देश

३० माइक्रोनभन्दा तलका प्लाष्टिक उत्पादन गरे उद्योग दर्ता खारेज

३० माइक्रोनभन्दा तलका प्लाष्टिक उत्पादन गरे उद्योग दर्ता खारेज

काठमाडौ । सरकारले ३० माइक्रोनभन्दा कम मोटाइका प्लास्टिक उत्पादन गर्ने उद्योगको नविकरण रोक्ने तथा उद्योगको दर्ता खारेजी गर्नेसम्मको तयारी गरेको छ । वातावरण मन्त्रालयले हालै सार्वजनिक गरेको ‘नेपाल स्वच्छ वातावरण महाअभियान’ प्रभावकारी बनाउन वातावरण विभागले यस्तो तयारी गरेको हो ।

 

प्रदूषण नियन्त्रण अन्तर्गतको कार्यक्रमलाई प्रभावकारी बनाउन यस्तो तयारी गरिएको वातावरण विभागका महानिर्देशक दुर्गा प्रसाद दवाडीले जानकारी दिए । विभागले ३० माइक्रोनभन्दा कम मोटाइका प्लास्टिक उत्पादन नगर्न सचेत गराउने उद्देश्यले यही असार २२ बैठक बोलाएको छ ।

 

बैठकमा प्लास्टिक उत्पादनक संघ तथा उद्योगी तथा काठमाडौंका सबै नगरपालिकालाई पनि उपस्थित हुन आग्रह गरिएको छ । बैठकमा उद्योग विभागलाई पनि उपस्थित हुन आग्रह गरिएको छ । उद्योग विभागमार्फत सरकारी मापदण्ड विपरित प्लास्टिक उत्पादन गर्ने उद्योगको नविकरण रोक्न र दर्ता खारेजको नियम लागू गर्न विभागले उद्योग विभागलाई पनि बैठकमा आमन्त्रण गरेको हो ।

 

विभागले मापदण्ड विपरितका प्लास्टिक उत्पादन नगर्न उद्योगीलाई प्रतिबद्ध गराइने र त्यसको पालना गरे नगरेको निगरानीको जिम्मा नगरपालिकालाई दिइने जनाएको छ । त्यस्तै प्लास्टिक झोला उत्पादक संघलाई काठमाडौं उपत्यका लगायत देशभरबाटै सरकारी मापदण्ड बाहिरका प्लास्टिक उत्पादन नगर्ने प्रतिबद्धता व्यक्त गर्न लगाउने तयारी पनि विभागले गरेको छ ।

 

सरकारले प्लास्टिक उद्योगीलाई आफूले उत्पादन गरेका प्लास्टिक प्याकेटमा अनिवार्य उद्योगको नाम र प्लास्टिकको प्रकृति उल्लेख गरी लेबल लगाउने व्यवस्था गर्न लागेको छ। नागरिक दैनिकबाट ।

उद्योग प्लास्टिक उत्पादन

विशेष