सनम शाक्य हत्या र सुन काण्ड : फोन रेकर्डले प्रहरीबीच बढायो शंका
काठमाडौं । सनम शाक्य हत्या र साढे ३३ किलो सुन गायब प्रकरणमा प्रहरी अधिकारीबीचको संवाद रेकर्ड बाहिरिएपछि त्यसले अनेक शंका उब्जाएको छ ।
महानगरीय प्रहरी अपराध महाशाखाको टोली धरान जानुअघि तत्कालीन प्रहरीका निमित्त महानिरीक्षक बमहादुर भण्डारीसँग एसएसपी दिवेश लोहनीले दोहोरो वार्तालाप गरेका थिए । ‘आवश्यक परे गोली नै चलाउन निर्देशन दिएको छु’ भनेर भण्डारीसँग आदेश लिएका लोहनीले वार्तालापको फोन रेकर्ड गरेका थिए ।
अपरेसनमा टोली पठाउँदा फस्न सक्ने आकलन गरेरै प्रमाण जुटाउने उद्देश्यले फोन रेकर्ड गरेका थिए वा नियोजित रूपमा भन्ने विषय अनुसन्धानकै क्रममा छ । ‘कसको आदेशमा प्रहरी पठाएको ? ’ भनेर खोजीनिति भए लोहनीका लागि त्यो वार्तालापको टेप प्रमाण बन्न सक्थ्यो । लोहनीको यो कार्यले उनले संगठन प्रमुखलाई विश्वास नगरे जस्तो पनि देखिन्छ ।
अपरेसनमा खटिएका डीएसपी प्रजित केसी र लोहनीबीच पनि पटकपटक वार्तालाप भएका थिए । केसीले पनि लोहनीसँग भएका वार्तालाप फोनमा रेकर्ड गरेका थिए । आदेश दिने हाकिमले भोलि अप्ठ्यारो पर्दा आफ्नो पक्षमा बोलिदिएनन् भने फसिन्छ भन्ने डरले केसीले फोन रेकर्ड गरेका हुन् वा नियोजित ? यो विषय पनि अनुसन्धानकै दायरामा छ । तर अहिले दुवै फोन रेकर्ड लोहनी र केसीका लागि हानिकारक बनेका छन् ।
गोप्य वार्तालापका रेकर्ड सार्वजनिक भएका छन् । गोरेलाई जंगलमा लगेर इन्काउन्टर गर्ने योजना एकातिर बनेको र अर्कोतिर शाक्यको शव व्यवस्थापनको नाममा गोरेसँगै दुई करोड रुपैयाँको डिल भएको छ । रेकर्ड सार्वजनिक भएसँगै दुई विरोधाभास योजना अहिले सतहमा आएका छन् । तत्कालीन निमित्त महानिरीक्षक भण्डारीलाई गोरे इन्काउन्टरको विषय फोनमा उल्लेख गरेका छैनन् लोहनीले ।
गोरेलाई जंगलमा लगेर इन्काउन्टर गर्ने योजना एकातिर बनेको र अर्कोतिर शाक्यको शव व्यवस्थापनको नाममा गोरेसँगै दुई करोड रुपैयाँको डिल भएको छ ।
उनले यति मात्रै भनेका छन्, ‘त्यो गोेरे नोटोरियस हो । २०-२२ किलो सुन लुटिएको कुरा छ । शवको फोटो पठाएको छ । हामीले दुई करोडको बार्गेनिङ गरेर समात्ने योजना बनाएका छौं ।
आवश्यक पर्यो भने मैले टोलीलाई गोली हान्न पछि नपर्नू भनेर पठाएको छु ।’ तर लोहनी र केसीबीच भएको वार्तालापमा गोरेलाई दोहोरो फायरिङको नाटक गरेर ‘सिध्याउने’ कुरा भएको छ ।
सनम शाक्य साढे ३३ किलो सुन प्रकरण