार किलोमिटर यात्रा गर्ने कार्यक्रम रहेको छ ।

 

फुटबल पछ्याउने क्रममा २०१४ को ब्राजीलमा आयोजना भएको विश्वकपको साथै २०१६ मा फ्रान्समा आयोजना भएको यूरो कपमा पनि रसियाको समर्थनमा यिनी ति देशहरु पुगेको थिए ।

 

उनको विचारमा रसियाले विश्वकप जित्ने प्रबल सम्भावना नभएपनि खेलमा जस्तोसुकै नतिजा आउने भएकोले आशावादी रहेको बताए ।

 


उनि आफुमात्र नभएर क्लबका धेरै सदस्यसहित रसियाको समर्थनमा फुटबल हेर्ने गरेपनि नेतृत्वमा बसेका उनको यसरी खेल पछ्याउनुमा ठुलो हात छ ।

 

 

यसरी विश्व फुटबलका फ्यान तथा सुपरफ्यानको संख्या प्रशस्त रहेका छन् । नेपालमा पनि यस्ता सुपरफ्यानहरु हुनको लागि नेपालले पनि कम्तीमा विश्वकप छनौटमा राम्रो प्रदर्शन गर्ने स्तरमा पुग्नसक्नु पर्नेछ ।

 

सामान्य खेलमै दशरथ रंगशाला खचाखच भरिने नेपालले माथिल्लो स्तरको फुटबल खेल्न तथा जित्न सकेमा यस्तो सुपर फ्यानहरुको संख्यामा नेपालीहरुको पनि उपस्थिती हुन सक्थ्यो । (एजेन्सीको सहयोगमा)

विश्वकप फुटबल

विशेष