खेल

अर्जेन्टिनी नागरिकहरु नेपाललाई घृणा गर्छन् किन ?

अर्जेन्टिनी नागरिकहरु नेपाललाई घृणा गर्छन् किन ?

काठमाडाैं । विश्वकप फुटबलको महाकुम्भ जारी रहँदा हरेक पटक नेपालमा चर्चा हुन्छ ब्राजिल कि अर्जेन्टिना ? यसपटक पनि यी दुई देशका प्रशंसकहरुबीच गल्ली गल्लीमा हल्ला र चर्काचर्की हुन थालेको छ ।

 

त्यसो त नेपालमा सर्बाधिक प्रशंसक पनि अर्जेन्टिनाकै भएको अनुमान गरिन्छ । रोचक पक्ष त के भने, अर्जेन्टिनाका थुप्रै नागरिकलाई नेपाल नामको देश छ भन्ने नै जानकारी छैन । थाहा हुनेहरु पनि नेपाललाई घृणा गर्छन् । यता नेपालीहरु भने अर्जेन्टिनाको पक्षमा ‘क्रेजी’ छन् ।


किन घृणा ?
फकल्याण्डको टापूको स्वामित्वको विषयलाई लिएर इङ्ग्ल्याण्ड र अर्जेन्टिनाबीच युद्ध जारी थियो । इङग्ल्याण्डको लागि सबैभन्दा बलियो शक्ति ठानिएको थियो गोर्खाली सेना ।

 

गोर्खाली सेनाको बहादुरी र साहशकै कारण फकल्याण्डको टापू इङग्ल्याण्डले आफ्नो बनायो । त्यसबेला गोर्खा फोजले अर्जेन्टिनी सेनालाई धपाएर फकल्याण्डको टापूमा इङग्ल्याण्डको झण्डा फहराएपछि नै अर्जेन्टिनीहरु गोर्खालीप्रति रुष्ट रहँदैआएका थिए ।

 

फकल्याण्डमा युद्ध भएको अर्को वर्ष नै अर्जेन्टिना र इङग्ल्याण्ड विश्वकप फुटबलका लागि आमने सामने भए । संयोगवश् अर्जेन्टिनाले इङल्याण्डसँग युद्धमा हारेको घाउ फुटबलमा जितेर मेटायो । युद्धमा हारको पीडा बोकेका अर्जेन्टिनीहरुलाई इङल्याण्डविरुद्धको जीत बदलाको बलियो साधन भइदियो ।

 

त्यसबेला नै अर्जेन्टिनाका तत्कालिन टीम क्याप्टेन डिएगो म्याराडोनाले मिडियाको लागि प्रतिक्रिया दिएका थिए, ‘इङल्याण्डले युद्धमा पो गोर्खालीको सहारामा हामीलाई जित्यो त, ती गोर्खालीहरु फुटबल मैदानमा त आएका छैनन् ।’

 

म्याराडोनाले इङल्याण्डविरुद्ध दिएको यो प्रतिक्रिया विश्वभर अहिलेसम्म लोकप्रिय छ । म्याराडोनाको यस्तो प्रतिक्रियालाई अधिकांश नेपालीहरुले ‘गोर्खालीको शासहको सम्मान गरेको’भनी बुझेर ब्याख्या गरे ।

 

म्याराडोनाका प्रशंसक नेपालमा धेरै हुनुको कारण यसलाई पनि मानिन्छ । तर यथार्थमा अर्जेन्टिना र नेपालको ऐतिहासिक सम्बन्ध राम्रो हैन । अर्जेन्टिनी नागरिकले नेपाली गोर्खाज बेलायतको पक्षमा लडेपछि नै नेपालको झण्डा जलाएको भन्ने चर्चा अझै छ ।

 

त्यसो त त्यही बेलादेखि नै नेपालप्रति अर्जेन्टिनीहरुको नकारात्मक दृष्टि छ । यहाँका पत्रकारहरु के भन्छन् भने थुप्रै अर्जेन्टिनी नागरिक छन् जो नेपाललाई घृणा गर्छन् र अरु थुप्रै अर्जेन्टिनी नागरिकलाई विश्वमा ‘नेपाल नामको देश छ’भन्ने समेत जानकारी छैन । नेपालमा भने अर्जेन्टिनाका प्रशंसक बढेको बढ्यै छन् । 


म्याराडोनाको फण्डा


नेपालमा अर्जेन्टिनाको फ्यान बढ्नुको कारण एउटा अर्को पनि के छ भने, डिएगो म्याराडोनाले आफूलाई कम्युनिष्ट भनी अमेरिकाविरोधी अभिव्यक्ति दिन थालेपछि नेपाली वामपन्थीहरु उनीप्रति झुकाव राख्न थाले ।

 

म्याराडोनाले चेगुएभारा, ह्युगो च्याभेज र फिडेल क्यास्त्रोको ट्याटू खोपेदेखि त झनै नेपाली वामपन्थीहरु म्याराडोनाको फ्यान बन्नथाले । ‘पेलेलाई अमेरिकी मिडियाले उचालेको हो, म्याराडोना पो हुन त विद्रोही !’ भन्ने वाम मानसिकताले पनि म्याराडोनाका प्रशंसक बढे ।

 

उता म्याराडोना र अर्जेन्टिनी नागरिक भने नेपालप्रति गोर्खाको एतिहासिक युद्धको घटनादेखि नै नराम्रो चित्रको रुपमा बुझ्दैआएका छन् । म्याराडोना स्वयं नेपालप्रति असल विचार राख्दैनन् ।
 


जर्सीका फ्यान

इतिहासले जस्तै भने पनि नेपालमा अर्जेन्टिनी फुटबलको माया उस्तै छ । अर्जेन्टिनी फुटबलप्रतिको त्यही मायाकै कारण नेपाली फुटबलको सर्वाधिक लोकप्रिय र सफल क्लब मनाङ मस्र्याङ्दीले पनि उस्तै आकाशे र सेतो रंगको धर्सो भएको जर्सी लगाएर नै खेल्छ ।

भन्नु पर्दैन, जति बेला म्याराडोना र अर्जेन्टिना विश्व फुटबलमा चम्केको थियो, मनाङ मस्र्याङ्दी त्यसैमा रमेको थियो । वास्तवमै गजब छ, मेसी, म्याराडोना, अर्जेन्टिनी फुटबल र नेपालीबीचको समीकरण ।

विश्वकप फुटबल ब्राजिल अर्जेन्टिना

विशेष