पेनाल्टी मिस भएपछि मेसीले भने, ‘म टुटेकाे छु’
काठमाडाैं । विश्वकपमा डेब्यु गरेको टिम आइसल्याण्डसँगको खेलमा विश्वकपको साविक उपविजेता अर्जेन्टिनाले बराबरीमा रोकिएको छ । विश्व चर्चित फुटबलर तथा अर्जेन्टिनाका कप्तान लियोनल मेसीले पेनाल्टी मिस गर्दा खेल बराबरीमा रोकिएको हो ।
आइसल्याण्डसको खेलमा अर्जेन्टिनाका लागि अग्युरोले १९ औं मिनेटमा पहिलो गोल गरे । २३ औँ मिनेटमै आइसल्याण्डका अल्फ्रेडले बराबरी गोल फर्काए । त्यसपछि खेलमा गोल हुन सकेन ।
मेसीले पेनाल्टी मिस हुनु गल्ती भएको स्वीकार गरेका छन् । ‘‘राम्रो अवसर थियो’, उनले भनेका छन्, ‘पक्कै पनि पेनाल्टीमा चुक्दा म टुटेको छु, दुःख लागेको छ ।’ मेसी योसँगै क्लब र राष्ट्रिय टिमबाट गरी पछिल्ला सात पेनाल्टीमा चारमा गोल गर्न सकेका छैनन् ।