समाज

सडक विस्तारले प्रधानमन्त्री ओलीकाे सहित ४५० घर भत्किने

सडक विस्तारले प्रधानमन्त्री ओलीकाे सहित ४५० घर भत्किने

प्रधानमन्त्री केपी ओलीका बुवासहित भाइको परिवार बस्दै आएको घर । 

भद्रपुर । सडक विस्तारका क्रममा झापाको भद्रपुरस्थित प्रधानमन्त्री केपी ओलीको घर पनि भत्किने भएको छ । भद्रपुर नगरपालिका–१ पृथ्वीनगरस्थित यो घरमा प्रधानमन्त्री ओलीका बुवासहित भाइको परिवार बस्दै आएको छ ।

 

यो हुलाकी सडक ओलीको घर हुँदै तल केचनासम्म पुग्छ । सडक विस्तार गर्न सडक विभागले पटक–पटक स्थानीय बासिन्दाका घरजग्गामा डोजर चलाइसकेको जनाइएको छ । विभागको योजनाअनुसार नै सडक विस्तार भए भद्रपुर नगरपालिकाका ४ सय ५० घर भत्किने भएका छन् ।

 

‘पटक–पटक सडक बढाउँदै गर्दा हाम्रो घर पनि भत्काउनुपर्ने अवस्था आएको छ’, प्रधानमन्त्री ओलीका भाइ जेपीले भने । विभागले सडक विस्तारको काम सुरु गरेको जानकारी आफूले पाएको उनको भनाइ छ ।

 

नेपाल पुनर्वास कम्पनीमार्पmत २०३७ सालमा १२ मिटरको सडक सरकारले छुट्याएकामा अहिले सय फिटको बाटो बनिसकेको छ । विभागले ‘पुनः विस्तार हुनेछ’ नभनेको सुनाउँदै स्थानीय रोशन श्रेष्ठले भने, ‘हामी त सुकुम्बासी नै हुने भयौं ।’

 

उनका नाममा चार कट्ठा जग्गा छ । दुई दाजुभाइलाई अंशबन्डा गर्दा आफ्नो भागमा बाटोको घर परेको उनले सुनाए । ‘अहिले त्यही घर सडकले भत्काउन लागेको छ’, उनले भने ।

 

सडक विस्तारका लागि भद्रपुर नगरपालिकाभित्र दायाँ–बायाँ २० फिट जग्गा छाड्नुपर्ने जनाइएको छ । यसबाट वडा नम्बर १, २ र ३ का धेरै घर भत्किने भएका हुन् । विभागले चारआली–केचना सडक खण्डअन्तर्गत भद्रपुर नगरपालिका वडा नम्बर १, २ र ३ मा कायम रहेका जग्गामा थप २० फिट खाली गराउन लागेको हो । साबिकको पृथ्वीनगर गाविसमा पर्ने हुलाकी सडकलाई विस्तार गर्ने सरकारको तयारी छ ।

 

पाँच महिनाअघि रेखांकन भइसकेको स्थानीयको भनाइ छ । सुरुको १२ मिटर सडकलाई पछि आएर स्थानीयले १५-१५ मिटरको बनाउन स्वतःस्फूर्त जग्गा दिएका थिए । अहिले दायाँ–बायाँ ६ मिटर थप जमिन खाली गरिनुपर्ने गरी बिनासूचना रेखांकन भएपछि स्थानीय आक्रोशित भएका छन् । अन्नपूर्णपाेष्ट दैनिकबाट ।

केपी ओली झापा सडक विस्तार

विशेष